शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचनको उम्मेदवारी छनोटमा जुट्यो काँग्रेस

बुधबार, ०६ कात्तिक २०७६, २१ : १६
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनको तयारीलाई तीव्रता दिएको छ । उम्मेदवार छनोट गर्न छलफल सुरु गरेको छ । केही दिनयता उम्मेदवार छनोटको विषयमा पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा काँग्रेस पदाधिकारीबीच छलफल भइरहेको छ । 

आज (बुधबार) पनि प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको मापदण्ड तथा आकांक्षीहरूका सबल र कमजोर पक्षका विषयमा काँग्रेस पदाधिकारीबीच छलफल भएको थियो । बैठकमा सहभागी सह-महामन्त्री प्रकाशशरण महतले उम्मेदवार छनोटको विषयमा छलफल भएको बताए । उनका अनुसार प्रतिनिधि र प्रदेशभाका उम्मेद्वारको छनोट केन्द्रले गर्ने छ भने स्थानीय तहका उम्मेदवारको हकमा भने तल्ला निकायले निर्णय गर्ने  छ ।

प्रतिनिधिसभाका लागि कास्की क्षेत्र–२ बाट १६ जना आकांक्षीको सूची केन्द्रीय कार्यालयमा आइपुगेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि भक्तपुरबाट १०, दाङबाट १३ र बागलुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको छ । 

सम्बन्धित क्षेत्रीय कार्यसमितिले तीन जनाको नाम सिफारिस गर्नुपर्ने विधानमा उल्लेख भए पनि तल्ला तहबाट विवाद मिलाउन सकेपछि आकांक्षी सबैको सूची केन्द्रमा पठाइएको हो । आज बसेको पदाधिकारी बैठक केन्द्रमा पुगेको सूची मध्येबाट कसलाई टिकट दिन भन्नेमा केन्द्रित थियो । तर आजको बैठकले अन्तिम निर्णय गरि नसकेको महतले जानकारी दिए । 

आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह  गरी कुल ५२ सीटमा को उपनिर्वाचन हुँदै छ । जसमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २८ सिट दाउमा छन् भने काग्रेसका १४ सिट दाउमा छन् । 

उपनिर्वाचन हुने अधिकांश स्थानीय तहमा उम्मेदवार छनोट भइसकेको महतले जानकारी दिए । तर प्रदेश र प्रतिनिधिसभाको आकांक्षी धरै भएकाले केही समस्या भएको उनको भनाइ थियो ।

 प्रदेशसभा निर्वाचन क्षेत्रको रिक्त तीन स्थानका लागि भक्तपुर, बागलुङ र दाङमा पनि आकांक्षी धेरै छन् । भक्तपुरबाट १०, दाङबाट १३ र बागलुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको छ ।

उम्मेदवार छनोट गर्ने आधिकारिक निकाय संसदीय समिति गठन नभएकाले काँग्रेसले पदाधिकारी बैठकबाटै टुंगो लगाउने तयारी गरेको छ ।

विवादका कारण गत निर्वाचनपछि विघटन भएको संसदीय समिति पुनः गठन नभएकाले केन्द्रीय कार्यसमितिबाट अधिकार प्रत्यायोजन गराई पदाधिकारी बैठकबाट उम्मेदवार छनोट गर्ने काँग्रेसले तयारीमा छ । 

उपनिर्वाचनको तयारीका लागि केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो २ बजेट बस्दै छ । काँग्रेसले तिहारअघि नै उम्मेद्वार टुंगो लगाउने तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप