शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको सफलता : व्यवसाय गर्ने वातावरणमा नेपाल १६ स्थानमाथि उक्लियो

बिहीबार, ०७ कात्तिक २०७६, १२ : ५०
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौँ । गतवर्ष विश्व बैंकको प्रतिवेदनप्रति नै आपत्ति जनाएका अर्थमन्त्री डा. युवराज खतिवडालाई यसपटक भने सो बैंकले खुसी बनाएको छ ।

 व्यापार व्यवसाय गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको प्रतिवेदनमा नेपालले फड्को मारेको छ । नेपालले १६ अंकले सुधार गर्दै ९४ औँ स्थानमा आइपुगेको  छ । गत वर्ष नेपाल ११० औँ स्थानमा थियो । सो बेला १०५ बाट एकैपटक पाँच स्थान तल झरेको थियो । ९४ औं स्थानमा उक्लिएको नेपालले ६३.२ अंक पाएको छ ।

हालको विश्व बैंकको प्रतिवेदनलाई आधार मान्ने हो भने दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । ६३ स्थानमा रहेको भारत पहिलो र ८९ स्थानमा रहेको भुटान दोस्रो स्थानमा छ ।  भारत गत वर्ष ७७ औ स्थानको थियो । भारत १४ स्थान माथि उक्लिएको हो । 

नेपालमा निर्माण अनुमतिका लागि दिने प्रक्रियामा यो वर्ष सुधार आएको छ । ऋण प्रवाह, अन्तरदेशीय व्यापार र ठेक्का सम्झौतामा नेपालमा पछिल्लो वर्ष सुधार भएको बैंकको अध्ययनले देखाएको छ । यद्यपी, नेपालमा व्यापार सुरु गर्न अझै कठिन रहेको अध्ययनले देखाएको छ ।  अध्ययनका अनुसार सामाजिक सुरक्षामा अनिवार्य दर्ता प्रक्रिया निकै झन्झटिलो भएको छ । त्यस्तै नेपालमा सम्पत्ति दर्ता तथा हस्तान्तरण अझै कठिन भएको बैंकको अध्ययनले देखाएको छ । 

डुइङ बिजनेस २०२० को अध्ययनले विकासशिल अर्थव्यवस्था भएका देशहरुले विकशित अर्थव्यवस्थालाई पछ्याइरहेको देखाएको छ । यद्यपि, अझैपनि विकासशील अर्थतन्त्र र विकशित अर्थतन्त्रबीचको ग्याप भने कायमै छ । १९० अर्थव्यवस्थामा ४८ हजार भन्दा बढी व्यवसायीले डुइङ बिजनेस प्रतिवेदनका लागि विभिन्न सूचकको सूचना दिएका थिए । 

 विश्व बैंकले तयार पारेको प्रतिवेदन अनुसार व्यवसाय गर्ने सबैभन्दा राम्रो वातावरण न्यूजील्याण्डमा छ । सिंगापुर, हङकङ, डेनमार्क, दक्षिण कोरिया उत्कृष्ट पाँच भित्र पर्दछन् । 

अर्थमन्त्रीको प्रतिवाद पछि बैंक लचक बनेको व्यवसायीको धारणा 
अघिल्लो वर्ष नेपाल १०५ स्थानबाट ११० मा पुग्दा अर्थमन्त्रीले विश्व बैंकको सूचक नै मिलेन भन्दै प्रतिवाद गरेका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले रिपोर्टले नेपालको वास्तविक अवस्था बाहिर नल्याएको भन्दै पुनर्विचार गर्न विश्व बैंकलाई भन्न समेत भ्याए । 

केही व्यवसायीले त्यही प्रतिवादपछि विश्व बैंक लचिलो भएर प्रतिवेदन निकालेको हो की भन्ने आशंका समेत गर्दछन् ।  यद्यपि डुइङ बिजनेसमा नेपालले गरेको प्रगतिलाई कतिपयले अर्थमन्त्री र प्रधानमन्त्रीको सफलतासँग जोडेर हेरेका छन् । 

व्यवसायी कमलेश अग्रवालले विश्व बैंकको यो प्रतिवेदनले विश्व आर्थिक क्षेत्रलाई राम्रो सन्देश दिएको बताए । विश्व बैंकले निकालेको प्रतिवदेन गत वर्षको अवस्थालाई लिएर निकालेको बताउँदै उनले भने, ‘यो प्रतिवेदनले गत वर्षको अवस्थालाई आधार मानेको छ । चालु वर्ष व्यवसायीलाई काम गर्न अप्ठेरो महसुस भएको छ । यद्यपि, विश्व आर्थिक क्षेत्रमा यसले राम्रो सन्देश दिएको छ ।’

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष समेत रहेका अग्रवाल सरकारले अझ व्यवसायिक वातावरणमा सहजता सिर्जना गरेर सूचकमा अझै सुधार गर्नुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप