शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा उपनिर्वाचनको माहोलः कांग्रेसबाट १० जनाको नाम सिफारिस, अन्य दलका अन्यौलमा

बुधबार, ०६ कात्तिक २०७६, २१ : २८
बुधबार, ०६ कात्तिक २०७६

भक्तपुर – भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेश सभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । मंसिर १४ गते हुने उपनिर्वाचनको करिव १ महिना समय बाकीं भए पनि दलहरुले एकल उम्मेदवार भने छनोट गर्न सकिरहेका छैनन् । 

भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उप निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसमा निर्वाचनका आकाक्षी पनि दिन प्रतिदिन बढन थालेका छन् । कांग्रेसको बुधबार बसेको बैठकले उम्मेदवारीमा लागि जिल्लामा निवेदन दिएका १० जनाको नाम सिफारिस गरेको सभापति दुर्लभ थापाले रातोपाटीलाई बताए ।  

प्रदेश सभाका लागि आकांक्षीहरुमा कृष्णलाल भँडेल, यादव प्रसाद अधिकारी, शुरेस श्रेष्ठ, विनोद प्रसाद कायस्थ, रुपा थापा, उद्धव खड्का, किरण न्यौपाने, मनोज कुमार थापा, हरी प्रसाद नेपाल र सुभद्रा काफ्लेको नामावली पार्टी केन्द्रमा पठाइएको जिल्ला सभापति थापाले जानकारी दिएका छन् । 

गत निर्वाचनमा जित हासिल गरेको नेकपा (तत्कालिन नेकपा एमाले)ले भने उम्मेदवार छनोट गर्ने तयारी थालेको छ । नेकपाका जिल्ला अध्यक्ष बचन देउजाका अनुसार पार्टी केन्द्रले भनेबमोजिम कार्तिक ९ गतेसम्ममा उम्मेदवार हुन चाहानेहरुको नाम सिफारिस गरेर पठाइने छ । 

भक्तपुरका चार स्थानीय तह मध्य तीनमा विजय भएको नेकपामा उम्मेदवार हुन चाहानेहरु आधा दर्जनभन्दा धेरै छन् । मोहनवीर श्रेष्ठ, देवीप्रसाद ढकाल (डीपी), रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, रमेश बुढाथोकी, दामोदर दंगालको नाम चर्चामा छ । नेपाली काँग्रेस र नेकपाले केन्द्रबाट तीन जनाको मात्र नाम पठाउन भने त्यो लागू गर्न पार्टीहरुलाई मुस्किल परेको छ । 

नेपाल मजदुर किसान पार्टी, राप्रपालगायतका अन्य दलको पनि हालसम्म आधिकारिक रुपमा उम्मेद्वारको नामावली सार्वजनिक गर्न सकेको छैनन् ।

यो प्रदेश निर्वाचन क्षेत्रमा ४५ हजार ३६ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ ।

सो क्षेत्रमा २१ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिएका छन् । अघिल्लो निर्वाचनमा नेकपाका स्वर्गीय हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित भएका थिए । 

काँग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेमकिपाका निरज लवजुले ७ हजार ११ मत र तत्कानिल नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीप्रसाद ढकालले ७ सय ८४ मत पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप