बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीसँगको सहमति तोडिएको छैन : प्रचण्ड

मङ्गलबार, ०५ कात्तिक २०७६, १३ : १७
मङ्गलबार, ०५ कात्तिक २०७६

पाँचथर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा भएका सहमतिहरु कसैले नतोडेको बताएका छन् । ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौ ।

कसैले पनि सहमति तोडेको छैन’ मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन नभएको भए पार्टी एकता घोषणा भएर यो अवस्थासम्म  नआइनपुग्ने दावी गरे । उनले मुलभूत रुपमा सहमति कार्यन्वयन गरेरै आज दुई पार्टी मिलेर नेकपा बनेको पनि बताए । 

केही दिनयता प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमति कार्यन्वयन नभएको भन्दै आरोप प्रत्यारोप चलेको थियो । तर प्रचण्डले मंगलबार मिडियामा आएका कुराहरु भ्रममात्रै भएको दावी गर्दै होहल्ला र प्रचारबाजीको भर नपर्न आग्रह गरे । 

उनले आफु र अर्का अध्यक्ष ओलीबीच सहमतिमै सबै कुरा अगाडि बढिरहेको भन्दै आगामी महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्न तयार रहेको पनि बताए । ‘मिडियामा आएका कुराहरुलाई लिएर भ्रममा नपर्न आग्रह गर्छु । हामी समझदारीबाटै अघि बढ्छौ’ प्रचण्डले भने, ‘हिजोमात्रै पनि प्रधानमन्त्रीसँग दुई घण्टा मेरो कुुराकानी भयो । वातावरण सकारात्मक छ । अब छिट्टै सहमति कार्यान्वयन हुन्छ ।’

प्रचण्डले मन्त्रिमण्डल विस्तारको कुरा प्रधानमन्त्रीको कार्यक्षेत्र भित्र पर्ने भएकाले आफुले त्यसमा केही नबोल्ने टिप्पणी गरे । उनले शान्ति प्रकृयाका बाँकी काम टुङग्याउने क्रम पनि अन्तिम चरणमा पुगेको बताए ।

‘यसका लागि प्रमुख राजनीतिक दलहरु सबै तयार छौ यो पक्रिया चाडै टुङ्गिन्छ’ प्रचण्डको भनाई छ । उनले पार्टी एकता प्रकृया ढिला भएपनि निश्कर्षमा पुगेको भन्दै पार्टी एकता प्रकृया सकिएसँगै जिल्लामा प्रशिक्षण चलाउन थालिएको र जिल्ला पछि केन्द्रमा प्रशिक्षण चलाएर सरकारको पहिलो बर्ष आधार बर्षका रुपमा लिदै आगामी बर्ष विकास र सम्मृद्धिको बर्षका रुपमा रहने विश्वास व्यक्त गरे । 

प्रचण्डसँगै महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि प्रशिक्षणका लागि मंगलबार पाँचथर पुगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप