बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा १५ वर्षीया किशोरीलाई बन्धक बनाएर पाँच दिनसम्म यौनधन्दा गर्न लगाइयो

शुक्रबार, ०८ कात्तिक २०७६, १२ : ४९
शुक्रबार, ०८ कात्तिक २०७६

ललितपुर । गत असोज ३० गते गोदावरी नगरपालिका– १४ ठैबका सुमन नेपाली र १५ वर्षीया रमा (नाम परिवर्तन) को लखनखेलस्थित सार्वजनिक शौचालय नजिक अचानक भेट हुन्छ ।

उनीहरुबीच पहिले चिनजान थिएन । तर, पहिलो भेटमै सुमनले रमालाई विभिन्न प्रलोभन देखाउन थाल्छन् । क्याफेमा राम्रो काम लगाइदिने, खान र बस्न फ्रि हुने, राम्रो पैसा कमाइ हुने प्रस्ताव सुनेर रमा पनि दङ्ग पर्छिन् ।

त्यसपछि दुवै जना लगनखेलबाट गाडी चढेर सिधै गोदावरी नगरपालिका–१४ ठैबमा विशाल तामाङले सञ्चालन गरेको वेलकम क्याफेमा पुग्छन् ।

विशाललाई पनि रमा भेटाउँछन् सुमनले । विशालले रमालाई वेटरको काम गर्न भन्छन् । रमा तयार हुन्छिन् ।

तर, सुमनको नियत भने अर्कै हुन्छन् । क्याफेमा लगेपछि रमालाई सुमनले यौनधन्दा गरे थप रकम कमाउन सकिने भन्दै आर्थिक प्रलोभनमा पार्छन् । दिउँसो ग्राहकलाई सन्तुष्ट पार्न सके तीन हजार र रातभरी बसे ६ हजार रुपैयाँसम्म कमाउन सकिने कुरा रमालाई सुनाउँछन् । रमालाई पनि पैसाको आवश्यकता हुन्छ, उनले अफर स्वीकार गर्छिन् । तर, त्यसपछि रमालाई क्याफे कै एउटा कोठामा बन्धक बनाइन्छ र यौनकर्मी जसरी काम गर्न लगाइन्छ ।

यता, एक किशोरीलाई अवैध तरिकाले यौन व्यवसाय गर्न लगाएको भनी प्रहरीकोमा कात्तिक २ गते सूचना आइपुग्छ । कोठामा बन्धक बनाएर यौन व्यवापारमा लगाउने गरेको गोप्य सूचना आएपछि प्रहरीले रमाको खोजीकार्य सुरु गर्छ ।

अन्ततः प्रहरीले ठैबस्थित वेलकम क्याफेको कोठामा बन्धक बनाएर राखेको अवस्थामा रमाको कात्तिक ४ गते उद्दार गर्न सफल हुन्छ ।

रमालाई विभिन्न प्रलोभन देखाएर क्याफेमा लगि यौन व्यवसायमा लगाएको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएस्पी गौतम मिश्रले बताए ।

रमाले घटनाबारे बताएपछि क्याफेमा रहेका विशाल त्यतिबेलै पक्राउ परेका थिए । सुमनलाई भने त्यही साँझ ठैबस्थित सडकमा हिँडिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो ।

एकैदिन तीन जनासँग यौनसम्पर्क गर्न बाध्य पारियो

प्रहरीका अनुसार पहिलो दिनमै सुमनले रमासँग यौनसम्पर्क राखेका थिए । त्यसपछि विशालले पनि यौनसम्पर्क गरे । सोही दिन विशालले एकजना ग्राहक खोजेर ल्याएका थिए । तर, कोठामा पुगेपछि रमाको दयनीय अवस्था देखेका ती ग्राहक उल्टै २ हजार रुपैयाँ दिएर फर्किएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

पाँच दिन क्याफेमा बसेकी रमा दर्जनभन्दा बढी बलात्कारको शिकार बनेको प्रहरीको भनाइ छ । यौनसम्पर्क गरेबापत रमालाई दिने भनिएको रकम पनि विशाल र सुमन मिलेर बाँडेका थिए । शुरुमा रमाले पाउने रकमको आधा क्याफेको साहूले लिने र पीडितले पाएको आधा रकमबाट ५० प्रतिशत सुमनले लिने सहमति भएको प्रहरीको भनाइ छ । तर सहमति अनुसार सुमन र विशालले रमालाई एक रुपैयाँ पनि दिएनन् ।

उद्धार गरिएको समयमा रमाको यौनाङ्ग सुनिएको, हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेको सातदोबाटो वृत्तका डीएसपी गौतम मिश्रले जानकारी दिए । डीएसपी मिश्रले भने, ‘रमालाई ग्राहकले दिएको २ हजारसमेत विशाल र सुमनले मिलेर बाँडेर खाएछन् ।’

पक्राउ परेका विशाल र सुमनमाथि मानव बेचविखन तथा जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत ललितपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता, रमाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप