शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण एसियाली  यू–१६ नेटबल: श्रीलंका च्याम्पियन

मङ्गलबार, ०५ कात्तिक २०७६, १९ : १८
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं– पहिलो संस्करणको दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।

पहिलो क्वार्टरमा ८–८ को बराबरी खेलेको श्रीलंकाले दोस्रो क्वार्टरमा १६–४ को अग्रता बनाएको थियो । यस्तै तेस्रोमा ११–८ ले अग्रता बनाएको श्रीलंका अन्तिम क्वार्टरमा भने ७–८ ले पछि परेको थियो । श्रीलंकालाई प्रभावशाली जित दिलाउन प्लेयर अफ दी म्याच हिरोनी हिसानीले २५ अंकको योगदान गरिन् ।

च्याम्पियनसिपमा घरेलु टोली नेपाल भने चौथो स्थानमा सीमित भयो । तेस्रो स्थानका लागि मंगलबार नै भएको खेलमा माल्दिभ्ससँग ३५–१८ ले पराजित भएपछि नेपाल चौथो स्थानमा सीमित भएको हो । माल्दिभ्सकी अइसाथ नुमी नासिर एक्लैले ३० अंक बटुलिन ।

च्याम्पियनसिपमा श्रीलंकाकी नेथमी दिननायके सर्वोकृष्ट खेलाडी बनेकी छिन् । श्रीलंकालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी नेथमी प्लेअर अफ दी च्याम्पियनसिप चुनिएकी हुन् । श्रीलंकाकै हिरोनी हिसानी सर्वाधिक स्कोरकर्ता बनिन् । उनले च्याम्पियनसिपमा एक सय ५८ अंक जोडेकी थिइन् । यस्तै माल्दिभ्सकी मिस्का अफराह हसन बेस्ट डिफेन्डर घोषित भइन् ।

विजेतालाई नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आयोजक नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए । नेपाल नेटबल संघको आयोजनामा भएको च्याम्पियनसिपमा दक्षिण एसियाका आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप