केन्द्रीय संस्करण

कथा : डमी

person explore access_timeकात्तिक ९, २०७६ chat_bubble_outline0

-सञ्जय गौतम

मनमाया सधैँझँ आज पनि छिट्टै उठी र चिया बनाई । चिया दुईवटा कपमा हाली । कपहरू प्लेटमा राखेर वीरबहादुरलाई उठाई । एउटै सानो कोठामा भान्सा र सुत्ने विस्तारा भए पनि वीरबहादुर, मनमाया उठेर चिया बनाएको थाहै पाउँदैन । उसले उठेर कप समाउँछ । चियाको चुस्की लिँदै मनमायातिर हरेर मुस्कुराउँछ । चिया सकेर प्लेटमा कप राख्छ । मनमाया पनि चिया सकेर प्लेटमा कप राखेर उठ्छे । ग्यास चुलो भएको टेबलमा प्लेट राख्ने लाग्दा  वीरबहादुरले मनमायालाई आपनो अँगालोमा हाल्न मन लाग्छ । उसले मनमायालाई आफ्नो नजिक तान्छ । प्लेट टेबलमा नभई भुइँमा लड्छ । कपहरू फुटछन् । वीरबहादुर झसङ्ग बिउँझन्छ । आज पनि सधैँ जस्तो एउटै सपनाले वीरबहादुर बिउँझेको हुन्छ ।

 सानो अँध्यारो टिनको छाप्रोको कोठा । चर्पीसँगै जोडिएकोछ भट्टी पसल । चर्पी जत्रै सानो आकारको कोठा, कहिल्यै उज्यालो नपर्ने र सधैँ हावासँगै आउने रक्सी मिश्रित चर्पीको गन्ध । कोठामा दुईवटा बोरा, एउटा सानो म्याट, मैलो कम्बल, एक झोला लेडिज कपडा र भित्तामा अडेस लगाएर राखिएको एउटा डमी । 

वीरबहादुर उठ्यो डमीतिर हेर्यो । आज पनि डमीको हात फुस्केछ । उसले डमीको हात कस्यो र म आइहालेँ मनमाया भन्दै बाहिर निस्कियो । ऊ सरासर भट्टीमा गयो । भट्टीको साहुनी डोल्मा, हिजो भिजाएको चना पखाल्दै थिई । वीरबहादुरले साहुनीसँग एक गिलास रक्सी माग्यो । डोल्मा केही नबोली काम गर्दै थिई । ‘कान सुन्दिन्स कि क्या हो डोल्मा, रक्सी ले न एक गिलास’, वीरबहादुर झर्कियो । ‘एक छिन पर्खी हो वीरे मुर्दा, सक्नै लागेको देखिनँ,’ डोल्माले फर्केर एक गिलास रक्सी दिई, वीरबहादुर एकै सासमा स्वाट्ट पानी पिएजस्तै पियो ।

गिलास टेबलमा राखेर निस्कियो । ‘दिनभरि नहराएस्, खाना खान आएस् है,’ डोल्मा बोल्दै थिई । वीरबहादुर सरासर कोठामा गयो । झोलाबाट रातो सारी र हरियो ब्लाउज निकाल्यो । सारी ब्लाउज हातमा लिँदै डमीतिर हेर्दै, ‘मनमाया आज त साउने सोमबार, यो रातो सारी र हरियो ब्लाउज लगाऊ’ उसले साडी र ब्लाउज डमीलाई लगाइदियो र खुब सुहाएको छ भन्दै तारिफ गर्यो । ऊ भुइँमा बस्यो र डमीलाई हेर्दै विगतलाई सम्झियो । सोमबारको दिन बिहानै उठरे मनमाया रातो सारी, हरियो ब्लाउज र हातैभरी चुरा लगाई ।

चिया बनाएर वीरबहादुरलाई उठाई कहिल्यै छिटो उठ्न जानेनौँ । आज त बिहानै उठी ठेला लगेर पशुपतिमा चप्पल, स्यान्डल बेच्नु नि । यसो व्यापार अलि बढी त हुन्थ्यो । दिउँसो र साझमा चोकमा कति नै हुन्छ र व्यापार ऊ चिया दिँदै बोली । वीरबहादुर मुसुक्क मुस्कुरायो । छोरा सुतिरहेको थियो । मनमायाले बोराभरिको लेडिज चप्पलबाट एउटा रोजी । ‘छोरा तयार गरेर डोल्मा दिदीकोमा छोडिदिनु उतै खाना खान्छ । उतैबाट स्कुल जान्छ । मेरो व्रत छ । तिमीलाई पनि उतै खाना बनाउँछु भन्नु भएको छ । ठेला लिएर छिटो आउनु नि पशुपतितिरै’, मनमायाले ड्याम्म ढोका लगाई, वीरबहादुर फेरि झसङ्ग भयो । 

ऊ उठ्यो । बोरा बोकेर अँध्यारो कोठाबाट बहिर निस्कयो । ऊ दिनभर बोतल र प्लास्टिक टिप्यो । साँझ आएर कवाड स्टोरमा बेच्यो । एक सय पाँच रुपियाँ पायो र डोल्माको पसलमा आयो । डोल्मालाई एक सय पाँच रुपैयाँ सबै दियो । रक्सी पिउन थाल्यो । रक्सीको मातमा भट्टी पूरै गुन्जमान थियो । तीर्थनाथ आज पनि मात्यो । पशुपतिको अगाडि फूलमाला व्यापारी तीर्थनाथ रक्सीको मातमा, डोल्मालाई कान्छी श्रीमती बनाउँछु भन्यो, ‘दसवटीसँग सम्बन्ध गास्नतिर होइन, भएकी एउटीसँग सम्बन्ध राम्रो बना ।

जिन्दगी सफल हुन्छ’, डोल्मा पनि कड्किई । छोराछोरी पाउन नसकेको बहानाले श्रीमानले कान्छी बुढी बिहे गरेर । छुट्टै बसकेकाले डोल्मा एक्ली थिई । श्रीमानको साथ नभएको डोल्माको एक्लो अवस्थाको धेरैले फाइदा उठाउन खोज्थे । अघिसम्म बोलाबोल मात्र भइको थियो ।  एकाएक तीर्थनाले आजै हिँड् भन्दै हात समात्यो । वीरबहादुरले टेबलबाट चक्कु उठाउँदै, ‘हात छोड नत्र तेरो जिउमा रोपेर जेल जान्छु’ भन्यो । तीर्थनाथ लर्खराउँदै बहिर निस्कियो ।

आँखाभरि आँसु पार्दै डोल्मा वीरबहादुरतिर हेरी । डोल्मा र वीरबहादुर बालपनको साथी थिए । गाउँमा सँगै उकालीओराली गर्थें । सँगै भेडाबाख्रा, भैँसी चराउन जान्थे । एक दिन खोलामा पौडी खेल्दा डोल्मा डुब्दा वीरबहादुरले बचाउँदै, तलाई आज मात्र होइन, जिन्दगीभर बचाउँछु भनेको थियो । वीरबहादुरले आज पनि वाचा पूरा गर्यो । ‘साहुनी दस बच्न लाग्यो होटल रातभर खुला गर्ने हो ?’ प्रहरीको आवाजले एकोहोरो टोलाइरहेकी डोल्मा झस्किई, ‘सर अब बन्द गर्र्ने’ भन्दै उसले सटरभित्रबाट आधा मात्र लगाई । वीरबहादुरलाई खाना दिई, वीरबहादुर खाना खान थाल्यो । डोल्मा पनि प्लेटमा खाना लिएर खान बसी । डोल्मा आज निकै उदास देखिन्थी । उसका आँखामा आँसु रसाएका थिए ।

 डोल्माले आफ्नो बालसखा वीरबहादुरलाई प्रेम गर्थी तर डोल्माका बाबु फौजी थिए । उनले फौजी केटा खोजेर डोल्माको विवाह गरिदिए । डोल्माले बाबुको कुरा काट्न सकिनँ । जिन्दगीभर साथ दिन्छु भनी बाचाकसम खाएर बिहे गरेको फौजीले पाचँ वर्षभन्दा साथ दिएन । विवाहलगत्तै काठमाडौँ आएकी डोल्मा, काठमाडाँैको भीडमा एक्ली भई । सात कक्षाभन्दा बढी पढ्न नसकेकी डोल्माको, रक्सी पार्ने मात्र सीप थियो । सहरमा रक्सी बेच्ने सीप वृद्धि गरी । 

गाउँमा केही प्रगति नहुने देखेर वीरबहादुर पनि काठमाडौँ भासियो । न्युरोडमा माक्स र मोजा बेच्यो । फुटपथमा कपडा बेच्यो । मनमायालाई फुटपाथमै भेट्यो । प्रेम भयो विवाह गर्यो । छोरा पायो । अन्त्यमा ठेलामा चप्पल, स्यान्डल बेच्न थाल्यो । जिन्दगीको सुखदुःख जसोतसो कट्दै थियो । छोरा हुर्किंदै गयो । मनमायालाई छोराको भविष्यले सताउन थाल्यो । शारीरिक रूपमा अली कमजोर वीरबहादुरको पनि दुःख देख्न सकिनँ । आखिर वैदेशिक रोजगारमा इजरायल जाने निर्णय गरी । वीरबहादुरले रोक्न निकै प्रयास गर्यो तर पाँच वर्ष बसेर । काठमाडौँमा सानो घडेरी किन्ने, सानो घर बनाउने र पसल गर्ने, तिमी र छोरालाई खुसी राख्ने सपना देखाई । मनमाया इजरायल उडी । 

इजरायल उडेको चार महिनामै मनमायाको शङ्कास्पद निधनको खबर आयो । पैसाको अभावले लाससम्म पनि आएन । कतै पहल गर्ने वीरबहादुरले ठूलाबडा मान्छे चिनेको पनि थिएन । वीरबहादुर विक्षिप्त भयो । रक्सी खाएर, बाटोबाटै सुत्न थाल्यो । उसको ठेला पनि चोरी भयो । बाँकी रहेका स्यान्डल र चप्पल होलसेलमा फिर्ता गरेर वीरबहादुर रक्सीमै रमाउन थाल्यो । डोल्माले वीरबहादुरलाई सम्झउन खोजी । सकिन एक छोराको भविष्यको लागि टाठिएकी मनमायाको छोराकै अलपत्र डोल्माले देख्न सकिन र बोर्डिङ स्कुलको होस्टलमा राखी दिई । 

‘पैसाको अभावले महिलालाई वेश्या र पुरुषलाई नामर्द सरह बनाउँछ’, डोल्माले आँखाभरि आँसु पार्दै भनी, ‘वीरे तसँग पैसाको अभाव थियो, त नामर्द सरह भइस् किनकी तैँले आफ्नी बूढीलाई सँगै राख्न सकिनस् । मैले यो पापी पेट पाल्न भट्टी खोलेँ । म वेश्या सरह भएकी छु । रक्सी खाएपछि मेरो तन मात्र ताक्छन् । मनमा के छ कसैले सोध्दैन’, डोल्मा बोल्दै थिई । वीरबहादुर खाना खाँदाखाँदै उठ्यो । डोल्माले बोलाउँदा बोलाउँदै ऊ सरसर कोठामा गयो । भुइँमा थ्याच्च बस्यो, डमीतिर हर्दै, “म नामर्दा होइन मनमाया । म नामर्द होइन’, ऊ रुन थाल्यो । ऊ निरन्तर म नमार्द होइन भन्दै रुँदै थियो । ऊ रुँदारुँदै कतिबेला सुतेछ थाहै भएन ।

 मनमाया बितेको धैरे महिना ऊ रक्सीमै मन बहलायो तर सधैँ डोल्माकोमा गएर रक्सी माग्न उसले सकेन । डोल्माले छोरा होस्टलमा राखी पढाइदिएकी थिई । अझ दुःख दिन मन लागेन । उसले दिनभर बोतल टिप्ने काम गर्न थाल्यो । पैसाको अभावले कोठाको भाडा तिर्न सकेन र डोल्माकै भट्टी पछाडिको, यो अँध्यारो कोठामा शरण पुग्यो । ऊ दिनभर बोतल उठाउँथ्यो । साँझ कबाडमा बेच्थ्यो । जति पैसा आउँछ डोल्मालाई दिन्थ्यो । रक्सी पिउँथ्यो, साँझ एक छाक मात्र खाना खान्थ्यो र सुत्न जान्थ्यो । एक दिन बोतलको भारी पुर्याउन जाँदा, कबाडमा फुटेर लडेको डमी देख्यो । डमीको अनुहार मनमायाको जस्तै लाग्यो । दिनभरको बोतलहरूको पैसा नलिएर डमीसँगै साट्यो । डमीको नितम्बको भाग फुटेको थियो, हात खुकुलो भएको थियो, उसले डोल्मासँग पैसा मागेर टेप किन्यो । डमीलाई मर्मत गर्यो र मनमायालाई सबैभन्दा सुहाउने पहेलो कुर्तासुरुवाल लगाइदियो । त्यस दिनदेखि डमीलाई कपडा फेर्ने र स्याहार गर्ने उसको दिनचर्या बन्यो । 

     आज पनि वीरबहादुर सधँै देख्ने उही पुरानो सपनाले ब्युँझ्यो । उसले डमीलाई हेर्यो । हात आज पनि फुस्केछ । उसले हात कसिदियो । म आइहालेँ मनमाया भन्दै बाहिर निस्कयो । डोल्माको भट्टीमा एक गिलास रक्सी खायो, कोठामा आयो मनमायालाई सबैभन्दा सुहाउने पहेँलो कुर्तासुरुवाल झोलाबाट निकाल्यो । हातमा लियो, डमीतिर हेर्दै, ‘आज तिम्रो जन्मदिन मनमाया । हप्पी वर्थ डे टु यु । जन्म दिनको शुभकामना, आज तिमीलाई मन पर्ने रङ्गको कुर्ता लाउने । आज साझ आउँदा मेरी भुन्टी बुढीलाई हिल भएको स्यान्डल ल्याई दिन्छु । अनि त तिमी पनि म जत्रै हुन्छै । आज त छोराको पनि जन्मबार छोरालाई पनि भेट्न जान्छु’, उसले डमीसँगै कुरा गर्दै कपडा फेरिदियो । बोरा बोक्यो र बहिर निस्कियो । 

उसको चप्पल हराएछ । उसले यताउता खोज्यो चप्पल भेटन । डोल्मासँग पैसा माग्न सकेन । ऊ डोल्माले नदेख्ने गरी खालि खुट्टा निस्कियो । हिजोसम्मको चप्पल व्यापारी आज खालि खुट्टा भयो । बाटोमा दुईथरी फरकफरक साइजका चप्पल भेट्टायो । त्यही लगायो र छोरालाई भेट्न, छोराको स्कुल गयो, ‘छोराको इज्जत राख्न भए नि अलि हेर्न हुने भएर आउनु नि वीरबहादुर दाइ’, गेटमै गार्डले भन्यो । छोरा आयो, छोराले पनि आजदेखि हजुर होइन, ठूलोमम्मीलाई मात्र भेट्न पठाउनु भन्यो । वीरबहादुर निकै निरास भयो । ऊ बोत्तल टिप्न नगई डोल्माको भट्टीमा गयो । डोल्मालाई देख्ने बित्तिकै उसका आँखा रसाए । ‘आज त मङ्गलबार छोरा भेट्न गएन, अस्ती आइतबार गएर फी तिरेर आएको थिएँ’ डोल्माले भनी । 

वीरबहादुर केही बोल्न सकेन । उसले आफै जगबाट एक गिलास रक्सी हाल्यो । स्वाट्टै एकै सासमा पियो र बहिर निस्कियो खाना खान डोल्माले बोलाउँदा आज पनि पर्केन । 

आज वीरबहादुरको पाइला धेरै चलेनन् । दिनभर उसको मन दुखिरह्यो । आज धेरै बोतल जम्मा भएनन्, मात्र पचास रुपैयाँ आयो । उसलाई हाई हिल स्यान्डल किन्नु थियो । खल्तीमा पचास रुपैयाँ मात्र थियो । 

    वीरबहादुर चावहिल चोक हुँदै फर्किंदै थियो । चोकमा ठेलामा राखेको, एउटा स्यान्डल चोरी गर्यो । ठेलावालाले चाल पायो, उसले वीरबहादुरलाई पक्रियो र चोर चोर भनी वरपरका सबै मान्छे जम्मा गर्यो । उसले भीडबाट थुप्रै कुटाइखायो । चोकमा भएका प्रहरीले भ्यानमा राखेर गौशाला वृत्त पुर्याए । वीरबहादुर हिरासत कक्षमा थियो । उसले बारम्बार आज मनमायाको जन्मदिन हो, म बिना एक्ली हुन्छे ।

उसको हात पनि फुस्कियो होला भन्दै दुवै हात उठाउँदै बिन्ती गर्दै थियो । ऊ आज कोठामा भएको डमीजस्तै निरिह थियो । अक्सर हामी कुनै अपराधपछि त्यस अपराधको आरोपीलाई थुक्ने गर्छाै तर उसलाई त्यो अवस्थासम्म कसले र कसरी ल्याइपुर्यायो कहिल्यै सोच्दैनौँ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...