शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसवर्ष पनि समयमै बजेट खर्च गर्न सरकारलाई सकस पर्ने, राजस्व लक्ष्य भेट्टाउन मुस्किल

मङ्गलबार, ०५ कात्तिक २०७६, १० : ५३
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं । समयमै बजेट खर्च गर्न नसक्दा आलोचित हुँदै आएको सरकार यस पटक पनि यो आलोचनाबाट मुक्त हुने संकेत देखिएको छैन । सरकार समयमै बजेट खर्च गर्न अक्षम हुने संकेत महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले दिएको हो । 

सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास (कात्तिक ३ गतेसम्म) मा ११.८० प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । हालसम्म १ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
चालु वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । पहिलो त्रैमासमा झण्डै १२ प्रतिशतले बजेट खर्च हुनुले यस पटक पनि सरकार समयमै बजेट खर्च गर्न असफल हुने संकेत देखिएको हो । 

तीन महिनामा पुँजिगत खर्च ४.५३ प्रतिशत अर्थात १८ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ । जबकी चालू वर्षका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्च छुट्याइएको छ । 

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने गरी बजेट ल्याएको भनिरहँदा विकास खर्च गर्ने परम्परा भने सुध्रिएको छैन । सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । 

राजस्व संकलनको लक्ष्य भेट्टाउन कठिन
सरकारले चालु वर्ष ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, तीन महिनासम्मको अवस्था हेर्दा यो लक्ष्य भेट्टाउन सरकारलाई कठिन पर्ने देखिन्छ । सरकारले तीन महिनामा १६.४३ प्रतिशत राजस्व संकलन गरेको छ ।

देश संघीयता कार्यान्वयनको दोस्रो वर्षमा छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यसबेलासम्म धेरै समस्या र विवादहरु समाधान भएको बताउँदै आएका छन् । नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्नका लागि पनि सरकारले समयमै विकास खर्च गर्नुपर्ने चुनौती छ ।

सन् २०२१ सम्ममा देशलाई विकासोन्मुख मुलुक र सन् २०३० सम्ममा मध्यम आय भएको मुलक बनाउने भनिएको छ । 

सरकारले चालु वर्षको बजेट कार्यान्वयनबाट उच्च आर्थिक बृद्धिको जग दिगो हुने भने पनि बजेट खर्च र अपेक्षित राजस्व संकलन नभई सरकारको लक्ष्यलाई धक्का लाग्ने देखिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप