शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिना नपुग्दै बन्द भयो ई–टिकेटिङ प्रणाली

मङ्गलबार, ०५ कात्तिक २०७६, १८ : ४९
मङ्गलबार, ०५ कात्तिक २०७६

पोखरा– पोखरा महानगरले यात्रुबाहक बसमा लागू गरेको ई–टिकेटिङ सिस्टम बन्द भएको छ । दुई महिना पनि पुरा हुन नपाउँदै यो सिस्टम बन्द भएको हो ।  महानगर प्रमुख मानबहादुर जीसीले भदौ २ गते उद्घाटन गरको इ टिकेटिङ दसैं अघि नै बन्द भएको छ । मेसिनमा प्रयोग भएको नेपाल टेलिकमको सर्भरले काम नगर्दा ई– टिकेटिङ सिस्टम बन्द हुन पुगेको हो ।पोखरा महानगरपालिकाले जनाएको छ । वैशाखको पहिलो सातादेखि नै लागू हुनेगरि ई–टिकेटिङ लागू गर्ने योजना महानगरले ल्याए पनि भदौको पहिलो सातामा मात्रै यो सिस्टम सुरु भएको थियो ।

बागलुङ बसपार्कदेखि बेगनास रुटमा चल्ने नगर बसका चालक नारायण राजवंशीका अनुसार अहिले पोखरा महानगर भित्र चल्ने सबैजसो बसमा यो सिस्टम बन्द भएको छ ।  एक सातादेखि यो सिस्टम सबै नगर बसमा बन्द भएको उनले सुनाए । ‘यो सिस्टम बन्द भएको त थुप्रै भइसक्यो,’ उनले भने, ‘हामीले बन्द गरेको त २०, २२ दिन जति भयो । अरु बसमा पनि एक हप्ता भयो होला ।’

टिकट काट्ने मेसिन नै बिग्रन थालेपछि यो सिस्टम बन्द भएको उनले जानकारी दिए । ‘मेसिनले टिकेट नै नफाल्दिने, ह्याङ हुने, फुल चार्ज गर्यो टिकेट काट्ने बेलामा ब्याट्री इन्ड भएर बस्दिने हुन्थ्यो । त्यसपछि टिकट काट्न छाड्यौ,’ उनले भने । 

अहिले बस व्यवसायी समितिले नै टिकट काट्ने मेसिन फिर्ता माग्न थालेको उनले सुनाए । ‘कोही कोही बाँकी हुनुहुन्छ होला, धेरै जसोले फिर्ता गरि सक्नुभयो,’ उनले सुनाए ।  राम बजार, खाल्टे मसिना रुटमा चल्ने नगर बसका सहचालक मिलन गुरुङका अनुसार मेट्रो कार्डबाट बैंकमा पैसा नै जाने समस्या पनि यो सिस्टममा थियो । ‘यताबाट पैसा चढायो, उता पैसै नजाने,’ उनले भने, ‘सुरु गरेदेखि अहिलेसम्म बैंकमा पैसा नै जम्मा भएको छैन ।’ 

पृथ्वीचोक गण्डकी हस्पिटल चल्ने बसका सहचालक राजन गुरुङका अनुसार यात्रुहरुले पनि यो सिस्टम मन पराएका थिएनन् । ‘कसैले पनि मन पराएका थिएनन्,’ उनले भने, ‘टिकट काट्न खोज्यो ह्याङ हुने चार्ज सकिने । अहिले त बन्द भयो ।’ 

यता पोखरा बस व्यवसायी संघका महासचिव अमृत शर्मा तिमिल्सिना नेपाल टेलिकमको थ्रिजी सेवाका कारण ई–टिकेटिङ केही समयका लागि बन्द भएको छ । ‘एनटिसीको थ्रिजी सेवाको कस्ट एकदम हाइलि भयो,’ उनले भने, ‘ एक, दुई सय रुयैयाँको डाटाले एक महिना पुग्ला भनेको ३ दिन पनि पुुगेन ।’ 

पोखरा महानगरभित्र ३० रुट छन् । ती रुटमा ८ सय सवारी चल्छन् । ८ सय सवारी मध्ये १० प्रतिशत सवारीमा जडान गरिएको ई–टिकेटिङ मेसिनमा समस्या देखिएको उनले स्वीकार गरे । ‘लगभग १० प्रतिशत जति सवारीका मेसिनमा समस्या देखियो,’ उनले भने, ‘ती मेसिनका बेट्री छिटै तातिने र तिनका मदर बोर्डमा पनि समस्या देखिए ।’

यद्यपि ती सबै समस्या भने अहिले समाधान भई सकेको उनले दाबी गरे । मेसिन सहचालकले घाँटीमा पहिरने गरेकोमा खसेर फुट्ने जोखिम रहने हुँदा गाडिमा फिक्स गरेर राख्नु पर्ने देखिएको उनले सुनाए ।  तिहारपछि इ टिकेटिङ सिस्टम पुन सञ्चालनमा आउँने उनले जानकारी दिए । तत्कालको लागि इ टिकेटिङ सिस्टम बन्द भए पनि यो सिस्टमा लागु गर्ने पर्ने पक्षमा आफूहरु रहेको उनले दाबी गरे । ‘एकदम, हामी त हन्ड्रेड प्रसेन्ट यो सिस्टम लागु गर्ने पक्षमा छौं,’ उनले भने, ‘यो समयमा आएर प्रविधि बिना कुनै पनि काम सम्भब छैन । हामीले गर्ने कामहरु प्रविधि मैत्री हुनुपर्छ ।’

ई टिकेटिङ प्राविधिक सहयोगी एनक्लाउडका सिइओ दीपेन्द्रनारायण श्रेष्ठका अनुसार बैंकिङ पार्टनर मर्ज भएको हुनाले पनि समस्या देखिएको हो । ‘हाम्रो बैंकिङ पार्टनर मर्जमा गएको हुनाले पनि अलिकति समस्या देखियो, त्यो उहाँहरुकै इन्टरनल कुरा हो,’ उनले भने, ‘दोस्रो हाम्रो व्यवसायी साथीहरु पनि रिभ्यु गर्ने भन्ने कुरा पनि होला । इ टिकेटिङ हामी तुरुन्तै सञ्चालनमा ल्याउँछौं ।’ पोखरा महानगरमा इ टिकेटिङ सुरु गर्नु अघि इ टिकेटिङको बैंकिङ पार्टनर ओम डेभलपमेन्ट बैंक थियो । अहिले ओम बैंक एनएमबी बैंक संग मर्ज भएको छ । 

अबको एक साता भित्रमा पुन यो सिस्टम सुरु गरिने उनले सुनाए । ‘यो पनि एउटा मोबाइल जस्तै हो, एनरोइड डिभाइस हो,’ उनले भने, ‘मोबाइल पनि धेरै चलाए ह्याङ हुन्छ नि त ! त्यो पनि हामीले प्राविधिक सबै सल्भ गरि सक्यौ ।’ महानगरभित्र चल्ने ८ सय सवारीमध्ये १० सवारीका डिभाइसमा मात्रै समस्या देखिएको उनले स्पष्टिकरण दिए । बिग्रिएका सबै डिभाइस अहिले मर्मत गरि सकेको उनले सुनाए ।

पोखरा महानगरपालिकाका यातायात शाखा प्रमुख सुरेन्द्र पौडेलले प्राविधिक समस्याका कारण केही समयका लागि इ टिकेटिङ रोकिएको बताए । ई टिकेटिङ जडान गरेका बसमा अनिवार्य थ्रिजी सेवा लाग्नुपर्ने हुन्छ । नेपाल टेलिकमको थ्रिजी सिम ई टिकेटिङ डिभाइसमा जडान गरेपछि मात्रै मेट्रो कार्डको पैसा बैंकमा जम्मा हुन्छ । तर, थ्रिजी नचलेपछि सर्भरमा कनेक्ट नहुँदा बैंकमा पैसा जम्मा हुन सकेको थिएन । थ्रिजी चलेका डिभाइसमा पनि सहचालकले युट्युव, फेसबुकजस्ता सामाजिक सञ्जाल प्रयोग गरिदिँदा डाटा छिटो सकिने गरेको उनले सुनाए । 

सहज रुपमा थ्रिजी सेवा जडान गरिदिनका लागि नेपाल टेलिकमलाई पत्राचार गरि सकेको उनले जानकारी दिए । प्राविधिक समस्या सुल्झाउनका लागि महानगरले इ टिकेटिङ प्राविधिक एनक्लाउडलाई पनि पत्राचार गरि सकेको उनले बताए । 

ई–टिकेटिङ सिस्टमबाट महानगरलाई मात्र नभए व्यवसायीहरुलाई पनि फाइदा हुने उनले जिकिर गरे । ‘इ टिकेटिङ लागु नहुदै व्यवसायीले दिनको ५ सय मात्र बुझ्थे भने यो सिस्टम लागु भई सकेपछि २५ सय ३ हजारसम्म बुझ्नुहुन्छ,’ उनले भने, ‘दिनभरमा कतिको कारोबार भयो भन्ने त उहाँहरुले घरमै बसि बसि हेर्न सक्नुहुन्छ । त्यसकारण यो सिस्टम व्यवसायीहरुको हितमा पनि छ ।’ पौडेलले तिहार लगत्तै पुनः सबै नगर बसमा ई–टिकेटिङ सुरु हुने बताए । इ टिकेटिङ सुरु भए यता १० हजार बढी नगरबासीले मेट्रो कार्ड लिई सकेको उनले सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप