शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई एउटै डर : फेरि साक्षी ‘होस्टाइल’ भइदिए के होला आलमको मुद्दा ?

प्रहरीले लियो २५ जनाभन्दा बढीसँग बयान, दर्जन साक्षी तयार
बिहीबार, ०७ कात्तिक २०७६, १० : ३२
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं । २०६४ साल चैत्र २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा भएको बम बिस्फोटको मुख्य अभियुक्त मानिएका अफ्ताव आलम यतिबेला प्रहरीको नियन्त्रणमा छन् ।

१२ वर्ष पहिलेको सो घटनामा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर हत्या गरिएको भन्दै आलममाथि यतिबेला अनुसन्धान भइरहेको छ ।

निर्वाचनको समयमा बम पड्काएर मतदाता तर्साउने र त्यसैका आडमा चुनाव जित्ने उनको योजना थियो । योजना बमोजिम आलमको समूहले आलमकै काका शेख इद्रिसको घरमा बम बनाइरहेको थियो । बम बनाउने क्रममा दुर्घटनावश बम पड्किएको र उक्त बिस्फोटमा परी घटनास्थलमै ३ देखि ४ जनाको मृत्यु भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् । उक्त बिस्फोटमा कम्तीमा थप १ दर्जन घाइते भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । सामान्य र जटिल गरी उक्त बिस्फोटमा करिब २० जना घाइते भएको प्रहरीको निस्कर्ष छ ।

बम बनाउँदै गर्दा बिस्फोट भएपछि मृतक तथा घाइतेलाई एउटा ट्याक्टरमा राखेर नजिकै रहेको आलमको भाञ्जाको इटाभट्टामा पु-याइयो । अनि घाइतेहरुलाई पनि त्यही भट्टीमा हालेर जिउँदै जलाइएको आरोप छ ।

चैत २८ गते भएको निर्वाचनमा आलम विजयी भए । आलम विजयी भएपछि प्रहरी प्रशासन तथा स्थानीय निकायलाई पनि प्रभावमा पारी अनुसन्धान नै प्रभावित गरिएको आरोप लागेको थियो ।

बिस्फोटमा २ जना नेपालीको पनि मृत्यु भएको थियो । त्यसपछि मृतकहरु पिन्टु भन्ने त्रिलोक सिंह र ओसी अख्तरका परिवारले आलमविरुद्ध किटानी जाहेरी दिएका थिए ।

तर तत्कालीन समयमा घटना नै नभएको भन्दै तत्कालीन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाए । जबकि त्यतिबेला प्रहरीसँग धेरै प्रमाण सुरक्षित थियो । तर आलमको दबाब तथा प्रभावमा न्यौपानेले घटना नै नभएको ब्यहोराको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाए । पछि तिनै प्रहरी एसएसपी बनेर टीकापुर पुगेको बेला थारु आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परी मृत्यु भयो ।

जिल्लामा मुद्दा नै नचलेपछि मृतकका परिवार मुद्दा चलाउनुपर्ने माग गर्दै २०६५ साउन २१ मा सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले उक्त रिट दर्ता गरेलगत्तै पहिलोपटक न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलाशले मुद्दा नचलाउनु पर्ने कारण के हो भन्दै सरकारको नाममा कारण देखाऊ आदेश दिएका थिए । त्यसपछि ४ वर्ष तारेखमै बितेको उक्त रिट निवेदनमा २०६९ साल जेठ १६ गते सर्वोच्च अदालतका न्यायाधीद्वय सुशीला कार्की र भरत बहादुर कार्कीको संयुक्त इजलाशले मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्दै घटनाको पुनः अनुसन्धान गराउन आदेश दिएको थियो ।

रजहर बम बिस्फोट घटनाका सम्बन्धमा प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । तर सरकारी वकिल कार्यालयले घटना नै नभएको भन्दै मुद्दा चलाउन नपर्ने भनी निर्णय गर्यो र यज्ञमूर्ति बञ्जाडे नेतृत्वको महान्यायाधिवक्ता कार्यालयले पनि जिल्ला सरकारी वकिलको कार्यालयको निर्णयलाई नै सदर गर्यो ।

तर सर्वोच्चले आदेश दिएपनि यो घटनामा न प्रहरीले अनुसन्धान गर्यो न त तत्कालीन समयमा महान्यायाधिवक्ता रहेका मुक्ति प्रधान नेतृत्वले नै कुनै पहल गर्यो । बरु सकेसम्म आफू पछाडि हट्ने रणनीतिमा सरकार रहेको देखियो ।

घटनाको अनुसन्धान गर्न अदालतले दिएको आदेशकै परिपालना नभएपछि अधिवक्ता पुष्पराज पौडेलले यसै विषयलाई लिएर २०७२ जेठ २८ गते अवहेलना मुद्दा दायर गरे । अवहेलना मुद्दामा उनले जिल्ला प्रहरी कार्यालय रौतहट र त्यसका कार्यालय प्रमुख तथा जिल्ला सरकारी वकिल कार्यालय रौतहट र त्यसका प्रमुखलाई विपक्षी बनाई रिट दर्ता गरे ।

*****

बम बिस्फोटमा घाइते भएका (परिवर्तित नाम) ‘गौर २’ कामको सिलसिलामा राजपुरमा पुगेका थिए । त्यहाँ पुग्ने क्रममा एक्कासी बम बिस्फोट भयो । पेट तथा छातीमा बमको छर्रा लाग्यो । उनी घाइते भए । तर घटनामा घाइतेलाई पनि मार्ने योजना बनेको थाहा पाएपछि उनी त्यहाँबाट भागे । उनको व्यापक खोजी पनि भयो । उनी ३ दिन गाउँ नजिकै लुकेर बसे । घटना अलि साम्य भएपछि उनी भागेर भारत पुगे । भारतमै रहेका एक चिनजानका व्यक्तिमार्फत् उनी भारतको मोतिहारी पुगेर ३ महिनासम्म लगातार उपचार गरे । उपचार खर्च पनि भारतीय नागरिकले नै दिएको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।

*****

त्यही रिट १३ पटक पेशीमा चढेपनि ११ पटक हेर्न नभ्याइनेमा राखिया भने एकपटक बेञ्च बस्नै सकेन । एकपटक भने वादीकै पक्षबाट स्थगित गरियो ।

तर १४ औँ पटकको पेशीमा भने यो मुद्दाको प्रगतिको अवस्था मगाउने गरी आदेश आयो । यही रिटमा २०७६ साल असार ६ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिल कुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलाशले यसअघि सर्वोच्च अदालतले दिएको आदेशको कार्यन्वयनको अवस्था र प्रगति के छ एक महिनाभित्र अदालतलाई जानकारी गराउनी भनी आदेश दिए । सो प्रगति विवरण पेश गर्न महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयलाई समेत आदेश दिइयो । उक्त आदेशपछि मात्रै प्रहरीले यस घटनालाई गम्भीर ढङ्गले लिएको थियो ।

७ महिनादेखि अनुसन्धान सुरु

त्यसो त रौतहट प्रहरीले यो घटनाको अनुसन्धान सर्वोच्चको बाध्यकारी आदेश आएपछि मात्रै गरेको थिएन । रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री नेतृत्वको प्रहरीले बिगत ७ महिनादेखि यस घटनाको गहन अनुसन्धान सुरु गरेको थियो । यही अनुसन्धानका क्रममा प्रहरीले स्थानीय गाउँले, युवा र घटनामा घाइते भएका एक साक्षीसँग भेट गरेको थियो ।

साक्षीलाई विश्वासमा लिन प्रहरीलाई पनि लामो समय लागेको थियो । आलमको पैसा र शक्तिको कारण यो मुद्दामा आफू पिल्सने डरले घटनामा घाइते भएका साक्षी सुरुमा प्रहरीलाई बयान दिन र सहयोग गर्न पनि इन्कार गरिरहेका थिए । तर प्रहरीको लामो समयको मेहनतपछि साक्षी बकपत्र गर्न तयार भए ।

भागेर बाँचेका थिए साक्षी ‘गौर २’

बम बिस्फोटमा घाइते भएका (परिवर्तित नाम) ‘गौर २’ कामको सिलसिलामा राजपुरमा पुगेका थिए । त्यहाँ पुग्ने क्रममा एक्कासी बम बिस्फोट भयो । पेट तथा छातीमा बमको छर्रा लाग्यो । उनी घाइते भए ।

तर घटनामा घाइतेलाई पनि मार्ने योजना बनेको थाहा पाएपछि उनी त्यहाँबाट भागे । उनको व्यापक खोजी पनि भयो । उनी ३ दिन गाउँ नजिकै लुकेर बसे । घटना अलि साम्य भएपछि उनी भागेर भारत पुगे । भारतमै रहेका एक चिनजानका व्यक्तिमार्फत् उनी भारतको मोतिहारी पुगेर ३ महिनासम्म लगातार उपचार गरे । उपचार खर्च पनि भारतीय नागरिकले नै दिएको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।

उपचारपछि उनी निको भएपनि घर आउन भने सकेनन् । डरकै कारण उनी लामो समय भारततिरै बसेका थिए । कहिलेकाहीँ घर आउने गरेको भएपनि आफूलाई मार्न सक्ने खतरा आंकलन गरी उनी बाहिर नै बस्ने गरेका थिए ।

मृतक ओसी अख्तरको आमा रुक्साना खातुनलाई गोली हानी हत्या गरेपछि उनी झन् त्रसित थिए र उनी धेरैजसो समय भारतमै बस्ने गरेका थिए । तर प्रहरीले सुरक्षाको ग्यारेन्टी गरेपछि मात्रै उनी नेपाल आएका थिए र प्रहरीलाई घटनाबारे साबिती बयान दिए ।

अहिले ती नेपाली साक्षी प्रहरीको सुरक्षामै छन् । उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा फरेन्सिक चेकजाँज पनि भइसकेको छ । यद्यपि त्यसको रिपोर्ट भने अझै आइसकेको छैन ।

२५ जनाभन्दा बढीसँग बयान

प्रहरीले राजपुर बम प्रकरण सम्बन्धमा २५ जनाभन्दा बढी मानिससँग बयान लिइसकेको छ । प्रहरीले बयान दिनेको नाम गोप्य राखेको छ भने उनीहरुलाई छद्म नाम प्रयोग गरिएको छ ।

उक्त घटना देख्ने राजपुरका स्थानीय, घटनामा संलग्न केही व्यक्ति, ट्याक्टरका मालिक आदिसँग बयान लिइसकेको छ । प्रहरीलाई बयान दिनेको सङ्ख्या दुई दर्जन नाघेको र उनीहरु सबै साक्षीको रुपमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

*****

आलम रौतहटमा मात्रै नभएर मुस्लिम समुदायभित्र चर्चित व्यक्ति हुन् । मुस्लिम धर्म र संस्कृति जगेर्नाका नाममा आलमलाई नेपालबाट मात्रै होइन, अन्य मुस्लिम देशबाटसमेत आर्थिक सहयोग हुने गरेको पाइएको एक अनुसन्धान अधिकारीले बताए । आलमलाई सबैभन्दा बढी आर्थिक सहयोग पाकिस्तान र दुबईबाट हुने गरेको पाइएको छ । त्यसबाहेक साउदी अरब, कतार लगायतका देशबाट पनि आलमका लागि आर्थिक सहयोग आउने गरेको थियो । त्यसकारण पनि आलमसँग पैसाको कुनै कमी थिएन र छैन ।

*****

जब रुक्सनालाई गोली हान्ने साक्षी ‘होस्टाइल’ भइदिए ...

मोहताव अफ्ताव आलमको चुनावी प्रचारप्रसारमा खटिएका र उनलाई सहयोग गरिरहेका आफ्नै छोरा ओसी अख्तर घाइते भएको अवस्थामा जिउँदै इटाभट्टामा जलाएर हत्या गरिएको रुक्सानाले थाहा पाइन् । त्यसपछि रुक्सानाले अफ्ताव आलमविरुद्ध किटानी जाहेरी दिइन् । जाहेरी फिर्ता लिन आलम पक्षले रुक्सानालाई धेरै दबाब दिएको थियो तर रुक्सानाले त्यो दबाबलाई टेरिनन् । बरु जिल्लाले मुद्दा नचलाउने भनेपछि उनी सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगिन् । सर्वोच्च अदालतमा मुद्दाको पेशी र तारेख चल्दै गर्दा २०६७ सालमा रुक्सानामाथि पनि गोली हानियो । उनको घटनास्थलमै हत्या भयो ।

रुक्सानालाई गोली हानेर मार्ने व्यक्तिलाई रुक्सानाकै सम्धिनीले पनि चिनेकी थिइन् । उनीबाहेक रुक्सानालाई गोली हानेर मार्ने मान्छे चिनेपछि प्रहरीले ‘कन्ट्रयाक्ट किलर’लाई पक्राउ गरी मुद्दा पनि चलाएको थियो । गोली हान्ने व्यक्तिहरु पुर्पक्षका लागि थुनामा समेत गएका थिए । सुरुमा गोली हान्ने व्यक्तिले आलमको मान्छेले नै गोली हान्न लगाएको बताएका थिए । त्यही आधारमा तिनीहरु पुर्पक्षका लागि थुनामा पठाइएका थिए ।

तर पछि साक्षीहरुलाई आलमका मान्छेहरु प्रयोग गरेर डर, धम्की तथा प्रलोभन दिइएको प्रहरीको निस्कर्ष छ । पहिले साबिती बयान दिएकाहरुले पछि बयान नै फेरिदिए । ती अधिकारीले भने, ‘प्रहरीले धेरै मेहनत गरेर खोजेको अपराधी र साक्षी नै पछि होस्टाइल भइदिए । त्यसपछि अदालतमा मुद्दा कमजोर बनिदियो ।’ पहिले साक्षी राखिएकाहरुले पछि अदालतमा बयान दिने क्रममा घटनाबारे केही थाहा नभएको भन्दै साबिती बयान दिएपछि रुक्सानालाई गोली हानेर मार्ने अपराधी पनि छुटे ।

आलमलाई पाकिस्तानदेखि दुबईबाटसमेत आर्थिक सहयोग

आलम रौतहटमा मात्रै नभएर मुस्लिम समुदायभित्र चर्चित व्यक्ति हुन् । मुस्लिम धर्म र संस्कृति जगेर्नाका नाममा आलमलाई नेपालबाट मात्रै होइन, अन्य मुस्लिम देशबाटसमेत आर्थिक सहयोग हुने गरेको पाइएको एक अनुसन्धान अधिकारीले बताए । आलमलाई सबैभन्दा बढी आर्थिक सहयोग पाकिस्तान र दुबईबाट हुने गरेको पाइएको छ । त्यसबाहेक साउदी अरब, कतार लगायतका देशबाट पनि आलमका लागि आर्थिक सहयोग आउने गरेको थियो । त्यसकारण पनि आलमसँग पैसाको कुनै कमी थिएन र छैन ।

आर्थिक रुपमा सम्पन्न र मुस्लिमको सेन्टीमेन्ट पाउने भएपछि आलमसँग सत्ता, शक्ति र पैसा सबै एकसाथ थियो र छ । त्यसकारण पनि आलमपक्षले अन्तिम समयसम्म पनि यो मुद्दालाई कमजोर बनाउन र साक्षीलाई होस्टाइल गराउन सक्ने सम्भावना रहन्छ । प्रहरीलाई अहिलेको डर पनि यहीमात्रै हो ।

आलमका सम्धी सितामढीका विधायक, सूचना पाउन प्रहरीलाई गाह्रो

निलम्बित सांसद अफ्ताव आलमका सम्धी भारत शिवहरका विधायक पनि हुन् । आलमको छोराको विवाह भारतका विधायक शरफुद्धिनको छोरीसँग भएको थियो । सितामढी जिल्लाको शिवहर क्षेत्रमा लालुप्रसाद यादवको पार्टी जनता दल युनाइटेडबाट चुनाव जितेका शेख शरफुद्धिन त्यहाँको शक्तिशाली विधायक हुन् । उनको बसोबास भने महुवा भन्ने स्थानमा छ ।

महुवा अफ्ताव आलमको ससुराली क्षेत्र पनि हो । त्यसकारण महुवा क्षेत्रमा आलम र शरफुद्धिनको शक्ति बढी नै छ । मान्छे पनि उनीहरुकै बढी छन् त्यहाँ । त्यसकारण प्रहरीलाई भारतको सितामढी जिल्लाबाट सूचना पाउन, घाइते वा मृतकबारे जानकारी लिन कठिन भइरहेको छ ।

गत शुक्रबार शरफुद्दिन आलमलाई भेट्न प्रहरी हिरासतमै पुगेका थिए । साँझ ५ बजे उक्त भेट भएको रौतहट प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले बताए । उनका अनुसार विधायकले १० मिनेट जति आलमसँग भेट गरेका थिए । उनी दुई जना भारतीय प्रहरीसहित आएका थिए ।

पाकिस्तानी र अन्य मुस्लिम धर्मगुरुको सेल्टर थियो राजपुर

अफ्ताव आलमको गाउँ राजपुर मुस्लिम बाहुल्य क्षेत्र हो । यो पूरै क्षेत्रमा मुस्लिम समुदायको बाहुल्यता छ । त्यसकारण पनि मुस्लिम समुदायले राजपुरलाई आफ्नो सुरक्षित र पकड क्षेत्र मान्दै आएको छ ।

मुस्लिम बाहुल्य क्षेत्र भएको कारणले पनि राजपुरलाई विभिन्न धर्मगुरुहरुले आफ्नो सेल्टर बनाउने गरेका थिए । यहाँ पाकिस्तान, साउदी अरब, दुबई, कतार लगायतका देशबाट मुस्लिम धर्मगुरु, नेता, व्यापारी आदि आएर बस्ने गरेका थिए । मुस्लिम नेता तथा धर्मगुरुले सुरक्षित र आफ्नै समुदायका मानिसहरु खोज्ने भएकाले आलमले त्यस स्थानमा उनीहरुलाई राख्ने गरेका थिए ।

करिब ३ महिनाअघिदेखि राजपुर गाउँमा ५ जना पाकिस्तानी नागरिकहरु सेल्टर लिएर बसेका थिए । पाकिस्तानी नागरिकलाई सेल्टर दिने काम आलमले नै मिलाएका थिए । पाकिस्तानी नागरिकहरु सेल्टर लिएर बसेको कुरा प्रहरीले पनि जानकारी पाएको थियो । त्यसलगत्तै राजपुर गाउँमा व्यापक प्रहरी परिचालनसमेत गरिएको थियो । यद्यपि ती पाकिस्तानी को को थिए र उनीहरु किन राजपुरमा सेल्टर लिएर बसेका थिए भन्ने विषय भने प्रहरीले जानकारी पाउन सकेन । प्रहरीले घेरा हालेको थाहा पाएलगत्तै ती पाकिस्तानी नागरिकहरु त्यहाँबाट भागेका थिए ।

‘पाकिस्तान जिन्दावाद’को नारा किन घन्कियो ?

करिब एक महिनाअघि रौतहटमै हिन्दु र मुस्लिम समुदायबीच झडपसमेत भएको थियो । उक्त झडपमा गोलीसमेत चल्यो । त्यही झडपका क्रममा भीडबाट करिब एक मिनेटसम्म ‘पाकिस्तान जिन्दावाद, मुस्लिम समुदाय एक होऔँ’ भन्ने नारासमेत लागेको थियो । त्यसलगत्तै प्रहरीले भीडलाई हस्तक्षेप गरी हटाएको थियो । तर नारा लगाउने व्यक्तिहरु को को थिएभनेर प्रहरीले पत्ता लगाउन भने सकेन ।

 


आन्दोलन चर्काउन बैठक

नेपाली कांग्रेसबाट चुनाव जितेका अफ्ताव आलमको सपोर्टमा सुरुमा नेपाली काँग्रेसको झण्डा बोकेर नै आन्दोलन भएको थियो ।

तर मंगलबार काँग्रेसले विज्ञप्ति नै जारी गरेर आलम प्रकरणमा अनुसन्धानका लागि पार्टीले सघाउने र दोषी भए कारवाहीका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै अब आन्दोलनको स्वरुपलाई कसरी लैजाने भनेर मंगलबार राती गौरमा स्थानीय काँग्रेस नेता तथा कार्यकर्ता र आलमका आफन्तहरुको बैठक बस्यो । बैठकले काँग्रेसको झण्डा प्रयोग नगर्ने तर जन समुदाय उतारेर आन्दोलन चर्काउने निर्णय लियो ।

बुधबारसहित अब जम्मा ३ दिनमात्रै सरकारी कार्यालय र अदालत खुल्नेछ । त्यसकारण पनि प्रहरीले जतिसक्दो चाँडो मुद्दा दर्ता गरायोस् र त्यो कमजोर बनोस् भन्ने आलम पक्षधरहरुको सोच छ ।

आन्दोलन भएपछि प्रहरी पनि आन्दोलनमै केन्द्रित हुनुपर्ने भएकाले अनुसन्धानमा बाधा आए मुद्दा कमजोर हुन्छ र ठूलो मास देखाउन पाए पछि प्रहरी र अदालतलाई पनि प्रभावमा पार्न सकिन्छ कि भन्ने सोचले पनि अब शुक्रबारसम्म आन्दोलन गर्ने तयारीमा आलम पक्षधर लागिपरेका छन् । यद्यपि, प्रहरी भने आफ्नो मुद्दा शक्तिशाली बनाएर मात्रै अदालत जाने र दोषी उम्कन नसक्ने गरी साक्षी र प्रमाण संकलनमै केन्द्रित छ । त्यसकारण पनि अब तिहारअगाडि यो मुद्दा अदालत पुग्ने र थुनछेक बहस हुने सम्भावना ज्यादै कम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप