शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोको प्रकोप : सियरा लियोनमा एकहप्ते राष्ट्रिय शोक मनाइने

बुधबार, ३२ साउन २०७४, १९ : २३
बुधबार, ३२ साउन २०७४

फ्रिटाउन । सियरा लियोनमा आजदेखि शुरु गरी आगामी हप्तादिनसम्म राष्ट्रव्यापी शोक सप्ताह मनाउन राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले घोषणा गर्नुभएको छ । 

ठूलो झरी र अबिरल वर्षाका कारण गत सोमबारदेखि देशका धेरै ठाउँमा पहिरो र भू–स्खलनमा परी सैयौँको मृत्यु भएको, सैयौँ बेपत्ता भएका र हजारौँ जनता घरबारबिहीन भएका कारण मृत्यु भएकालाई श्रद्धाञ्जली ब्यक्त गर्न उक्त शोक सप्ताह मनाइन लागिएको हो । 

राष्ट्रपति कार्यालयबाट जारी गरिएको एक विज्ञप्तिमा देशभरका सबै कार्यालय तथा विदेशमा रहेका सियरा लियोनका सबै कूटनीतिक नियोगमा रहेका राष्ट्रिय झण्डा १६ देखि २२ अगस्टसम्म आधा झुकाइने छन् । 

साथै, मृतकहरुलाई स्मरण गरी श्रद्धाञ्जली अर्पण गर्न आज मध्याह्नमा एक मिनेट मौन धारण गर्न सम्पूर्ण देशवासीलाई आह्वान गरिएको छ । 

गरिबीले ब्याप्त रहेको यस पश्चिम अफ्रिकी मुलुकको राजधानी फ्रिटाउनको बाहिरी ग्रामीण इलाकामा गत सोमबारदेखि परेको लगातारको ठूलो झरीका कारण ब्यापक क्षेत्रमा पहिरो जाँदा हालसम्म एकतिहाई वालवालिकासहित कम्तीमा दुई सय ९७ जनाको मृत्यु भइसकेको सियरा लियोनको आकस्मिक प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ । 

साथै बेपत्ता भई फेला पर्न नसकेका कम्तीमा छ सय मानिस पहिरोमा पुरिएको अनुमान गरिएको छ । 

त्यस्तै, उक्त वर्षात् र पहिरोका कारण कम्तीमा तीन हजार मानिस घरबारबिहीन भएको सियरा लियोनस्थित अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । मृत्यु हुने, बेपत्ता हुने वा घरबारबिहीन हुनेको सङ्ख्या निश्चय नै बढ्ने अनुमानसमेत गरिएको छ । 

वर्षात् र पहिरो पीडितहरुको उद्धार गर्न सयौँ सुरक्षाकर्मी, स्वयम्सेवकहरु, स्वास्थकर्मीहरु तथा पर्याप्त परिमाणमा डोजर, मेशिन तथा औजारहरु परिचालन गरिएका छन् । स्वयम्सेवकमध्ये ३० जना जति विदेशी उद्धारकर्मी पनि परिचालित भएका जनाइएको छ । 

अफ्रिकी राष्ट्रहरुले विगतका केही वर्षदेखि कुनै ठूला प्राकृतिक विपत्ति बेहोर्नु परेको थिएन । सियरा लियोनको यस घटनालाई विगतका केही वर्ष यताको सबैभन्दा भयावह विपद्को रुपमा हेरिएको छ । 

छिमेकी अफ्रिकी मुलुक नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केन्याका राष्ट्रपति उहुरु केन्याटा, अफ्रिकाली संघका अध्यक्ष मोउसा फकि महम्मतलगायत अन्य थुप्रै अफ्रिकी राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरुले सियरा लियोनका राष्ट्रपति समक्ष तत्कालै सहानुभूति व्यक्त गर्दै खाद्यान्न, लत्ता कपडा, औषधि तथा अन्य उद्धार सामग्रीहरु प्रदान गरी सहयोग गरिरहेका छन् । 

साथै, यस आपद् विपद्को घडीमा सियरा लियोनले बेहोर्नु परेको जनधनको क्षतिप्रति चीनले पनि गहिरो पीडा व्यक्त गर्दै आर्थिक वा अन्य प्रकारको सहयोग गर्ने चासो देखाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप