बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धार्मिक आँखामा यमराजका दूत, पितृहरुको सन्देशवाहक काग

शनिबार, ०९ कात्तिक २०७६, ०९ : ३३
शनिबार, ०९ कात्तिक २०७६

विज्ञानको आँखामा काग एउटा सामान्य जीव हो, यस संसारमा रहेका वीसौं लाख प्राणीका प्रजातिहरुमध्येका एउटा जीव । तर आस्था र विश्वासको आँखाले हेर्दा काग त्योभन्दा पनि परको विशिष्ट जीव हो । हिन्दू धर्मको हिसाबले भन्दा काग मृत्युका देउता यमराजको दूत हो । यो मानिस र मृत्युवरण गरेका पितापुर्खाहरुबीचको सन्देशवाहक पनि हो ।

हो, हिन्दू आस्थाले कागलाई पितृहरु अर्थात् मृत्युवरण गरिसकेको आफन्तजनहरुको सन्देश ल्याइदिने प्राणी हो भनी विश्वास गर्ने गर्छन् । कतिपय ठाउँहरुमा चाहिँ कागलाई सन्देशवाहक मान्ने र त्यो घरको छेउछाउमा आएर लगातार कराइबस्यो भने पाहुना आइहेको छ है भन्ने सन्देशको अर्थमा ग्रहण गर्ने पनि गरिन्छ । तर पनि मूलतः कागलाई पितृहरुको सन्देशवाहकको रुपमा नै लिने गरिन्छ ।

कागलाई किन यमराजको दूत वा सन्देशवाहकको रुपमा लिइन्छ भन्ने सन्दर्भमा रामायणको उत्तरकाण्डमा एउटा रमाइलो कथा छ । कथासार यस्तो छ :

एक पटक राजा मरुथाका लागि देउताहरुका गुरु वृहस्पतिका भाइ सम्भर्ताले भगवान शिवलाई प्रशन्न पार्न महेश्वरा यज्ञ गरे । आफ्ना गुरुका भाइले आयोजना गरेको यज्ञमा स्वभाविक रुपमा देउताहरु पनि उपस्थित भए ।

राजा मरुथाले उक्त यज्ञ त्रिलोक विजय गर्नको लागि आयोजना गरेका थिए । तर यो यज्ञको दौरानमा उनलाई चुनौती दिँदै दैत्य राजा रावण आइपुगे । रावणलाई देउताहरुले परास्त गर्न नसक्ने भनी व्रम्हाजीबाट बरदान प्राप्त थियो । त्यसैले यज्ञमा उपस्थित सबै देउताहरु जनावरको रुपमा धारण गरेर लुके ।

त्यसरी जनावरको रुप धारण गर्ने क्रममा देवराज इन्द्रले मयुरको रुप धारण गरे भने मृत्युको देउता यमराजले चाहिँ काग रुप धारण गरे । त्यसै गरी, धनका देउता कुवेरले छेपारो र जलको देउता बरुणले हाँसको रुप धारण गरे ।

ब्रम्हाजीको आशीर्वाद पाएका रावणले यज्ञमा उपस्थित सबैलाई परास्त गरे, यज्ञ तहसनहस पारिदिए । त्यति गरेर रावण फर्केपछि जनावरको रुप धारण गरेका देउताहरु बल्ल आफ्नो पूर्ववत रुपमा फर्किए ।

त्यसरी रावणको कोपबाट बचाएवापत देउताहरु आफूले रुप धारण गरेका प्राणीहरुप्रति कृतज्ञ भए र बरदान दिए ।

बरदान दिने क्रममा मृत्युको देउता यमराजले कागलाई यस्तो बरदान दिएः

हे काग, म तिमीसँग अत्यन्तै प्रसन्न छु । मेरा कुराहरु ध्यानपूर्वक सुन र त्यसलाई पूरा गर । म तिमीसँग प्रसन्न भएकोले म तिमीलाई चराहरुले भोग्नुपर्ने थुप्रै कुराहरुबाट उन्मुक्ति दिन्छु । हे काग, तिमीसामु मेरोकारण हुने मृत्युका भय आउने छैन, र तिमीलाई मानिसहरुले नमारेसम्म तिमी यस संसारमा अस्तित्वमा रहिरहनेछौ । र, परलोकमा रहेका मानिसका भोकाएका पुर्खाहरु, तिमीलाई तिनका नातेदारहरुले नखुवाएसम्म अघाउने छैनन् ।

यसरी यमराजले कागलाई बरदान दिएकै कारण कागलाई खानेकुरा खुवाउँदा परलोकमा रहेका पितृहरु तृप्त हुने धार्मिक विश्वासका कारण मानिसहरुले मराउपराउ पर्दा र वर्षको एक दिन काग तिहारको रुपमा मनाएर कागलाई मिठोमसिनो खुवाउने प्रचलन चलेको विश्वास गरिन्छ ।

हिन्दू आस्थाअनुसार काग मात्रै एउटा त्यस्तो जीव हो, जसले यमराजको बरदानको कारण जीवितै अवस्थामा जीवित र मृतक मानिसलाई छुट्याउने अलौकिक वैतरणी नदी पार गर्न सक्छ । त्यही विश्वासका कारण कागलाई पितृहरुको सन्देशवाहक मान्ने, कागलाई मीठो मसिनो खुवाउँदो पितृ खुसी हुने र सोही कारण पनि कागलाई हिर्काउनु, मार्नु नहुने विश्वास कतिपय हिन्दू समुदायमा कायम छ ।

त्यसो त कागले सिनो लगायत फोहोर खानेकुराहरु खाने हुनाले यसलाई धार्मिक कार्यहरुमा चाहिँ अशुद्ध मानिने र त्यस्ता कार्यहरु अपवित्र नबनोस् भनेर काग धपाउने चलन पनि कतिपय समुदायमा छ ।

https://middle.pngfans.com

त्यसो त हिन्दू आस्थाअनुसार, दण्डाधिकारी भगवान शनिको वाहान पनि काग नै हो ।

Title Photo: https://www.adotrip.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप