शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेनामा भर्ना छनौट अनियमिततामा प्रकरण : २७ जना सैनिक तथा गैरसैनिकमाथि कारवाही

बुधबार, ०६ कात्तिक २०७६, ११ : ४२
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौँ । नेपाली सेनाको भर्ना छनोटका क्रममा आर्थिक लेनदेन गर्ने तथा नक्कली परीक्षार्थी बनेका २७ जनालाई सेनाले कारवाही थालेको छ । तीमध्ये चार जना सैनिक र बाँकी गैरसैनिक रहेको नेपाले सेनाले जनाएको छ ।

नेपाली सेनाले गत साउनमा विभिन्न चालिस वटा भर्ना केन्द्रहरुमा पाँच हजार आठ सय सैन्य पदको भर्नाका लागि आवेदन मागेको थियो । सेनामा भर्ना खुलेपछि केही भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको पाइएको भन्दै व्यापक आलोचना भएको थियो । सोही आशंकामा ४ जना सैनिक तथा २३ जना गैर सैनिक व्यक्तिहरुमाथि अनुसन्धान गरी सेनाले कारवाहीको प्रक्रिया थालेको थियो ।

जसअनुसार नेपाली सेनाको भर्ना केन्द्र श्री उत्तरपश्चिम पृतना हेडक्वाटरमा भएको सैन्य भर्ना प्रक्रियामा नक्कली परिचय पत्र बनाई किर्ते गरेको आशंकामा तीन जना र श्री नं.५ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक जना सैनिकलाई सैनिक निगरानीमा राखी अनुसन्धान शुरु गरेको सेनाले जनाएको छ । सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार छ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सुचना कार्यालले जनाएको छ । 

यसैगरी सैन्य भर्ना केन्द्र श्री नं.२४बाहिनी अड्डा, जुम्ला तथा श्री नं.५ बाहिनी अड्डा, कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाएका चार जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सेनाले जनाएको छ । त्यहाँका वास्तविक उम्मेदवारहरुको पनि खोजी कार्य भइरहेको छ । अन्य ३ भर्ना केन्द्रहरुमा आर्थिक लेनदेनमा संलग्न ४ जना गैर सैनिक व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान थालेको सेनाले प्रस्ट पारेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेदेखि भर्ना छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने कुरालाई जोड दिँदै आएका छन् ।

सोही बमोजिम गत वर्षदेखि भर्ना छनौट प्रक्रियालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रहरुमा भेरिफिकेसन डेस्क राखी बायोमेट्रिक मेसिनको प्रयोग गरी उम्मेदवारहरुको भेरिफिकेसन गर्ने गरिएको  छ । यस्तो व्यवस्थाले नेपाली सेनाको भर्ना छनौट प्रक्रियामा हुने अनियमिततामा कमी आउनुका साथै त्यस्ता कारवाहीले संगठन शुद्धिकरण अभियानमा समेत टेवा पुर्याउने नेपाली सेनाको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप