शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा पोषणसम्बन्धी विश्व सम्मेलन : ८० देशका उच्चपदस्थ प्रतिनिधि नेपाल आउँदै

बुधबार, ०६ कात्तिक २०७६, १७ : ०४
बुधबार, ०६ कात्तिक २०७६

राष्ट्रिय योजना आयोगले आउँदो कार्तिक १८ देखि २१ सम्म काठमाडौँमा पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन गर्ने भएको छ ।

बुधबार आयोगमा यससम्बन्धी जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले विश्व सम्मेलनमा ८० देशका प्रमुख तथा उच्चपदस्थ प्रतिनिधिहरु समेत करिब १ हजार २ सय सहभागी हुने जानकारी दिए ।

कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

कार्यक्रममा नेपालको तर्फबाट संघीय तथा प्रदेश सरकारका उच्च पदस्थ पदाधिकारीहरु, सम्बन्धित मन्त्रालय तथा विभागका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु, नेपालस्थित राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरु, विकास साझेदार, प्राज्ञिक समूह नीजि क्षेत्र तथा पोषण अभियन्ता गरी २ सय जनाको सहभागिता रहनेछ ।

सम्मेलनको नारा पृथ्वी र मानवजाती दुवैलाई पोषित गर्ने राखिएको छ । विश्वव्यापी रुपमा बालबाललिका तथा किशोर किशोरीमा हुने कुपोषण न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघ र सदस्य देशहरुको नेतृत्वमा स्केलिङ अप न्यूट्रिसन (सन) को अवधारणा अभियानको रुपमा सन् २०१० बाट विश्व सम्मेलनको सुरु भएको हो ।

यो अभियानले सन् २०१० मा पोषणामा सुधार गर्नका लागि विभिन्न विषयहरुलाई समेटेर एउटा ढाँचा प्रस्तुत गरेको थियो । पोषणको क्षेत्रमा कार्यरत १ सय भन्दा बढी निकायले सनको सो ढाँचालाई अनुमोदन गरेका छन् । कुपोषणको अवस्थालाई बृहत्तर रुपमा सुधार गर्न विश्वब्यापी अभियानमा ६१ देशहरु सदस्यको रुपमा आवद्ध भएको कार्यक्रममा जानकारी दिइयो ।

विश्व सम्मेलन कार्यक्रम अन्र्तगत कार्तिक १८ गते साँझ प्रधानन्त्रीले उद्घाटन गर्ने, कार्तिक १९ देखि २१ सम्म ४ वटा प्लेनरी तथा २५ वटा कार्यशाला सत्र सञ्चालन हुनेछ । यस्तै कार्तिक २१ गते काठमाडौँ घोषणा पत्र जारी गर्दै कार्यक्रम समापन हुने कार्यतालिका रहेको छ ।

कार्यक्रममा बोल्दै सन एण्ड ग्लोवल ग्यादेरिङ कि निर्देशक ब्रेन्दा किलेनले पोषण सुधारका लागि राजनीतिक र प्रशासनीक रुपमा सक्रियाताको आवश्यकता पर्नेमा जोड दिइन् । यस्तै राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले कुपोषण नियन्त्रणका लागि सरकारले बुहक्षेत्रीय पोषण कार्यक्रम अघि बढाइरहेको जानकारी दिइन् ।

सन् २०१६ को आँकडा अनुसार नेपालमा पाँच वर्षमूनीका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र १० प्रतिशतमा ख्याउटेपनको समस्या छ । यस्तै पाँचवर्षमुनीका १ दशमलव २ प्रतिशतमा मोटोपन, प्रजनन उमेरका महिलामा अधिक तौल  र मोटोपन २२ प्रतिशत र १७ प्रतिशतमा दुब्लोपन समस्या पाइएको थियो । नेपालको राष्ट्रिय सुक्ष्म सर्भेक्षण २०१६ का अनुसार नेपालका ३२ प्रतिशत किशोरकिशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपनाको देखिएको छ भने २३ प्रतिशत किशोर र २४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप