बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विप्लव पुत्र प्रकाश भन्छन्, ‘यो कस्तो खालको राज्य हो ?

शनिबार, ०९ कात्तिक २०७६, १७ : १२
शनिबार, ०९ कात्तिक २०७६

काठमाडौं – निजी मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिएपछि त्यसलाई फिर्ता गराउन विद्यार्थीहरुले थालेको आन्दोलन रोकिएको छैन । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजले कात्तिक १८ गतेसम्म बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्ने सहमति गरेपनि अन्य मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएका छन् । बिहीबार वीरगञ्जको नेशनल मेडिकल कलेजमा विद्यार्थीले बढी लिएको शुल्क फिर्ता लिन माग गर्दा कलेजका कार्यकारी निर्देशकको टोलीले विद्यार्थीमाथि हातपात गरेको उनीहरुले बताएका छन् । 

मेडिकल शिक्षामा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक हुन् । प्रस्तुत छ, मेडिकल कलेजको शुल्क विवादमा विद्यार्थी आन्दोलनका बारे संयोजक चन्दसँग रातोपाटीले गरेको कुराकानी : 

सरकारले मेडिकल शिक्षाका लागि शुल्क निर्धारण गरेर फिर्ता गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिइसकेको अवस्थामा तपाईँहरुले किन आन्दोलन गर्नुप¥यो ? 

सरकारले बारम्बार यो निर्णय गरिरहेको छ, ठीक एक महिना अगाडि गृहमन्त्रालयले संयुक्त निर्णय पनि ग¥यो । १ महिनाभित्रमा सबै मेडिकल कलेजले शुल्क समायोजन गरिदिनुपर्छ भनेर गृहमन्त्रीज्यूले बोल्नु पनि भयो । यसो हुँदा हुँदै नेपालका मेडिकल माफियाहरुले र मेडिकल गुण्डाहरुले टेरेनन् । किन भन्दा यहाँ नियम, कानुन, न्याय भन्ने केही कुरा छैन । 

विरगञ्जमा रहेको नेश्नल मेडिकल कलेजको वातावरण हेर्दा यस्तो लाग्छ यो नेपाल हैन जस्तो लाग्छ । त्यहाँ पुगिसकेपछि तपाईले आफूलाई नेपाली अनुभूति गर्न सक्नुहुन्न । यो अवस्थामा एउटा मन्त्रालयको निर्णयले मात्रै यत्रो शुल्क फिर्ता वा समायोजन गर्न संभव छैन । यो हाम्रो सिधा कुरा छ । त्यसकारसण विद्यार्थीहरुले जुन यो आन्दोलन गर्नुभएको छ । यसमा गृहप्रशासन र शिक्षा मन्त्रालय प्रत्यक्ष रुपमा संलग्न रहेर विद्यार्थीसँगै मेडिकल माफियासँग पुग्ने, मेडिकल माफियासँगै विद्यार्थीलाई राखेर निर्णय गराउन सकियो भने एउटा हिसावले अगाडि जाला हैन भने त्यो निर्णयमा पनि शंका गर्ने ठाउँ बन्छ । 


किनभने निर्णय गरिसकेपछि निर्णय कार्यान्वयन भयो कि भएन भनेर नियमन गर्ने त त्यही मन्त्रालयले हो नी ? त्यो नभइसकेपछि सायद ती निर्णयहरु पनि वार्गेनिङका लागि मात्रै हुन कि ? सायद ती निर्णयहरु यी आन्दोलनलाई स्खलित गर्नका लागि मात्रै हुन कि भन्ने शंका विद्यार्थीलाई लागेको छ । तर पनि त्यो निर्णयलाई कार्यान्वयन गर्नका लागि हामी हरसंभव आन्दोलनका लागि सडकमा छौँ, संघर्ष गर्दैछौँ । जस्तोसुकै बलिदान दिन पनि तयार छौँ । यही संघर्षमार्फत ती निर्णय कार्यान्वयन गराउछौँ । 


नेश्नल मेडिकल कलेज विरगञ्जमा कस्तो घटना घटेको हो ?

हामी त्यो कलेजमा गयौं । गाडी साइड लगाएर त्यहाँ रहेका विद्यार्थी साथीहरुलाई सम्झाई बुझाई गरिरहेका थियौँ । सकेसम्म एमडी सरसँग पनि भेटाउनुस, उहासँग पनि कुरा गर्छौ भनेपछि उहाँ आफै गेटसम्म आउनुभयो । मलाई लागेको थियो उहाँजस्तो मान्छे औपचारिक रुपमा आउनुहुन्छ होला । अनि कुराकानी गर्ने वा आफ्नो कार्यालयमा लगेर छलफलको वातावरण बनाएर एउटा किसिमबाट छलफल गरेर आन्दोलन नगरिकन फर्कर्ने वातावरण बन्छ कि भन्ने हामीलाई लाग्या थियो । तर त्यो अवस्था रहेन ।

उहाँ त सिधै आएर आफ्नो असली चरित्र देखाउन थालीहाल्नुभयो । को हो तिमीहरु ? किन आएको सिएमसी कलेजबाट ? यो तिमीहरुको कलेज नै हैन भनेपछि मैले पनि यो हाम्रो पनि कलेज होभन्दा उहाँले यो कलेज तेरो हुन यसमा तेरो शेयर छ ? भनेर ठाडै कुराकानी गर्न थाल्नुभयो । त्यसपछि त्यहाँको भाइ बहिनीलाई पिट्दै तिमीहरु जाउ हामी यिनीहरुलाई ठीक पार्छौ भन्न थाल्नुभयो । तर भाइ बहिनीले हामीलाई सुरक्षा घेरा दिएपछि उहाँहरुले हाम्रो माइक फोड्नुभयो । हातपात गर्ने काम सुरु भयो । हाम्रो ब्यानर च्याते, एकजना भाइलाई घाँटीमा समाएर घिसारे । यस्तो खालको अवस्था त्यहाँ बन्यो । एकजना प्रहरीले गर्दा मात्रै अप्रिय घटना हुन पाएन । 


अगाडि पछाडि फलामको रड थियो । वियरको खाली बोतल थियो । एकजना भाइलाई समातेर अपहरणको शैलीमा उनीहरुले लिएर गए, भालाहरु लिएर एउटा समूह त्यहाँ आइसकेको थियो । एउटा मेडिकल कलेजमा कल्पना नै गर्न नसकिने घटना भयो । त्यसपछि पनि हामीले विरोध ¥याली निकाल्यौँ, विरगञ्ज शहरमा भव्य ¥यालीसहित कोणसभा भयो । प्रहरी प्रशासनले राम्रो सुरक्षा पनि दिनुभयो । 

अध्ययन गर्ने ठाउँमा यस्तो घटना घट्दा तपाईँहरु फेरि आन्दोलन गर्न सक्नुहुन्छ ? 

किन नसक्ने ? हामीले त खुलस्त भनेका छौँ । हामीलाई कुनै प्रवाह छैन । नेपालका कुनै पनि मेडिकल कलेजमा गएर त्यहाँको विकृतिका विरुद्धमा, मेडिकल कलेजका विद्यार्थीको नाममा भएको शोषणको विरुद्धमा हामी बोल्छौँ, हाम्रो आवाज उठाउँछौँ । के गर्न सक्छन् यी गुण्डाहरुले ? सिमापारी भारतबाट मगाएका भाडाका गुण्डाहरुले गोलीसम्म चलाउने न हुन । हाम्रो ज्यान लिन खोज्छन भने हामी ज्यान दिन पनि तयार छौँ । विरगञ्ज शहरमा हामी हिँडिरहँदा हामीमाथि त्यो खतरा पनि थियो । छप्कैयाबाट गुण्डाहरु मगाइएको थियो । तर पनि हामीलाई त्यसको कुनै प्रवाह छैन । नेपालको जुनसुकै मेडिकल कलेजमा विद्यार्थीले आवह्वान गर्छन भने हामी त्यहाँ जान्छौ र विद्यार्थीहरुको आवाजलाई बुलन्द्ध पारेर संघर्ष गर्छौँ । 

चितवन मेडिकल कलेजमा समस्या समाधान भइसकेको हो ?

समस्या समाधान भन्दापनि समस्यालाई एउटा टुङ्गोसम्म लगिएको छ । तर कार्यान्वयन भएको छैन । कार्तिक १८ गतेसम्म बढी लिएको भर्ना शुल्क फिर्ता गर्ने सहमति भएको हो । शुल्क कि फिर्ता कि समायोजन हुनुपर्छ भनेकोमा त्यो काम गरिएको छैन । १८ गतेसम्म भएन भने फेरी हामी संघर्षमा गइहाल्छौँ । 

अरु मेडिकल कलेजहरुको अवस्था कस्तो छ ? तोकिएको शुल्क लिनुपर्ने सरकारको निर्णय उनीहरुले कार्यान्वयन गरेका छन् कि छैनन् ?  

अरु मेडिकल कलेजहरुको अवस्था पनि ठ्याक्कै यही हो । तर अरु मेडिकल कलेजका विद्यार्थीहरुमा अझै चेतनाको विकास भइसकेको छैन । त्यसका लागि समय लाग्छ । तर हामीहरुले साथ दिने त प्रयास गरिरहेका छौँ । मेडिकल कलेजहरुमा जानुपर्छ र त्यहाँ विद्यार्थीहरुलाई सम्झाएर सडकसम्म ल्याउनुपर्छ ।

यो विकृतिका विरुद्धमा एउटा बुलन्द्ध आवाज बाहिर ल्याउनुपर्छ भनेर रातदिन हामीले प्रयास गरिरहेका छौँ । विद्यार्थी साथीहरुले त्यो किसिमको माहौल बनाएर हामीहरुलाई बोलाउने वित्तिकै हामीहरु तुरुन्तै जान्छौँ र सडकमा हामी नेतृत्व गरिहाल्छौँ । 

अर्को कुरा परीक्षाको मिति सार्नुप¥यो भनेर तपाईहरुले डिन कार्यालयमा दवाव पनि दिइराख्नुभएको रहेछ । पढ्नेबेला आन्दोलन पनि गर्ने अनि परीक्षाको मिति सार्नुप¥यो भन्न मिल्छ ? 

हरेक बेलामा हरेक विषयको आ–आफ्नो उत्तिकै महत्व हुन्छ । अहिलेको महत्वको विषय भनेको दुई–दुई महिना आन्दोलन भएपछि विद्यार्थी भाइ बहिनीले अहिलेको अवस्थामा सोचे जसरी परीक्षा दिन सक्दैनन् । मेडिकल शिक्षा अरु समान्य शिक्षा जस्तो हैन । यो एकदम गाह्रो हुन्छ । त्यसकारण दुई–दुई महिना कक्षा रोकिएपछि विद्यार्थीहरुले कुनैपनि हालतमा राम्रोसँग परीक्षा दिन सक्दैनन् । हाम्रो पूर्ण कार्यतालिका नबिग्रने गरी गर्न पाइयो नी ? पछाडिका हाम्रा विदाहरुलाई कटौती गरेर अहिले एक महिना पछाडि घटाउन त मिल्छ नी । यसो गर्दा दोश्रो वर्षको कक्षा त नियमित झै सुरु हुन्छ । त्यो हिसावले हामीले परीक्षा सार्नुपर्छ भनेका हौँ । 
डिन कार्यालयले मानेन भने ?

अहिलेसम्म मानेको छैन । डिन कार्यालयले मानेन भने आफै असफल हुन्छ । उहाँहरुको त माफियाहरुसँग साँडगाँठ छ । माफियाहरुको दवावमा गर्नुभयो भन्ने खुलस्त हुन्छ । यसलाई हामी डिनको असफलताको संज्ञा दिन चाहन्छौँ । डिनले एकलौटी हिसावले लादेको कुरालाई हामी मान्दैनौँ । त्यसलाई अवज्ञा गर्छौँ र विद्यार्थीले यही किसिमको आन्दोलनलाई अगाडि बढाउँछन् ।
सरकारले शुल्क फिर्ता गर्न निर्देशन दिएपछि त उनीहरुले मानि हाल्लान नि । तपाईहरुले यसरी आन्दोलन गरेर बस्ने कि पढेर बस्ने ? 

त्यही त हामीले पढ्ने नै हो । हामीले आन्दोलन गर्नु दुखदायी कुरा हो । तर सरकारको नियमलाई लागू गराउनका लागि माफियाहरुको अगाडि हामीले रातदिन सडकमा मिहेनत गरिदिनुपर्ने ? यो कस्तो राज्य हो तपाइलार्ई अचम्म लाग्दैन भन्या ? यहाँ पुलिस छ, प्रशासन छ, न्यायालय छ, राज्य छ सरकार छ । तर राज्यको यतिधेरै अंग हुँदा हुँदै पनि राज्यले नै गरेको निर्णय कार्यान्वयन गराउनका लागि विद्यार्थीले सडकमा आएर आफ्नो जीउधनको असुरक्षा हुनेगरी आन्दोलन गरिदिनुपर्ने  यो विडम्बनाको कुरा हो ।

हाम्रो त बाध्यताको कुरा हो यो त । त्यसकारणले गर्दाखेरी यो हाम्रो रहरको विषय हैन । यसमा हामी बाध्य छौँ । सरकारले पनि यो विषयमा त लाज मान्नुपर्ने हो अलिकति । यत्रो आन्दोलन चल्दाखेरी गृहप्रशासनले जर्वजस्ती भए पनि यसलाई लागू गर्नेतिर जानुपर्छ नि । मेडिकल माफियाको मुख हेरेर, उनीहरुको अलिकति पैसाको लोभ गरेर बस्ने अवस्था हैन के अब, कतिपय विषय बार्गेनिङमा नजाने विषय पनि छ । कतिपय विषय राजनीतिकरण नगर्नुपर्ने पनि त छ । त्यसकारण कुनैपनि भावना क्षमाबिना यी विषयलाई अगाडि बढाउनुपर्छ र राज्यले कार्यान्वयन गर्नुपर्छ । हामीलाई आन्दोलन गर्ने वातावरण हैन सरकारले विद्यार्थीलाई पढ्ने वातावरण बनाइ दिनुपर्छ । 

तिहार पछाडि डाक्टर गोविन्द केसीले फेरी अनसन बस्ने घोषणा गरेका छन् । केसीसँग तपाईहरुको सम्बन्ध र सहकार्य पनि भइरहेको छ ?

भइरहेको छ । उहाँले हाम्रो विषयलाई पनि २ नंबर बुदाँमा राखेर त्यसको सम्बोधन हुनुपर्छ भन्नु भएको छ । विद्यार्थी भाइ बहिनीले अत्यन्तै महंगो शुल्क तिर्नुपरेको समस्या समाधान हुनुपर्छ भनेर भन्नुभएको छ । यो निकै नै सकारात्मक पक्ष हो । यसबाट हामी निकै नै उत्साहित पनि भएका छौँ । यो विषयलाई लागू गर्नुपर्छ । गोविन्द केसी एक्लैको एजेण्डा हैन यो । नेपालका समग्र मेडिकल शिक्षाका विद्यार्थीको मात्र पनि हैन । समग्रमा नेपाल राष्ट्र र मेडिकल शिक्षालाई माया गर्ने सम्र्पूण सचेत नागरिकहरुको विषय भएको कारणले गर्दा यो विषयलाई सबैले हार्दिकताका साथ सम्बोधन गर्दै संघर्ष गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप