शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

औद्योगिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको प्रबद्र्घन अपरिहार्य

बुधबार, ०६ कात्तिक २०७६, १९ : १५
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं– देशको औद्योगिक विकासका लागि मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको विज्ञहरुले बताएका छन् । बुधबार राजधानीमा आयोजित नेपाल घरेलु तथा साना उघोग महासंघको अन्तरक्रिया कार्यक्रमका सहभागी विज्ञहरुले साना तथा मझौंला उद्योगहरुको प्रवद्र्धनबाट मात्रै ठूला उद्योगको विकास गर्न सकिने बताएका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताए । देशको उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले साना लघु तथा घरेलु उद्योगहरुको योगदान नै उच्च रहने बताउँदै उनले यस्तो उद्योगको प्रवद्र्धनमा सरकार लाग्नु पर्ने औंल्याए । 

‘अबको युग भनेको औद्योगिक युग हो । औद्योगिक विकास विना देशको सर्वोपरी विकास सम्भव छैन ।’ सिंहले भने, ‘मुलुकको आर्थिक समृद्घि र उपार्जन चाहने हो भने, साना लघु तथा घरेलु उद्योगको विकास र प्रवद्र्धनमा सरकार लाग्नुपर्छ ।’

यसै अवसरमा सिंहले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट हुन नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आवश्यक रहेको बताए । अनिमात्र यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने उनको भनाई छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै यस्ता उद्योगहरुबाट गुणस्तरीय र प्रतिष्पर्धी उत्पादन बजारमा आउनुपर्नेमा जोड दिए ।

पछिल्लो समय बढ्दो लागत र दोहोरो करबारे उद्योगीहरुको झेल्नुपरेको समस्यातर्फ गर्दै अर्यालले तीन तहमा कतै पनि दोहोरो करमा व्यवसायी परेमा ठोस प्रमाण सहित देखाउन र समाधानको बाटो खोज्न व्यवसायीहरुलाई अपिल गरे । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयका सचिव विनोद केसीले नेपालको मौलिक संस्कृति परम्परा र पहिचान बोकेका उत्पादन अन्तर्राष्ट्रिय मुलुकमा निर्यात गर्ने भएकाले लघु, घरेलु तथा साना उद्योगहरुको औद्योगिक क्षेत्रमा विशेष महत्व रहने बताए । 

यसै अवसरमा केसीले औद्योगिक क्षेत्र र श्रमजीवि कामदारहरुको हकहितका लागि भन्दै सरकारले योगदानमा आधारीत सामाजिक सुरक्षा योजनाका ल्याएको र यो योजनामा सबै उद्योगीहरुलाई सहभागी हुन आग्रह गरे । उद्योगीहरुका लागि सामाजिक सुरक्षा योजना अत्यन्त महत्वपूर्ण र अत्यावश्यक सुरक्षा योजना रहेको बताए । 

त्यस्तै, उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले औद्योगिक विकास गर्नका लागि मुख्य आधार नै साना उद्योग भएको भन्दै गाउँघरका स्थानीय कच्चा पदार्थको प्रयोग हुने रैथाने कुटिल उद्योगकोे विकासबाट मात्र औद्योगिक विकास सम्भव भएको बताए । विभागले यस्तै उद्योगको प्रवद्र्घनमा काम गर्दै आएको जानकारी दिँदै उनले यो क्षेत्रमा देखिएका समस्या र सम्भावनाका विषयमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयका सचिव केसी र उद्योग विभागका महानिर्देशक सिटौलालाई सम्मान गरिएको थियो भने कार्यक्रममा उल्लेखनिय रुपमा लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप