शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यूएन पार्कको दुर्दशा

बुधबार, ०६ कात्तिक २०७६, १० : २५
बुधबार, ०६ कात्तिक २०७६

पार्कभरि हरियो गन्हाउने झारको झाडी, ठाउँ ठाउँमा फोहोरको डङ्गुर, रूख अनि झारको बाक्लो झाडीका बीचमा सुकेका झिक्रा, दाउराका थुप्रा र निर्माणाधीन अवस्थामा अलपत्र छाडिएको दुईवटा आकाशे पुल यूएनपार्क घुम्न जाने जोकोहीको नजरमा आउने दृश्य हुन् । यूएन पार्कको नाम सुनेर पहिलो पटक घुम्न आउनेलाई नाम अनुसारको पार्क नदेख्दा दिक्क पनि लाग्न सक्छ ।

बालाजुका सन्तोष चालिम्ङ साथीहरूसँग यूएन पार्क घुम्न आएका थिए । यूएन पार्कको नाम सुनेर आए पनि नाम अनुसारको पार्कको सौन्दर्य नभएको उनको भनाइ छ । ‘यति ठूलो पार्कमा एउटा फोहोर शौचालय, जताजतै झाडीले ढपक्क ढोकेर हिँड्न र बस्न नमिल्ने ठाउँ देख्दा अचम्मित भएँ ।’ उनले भने, ‘बालबच्चा खेल्ने, युवा युवती टहलिने, वृद्धवृद्धा आनन्दले डुल्ने बस्ने व्यवस्थित पार्क होला भन्ने लगेको थियो तर त्यस्तो रहेन्छ ।’

यस्तै यूएन पार्कमा हरेक दिनको एक पटक बबरमहलका खिमलाल भण्डारी पुग्छन् । विगत ११ वर्षदेखि नियमित पार्कमा आउने गरेका उनले पार्कलाई व्यवस्थित बनाउन ललितपुर महानगरपालिका र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको ध्यान जान नसकेको बताए । रुखमा झाँगिएका हाँगाबिँगा नकाट्दा हुरीबतास चल्दा पार्कमा हिँड्न समस्या भएको उनले बताए । ‘बर्खासमयमा पार्कमा आउँदा हावाले झाँगिएका रुखका हाँगा खसाल्दा मानिसको भागाभाग भयो,’ उनले भने, ‘हावाले खसालेको झाँगिएका रुखका हाँगालाई व्यवस्थापन नगरेर ठाउँठाउँमा सुकेका काठदाउराको कुहिएका तथा धामिरा लागेको छ ।’

*****

सरकारले संयुक्त राष्ट्र सङ्घीय पार्क (यूएन पार्क) विकास समिति खारेज गरेर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई यूएन पार्कको जिम्मा दिएको हो । सरकारले विकास समितिलाई हस्तान्तरण गरे पनि पार्क व्यवस्थित बन्न सकेको छैन ।

*****

पार्कमा अश्लील क्रियाकलाप गर्ने युवायुवतीको सङ्ख्या बढ्दो छ । मादकपदार्थ सेवन गरेका युवा असभ्य तरिकाले हिँडे पनि सम्बन्धित निकायले ध्यान नदिएको उनले बताए । ‘सबै खालका मानिसहरूले पार्कमा   आनन्द लिन पाउनुपर्छ । अनैतिक क्रियाकलाप गर्ने स्थान बनाउनु हुँदैन । घरमा मात्रै थप्क वृद्धवृद्धा बस्न सक्दैनन्’ उनले भने ।

बबरमहल, शङ्खमूल, पाटन, कुपन्डोल र थापाथली लगायतका स्थानबाट वृद्धवृद्धा दिउँसो डुल्न आउने गरेको भण्डारीले बताए ।   ‘पार्कमा हिँड्ने क्रममा खुट्टा गल्दा जमिनमा न थचक बस्न मिल्छ न ठाउँठाउँमा कुर्सीको राखिएको छ’, उनले भने ।

पार्क भन्ने वितिकै अपाङ्ग, वृद्धवृद्धा र युवायुवती टहलिने आम मानिसले आनन्द लिने स्थल भनेर चिनिन्छ । यूएन पार्कमा सरसफाइ गर्नकै लागि २२ जना कर्मचारी खटाए पनि हरियो घासको झाडी र फोहोर दृश्य पहिला आँखामा पर्छ । 

सरकारले संयुक्त राष्ट्र सङ्घीय पार्क (यूएन पार्क) विकास समिति खारेज गरेर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई यूएन पार्कको जिम्मा दिएको हो । सरकारले विकास समितिलाई हस्तान्तरण गरे पनि पार्क व्यवस्थित बन्न सकेको छैन ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जिम्मा लिएर पनि राम्रोसँग व्यवस्थापन गर्न नसकेको ललितपुर महानगरपालिकाका उपप्रमख गीता सत्यालले बताइन् । ‘पार्कमा कोके का लागि आउँछन् थाहा हुँदैन, सुरक्षा सुरक्षाविहीन जस्तै भयो,’ उनले भनिन्, ‘एकीकृत विकास समितिले पार्कलाई व्यवस्थापन गर्न सक्दैन भने ललितपुर महानगरपालिकालाई जिम्मा दिए व्यवस्थापन गर्छौं ।’

 ललितपुर महानगरपालिकाले एक वार्ड एक पार्कको अवधारणलाई अगाडि बढाएकाले यूएन पार्क ललितपुर जिल्लामा पर्ने भएकाले ब्युटिफिकेसन पार्कसहित व्यवस्थापन गर्ने उनको भनाइ छ ।

 यो पार्क १५ सय ५६ रोपनीमा ललितपुर महानगरपालिकाको शङ्खमूल, ज्वागल र कुपन्डोल र काठमाडौँ महानगरपालि अन्तर्गत थापाथली र त्रिपुरेश्वर टेकु दोभानसम्म फैलिएको छ । सरकारले करिब साढे २ दशक अगाडिदेखि यूएन पार्क समिति गठन गरेर  पार्कलाई व्यवस्थित गर्न नसक्दा बागमती समितिलाई हस्तान्तरण गरे पनि पार्क जस्तो बन्न सकेको छैन ।

अघिल्लो वर्ष बजेट अभावका कारण पार्कलाई व्यवस्थित गर्न नसकेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर प्रभाव श्रेष्ठले बताए । पार्कलाई व्यवस्थित बनाउनका लागि समितिले मास्टर पलान गराइरहको छ, उनले भने, ‘पार्कको छिटै व्यवस्थापन गर्ने गर्छौं ।’ पार्कलाई व्यवस्थित बनाएर प्रवेशका लागि शुल्क लिने व्यवस्थासमेत गर्ने उनको भनाइ छ । पार्क आसपासका मानिस मर्निङवाक गर्ने, दिनहुँजसो म्युजिक भिडियोको सुटिङ हुने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप