शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्मका लागि बल्खु सुन्दरीघाटमा बन्यो भव्य ‘दरबार’

बिहीबार, ०७ कात्तिक २०७६, १६ : ३०
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं । यदि तपाईँ बल्खुबाट चोभारतिरको बाटो लाग्नु भयो भने, गुम्बा नजिकै बायाँपट्टी एउटा ‘दरबार’ बन्दै गरेको देख्नुहुन्छ । ‘यत्रो दरबार कसका लागि ?’ तपाईँको मनमा प्रश्न उठ्न सक्छ । राजा–महाराजा बस्ने शैलीको विशाल दरबार निर्माण भइरहेको दृष्यले जो–कोहीको मनमा ‘कसका लागि बनाइँदैछ यत्रो दरबार ?’ भन्ने कौतुहलता जाग्नु स्वाभाविक पनि हो ।

बल्खु सुन्दरीघाटमा बन्दै गरेको यो ‘दरबार’ पूर्वराजा वा राजपरिवारका कुनै सदस्यले निर्माण गरिरहेको होला भन्ने पनि कतिपयको मनमा पर्न सक्छ । त्यो दरबार पूर्वराजा वा राजपरिवारका कुनै सदस्यले निर्माण गराएका होइनन् । न त कुनै धनाढ्यले आफ्नो शोख पुरा गर्न नै उक्त दरबार बनाएको हो ।

उक्त दरबार सुटिङ सेटका रुपमा चलचित्र ‘प्रेम गीत ३’का निर्माता सन्तोष सेनले निर्माण गराइरहेका हुन् । करिब एक महिना अवधिका लागि उनले यो दरबारको सेट बनाएका हुन् । निर्माण भइरहेको दरबार सेटमा करिब एक महिना लगाएर चलचित्र छायांकन गर्ने योजना रहेको निर्माण पक्षको भनाइ छ ।

निर्माता सेन पछिल्लो समय फिल्म ‘प्रेम गीत ३’को छायांकनको तयारीमा छन् । सो चलचित्रको कथावस्तुअनुसार उनलाई छायांकनका लागि एउटा भब्य दरबार चाहिएको हो, जो उनले निर्माण गराइरहेका छन् । उनले सेट लगाएर भब्य दरबार बनाउन थालेका हुन् । 

सुन्दरीघाटस्थित ६ रोपनी जग्गा ६ महिनाका लागि भाडामा लिएर उनले फेमिङसहितको दरबारको सेट बनाएका हुन् । दरबारको सेट निर्माणका लागि उनले राजु पेन्टरलाई जिम्मा दिएका छन् ।

राजु विगत तीन महिनादेखि उक्त सेट निर्माणमा एक दर्जन सहयोगीका साथ खटिएका छन् । ‘अब एक सातामा दरबार निर्माण सकिनेछ,’ राजु पेन्टरले भने ‘ मेरो बिचारमा नेपाली फिल्म छायांकनका लागि निर्माण भएको यो नै सबैभन्दा ठुलो सेट हो ।’ उनी चलचित्रका लागि सेट निर्माण गर्ने नेपालकै चर्चित ब्यक्ति हुन् ।

नेपाली चलचित्र उद्योगमा सेट बनाएर छायांकन हुन लागेको फिल्म यो नै पहिलो भने होइन । यस अघि पनि केही फिल्मले १०–१५ दिनमा सेट तयार गरेर फिल्मको छायांकन सक्थे ।

तर ‘प्रेम गीत ३’का लागि तयार हुँदै गरेको सेट निर्माणमा तीन महिना बढी समय लाग्ने भएको छ । समय धेरै लाग्नुको कारण गुणस्तरीय सेट भएको निर्माण युनिटको भनाइ छ । ‘यस अघि सेट बनाउँदा प्लाइमाथि फ्ल्याक्स बोर्ड प्रयोग गर्ने गरिन्थ्यो,’ सेट निर्माणको जिम्मा लिएका पेन्टरले भने, ‘हामीले प्लाइमाथि सिमेन्ट प्रयोग गरेर सेट बनाईरहेका छौं ।’

फ्ल्याक्स प्रयोग गर्दा ‘रियल’ नदेखिने भएपछि निर्मातालाई सिमेन्ट प्रयोग गर्न आफुले सुझाएको पेन्टरले खुलाए । उनका अनुसार सिमेन्ट प्रयोग गर्नुको अर्काे कारण पनि रहेछ । त्यो के भने, दरबारभित्र उज्यालोका लागि आगोसमेत बालिन्छ । त्यसरी बालिएको आगोले फ्ल्याक्स पग्लिनले भएकोले पनि सिमेन्ट प्रयोग भएको हो ।

सेटमा सिमेन्ट प्रयोग गर्दा निर्माताको बजेट भने फ्ल्याक्सको भन्दा धेरै गुणा बढेको छ । अहिलेसम्मको खर्चको आधारमा हेर्ने हो भने सेट तयार हुँदासम्म ६० लाख बजेट खर्च हुने देखिएको छ । जुन बजेटमा नेपाली फिल्म उद्योगमा कयौं चलचित्र निर्माण सम्पन्न नै भएका छन् ।

‘फ्ल्याक्सको साटो सिमेन्ट प्रयोग गर्दा केही बजेट बढ्छ भन्ने अनुमान थियो,’ सेनले भने ‘अहिले खर्च देख्दा तीन छक परेको छु ।’

‘किन बनाउनु प¥यो यस्तो सेट ?’ निर्माणाधीन सेट अवलोकनमा पुगेका निर्माता सेनलाई राखिएको प्रश्नमा भने, ‘चलचित्रले बाइसी चौबिसी राज्यको समयमा मनाङ र खाजाक राज्यको कथा उठाएको छ, सेटमा बनिरहेको दरबार खाजाक राज्यको हो ।’

खाजाक राज्यको राजाको छोरा प्रेम र अमन भन्ने थिए । तीमध्ये प्रेमको कथा फिल्मले उठाउन लागेको सेनको भनाइ छ । 

प्रेमको पृष्ठभूमि राजाको छोरा भएकोले फिल्मभित्रको प्रेमको पाटो छायाँकन गर्न दरबार निर्माण गरेको सेनले बताए । फिल्ममा प्रेमको भूमिका अभिनेता प्रदीप खड्काले निर्वाह गर्दैछन् । प्रेमको लभ र दरबारको युद्ध नै ‘प्रेम गीत ३’को मुख्य बिषयवस्तु बनाइएको छ ।

‘नेपाल रहेका पुराना दरबार केशर महल, बबरमहल जस्ता दरबारमा फिल्म छायाँकन गर्दा पनि हुन्थ्यो होला नि ?’

जवाफमा सेनले काठमाडौंमा रहेको पुराना दरबारमा मनाङको स्टक्चर नपाइने र आफुलाई ती दरबारमा नयाँ स्टक्चर निर्माण गर्न पनि नदिइने भएकोले नयाँ दरबार नै बनाइएको खुलाए ।

सुटिङका लागि अहिले बनाइएको दरबारको सेट पहिलेको मनाङ दरबारको अध्ययन अनुसन्धान गरेर बनाउन लागिएको हो । जसका लागि निर्माण युनिटले केही महिना अध्ययनमै बिताएको थियो । मनाङको घले दरबार, तिब्बतको नाकामा रहेका केही दरबारसमेत निर्माण युनिटले अध्ययन भ्रमण गरेको थियो ।

दरबारको सेटमात्र होइन, निर्माता सेनले दरबारभित्र रहने राजा, भाइभारदार, सेनाहरुको लागि गेटअप र ड्रेसअप देखि खाने र पकाउने भाँडासमेत सबै छुट्टै तयार पारेका छन् । त्यसका लागि करिब ४० लाख खर्च भएको छ ।

‘फिल्म एउटा इतिहास हो,’ सन्तोषले थपे, ‘इतिहास निर्माण हुने देखेरै सेट र गेटअपका लागि धेरै खर्च गरेको हुँ ।’ खर्च भए पनि फिल्म आफुले सोचेभन्दा धेरै गुणा राम्रो हुने उनले अनुमान लगाए ।

‘चंखे संखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’, ‘मेरी मामु’ लगायत फिल्म बनाएका सन्तोषले ‘मेरी मामु’ बाहेकका अन्य फिल्ममा २ करोड खर्च गरेका थिए । 

करिब एक करोड खर्च देखिएको सेटभित्र सबै फिल्म सुटिङ हुने पनि होइन । यो सेटमा फिल्मको करिव ४५ प्रतिशतमात्र छायाँकन गरिने छ । करिब एक महिनामा दरबारभित्रको कथावस्तु छायांकन सकिने र बाँकी ५५ प्रतिशत देशको विभिन्न स्थानमा छायांकन हुने उनले सुनाए ।

फिल्मको कथामा प्रेम र गीतको प्रेमकथा पनि छ । प्रेम प्रदीप हुन् भने गीतको भूमिकामा कृष्टिना गुरुङ छानिएकी छन् । गुरुङ फिल्मको हिरोइन छान्ने अडिसनबाट २७ सय युवतीलाई पछि पार्दै छानिएकी हुन् ।

कात्तिक १५ गतेदेखि छायाँकनमा जाने तयारी भइरहेको फिल्ममा प्रदीप र कृष्टिनाको अलवा मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ, प्रेम पुरी, पुस्कर कार्की, सन्तोष सेन लगायतको अभिनय रहनेछ । फिल्मको निर्देशन निर्माता सेन र छेतेन गुरुङले मिलेर गर्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप