शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘विनोद चौधरीहरू बन्न कन्सेप्ट बेच्न सक्नुपर्छ’

सोमबार, १५ जेठ २०७४, १६ : ४९
सोमबार, १५ जेठ २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिहानदेखि बेलुकासम्म नियाल्ने हो भने वैदेशिक रोजगारीमा जानेको ‘क्याराभान’ देखिन्छ । वैदेशिक रोजगारीमा जाने गएकै छन् । तर, नेपालमै बसेर केही गर्नुपर्छ भन्नेहरू पनि छन् ।

रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ खोटाङबाट उच्चशिक्षा हासिल गर्न काठमाडौं पसेका जनक राई जतिसुकै अप्ठ्यारो पर्दा पनि विदेश जाने सपना देखेनन् । भन्छन, ‘कन्सेप्ट बेचेर खानुपर्छ । कन्सेप्ट बेचेर खाने जमाना हो । कन्सेप्ट बलियो भयो भने आर्थिक समृद्धिका लागि विदेश जानुपर्दैन ।’

२४ वर्षअघि काठमाडौं पसेका राईले अहिलेसम्म ‘कन्सेप्ट’ बेचेरै जीविकोपार्जन गर्दै आएका छन् । किरात राई यायोक्खा केन्द्रीय समिति उपमहासचिवसमेत रहेका उनले सामूहिक रूपमा सुम्निमा कल्चर एकेडेमी, सुम्निमा सेभिङ एन्ड रेमिट, सुम्निमा कलेक्सन सञ्चालनमा ल्याएका छन् भने निकट भविष्यमा सुम्निमा इन्भेस्टमेन्ट प्रालि र सुम्निमा मिनरल्स सञ्चालनमा ल्याउँदै छन् ।

मुन्दुम दर्शनअनुसार किरात राई समुदायले भगवान्माथि विश्वास गर्दैनन् । पुर्खा भएकाले हामी छौं भन्ने उनीहरू विश्वास गर्छन् । सुम्निमा किरात सभ्यताका आदिम महिला पुर्खा हुन् । उनै पुर्खाको सम्मान र सम्झनामा सुम्निमालाई विश्वमै स्थापित गर्न/गराउने अभियानस्वरूप आफूले गर्ने काममा सुम्निमा जोडेको किरात राई सांस्कृतिक कलाकार संघ अध्यक्षसमेत रहेका राईले बताए । राईको सुम्निमा सपनाबारे रातोपाटीले जान्ने प्रयास गरेको छ ।


सुम्निमा कल्चर एकेडेमी

सुम्निमा कल्चर एकेडेमीले नेपाली कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्दै आएको छ । विशेषतः किरात राई समुदायको कला संस्कृति संरक्षण तथा सम्बद्र्धनमा जोड दिँदै आएको छ । त्यतिमात्रै होइन, सम्बन्धित व्यक्तिमा निहित प्रतिभा र कला प्रशिक्षण माध्यमबाट प्रस्फुटन गर्दै स्थापित गर्न/गराउन मञ्चसमेत उपलब्ध गराउँछ ।

संवत् २०६१ मा स्थापित एकेडेमीले गीत, संगीतको अलावा अभिनय, उद्घोषण र भाषणसम्बन्धी तालिमसमेत दिने गरेको छ । उसले सांस्कृतिक भेषभूषा भाडामा उपलब्ध गराउँछ । राई समुदायको सांस्कृतिक भेषभूषा सुम्निमा कल्चर एकेडेमीमा मात्रै पाइन्छ ।

सुम्निमा कल्चर एकेडेमीबाट विभिन्न विधामा सालिन्दा चारदेखि पाँच सयजना प्रशिक्षित हुन्छन् । ऐकेडेमीबाट विभिन्न विधामा प्रशिक्षित रेवत राई, जानुका राई, सागर राई, पदम राई, बबिना किराती, निर्मला पुलामीमगर र रन्जिता लिम्बूजस्ता थुप्रै प्रतिभा स्थापित भइसकेका छन् ।


सुम्निमा सेभिङ  एन्ड कोअपरिट

बचत गर्नु भनेको खर्चमा कटौती गर्दै लैजानु हो । दुई/चार पैसा बचत गरे ब्याज पाइन्छ । सीपमात्रै होइन, जाँगर र इमानदार व्यक्तिले आर्थिक कारणले उद्यम/व्यवसाय गर्न सकेका छैनन् भने सुम्निमा सेभिङ एन्ड कोअपरिटरले ऋण उपलब्ध गराउँछ । पाएको ऋणले सम्बन्धित व्यक्तिलाई व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सघाउँछ ।

सुम्निमा सेभिङबाट ऋण लिएर झन्डै एक हजारजनाले व्यापार/व्यवसाय गर्दै आएका छन् । उसले १७ जनालाई रोजगारी दिएको छ । ‘सहकारी भनेको ‘कम्युनिटी बेस’ मै सञ्चालन गरिन्छ,’ सुम्निमा सेभिङ एन्ड कोअपरिटर सचिव जनक राईले सुनाए, ‘यो ग्राहकभन्दा सदस्यताका आधारमा चलाइन्छ । हाम्रो समुदायका कमैमा बचत गर्ने बानी भएकाले सुम्निमाले सबैलाई बचत गर्नुपर्छ है भनेर सिकाउँछ ।’

प्रत्येक मानिस आर्थिक रूपमा समृद्ध हुनुपर्छ । बचतमात्रै होइन व्यापार/व्यवसाय गर्नसमेत सुम्निमा सेभिङ एन्ड  कोअपरिटरले सिकाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप