बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले दुई अन्तर्राष्ट्रिय कम्पनीसँग विद्युत् खरिद–बिक्री सम्झौता गर्ने

मङ्गलबार, ०५ कात्तिक २०७६, १० : ३०
मङ्गलबार, ०५ कात्तिक २०७६

भारतीय कम्पनी जिएमआरले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले दुई अन्तरराष्ट्रिय कम्पनीसँग विद्युत् खरिद–बिक्री सम्झौता गर्ने भएको छ । 

जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले तीन महिनाभित्र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय एनभीभीएनसँग विद्युत् खरिद–बिक्री सम्झौता गर्न लागेको हो । ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन लागेको जिएमआरले आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने जनाएको छ ।

कम्पनीले माथिल्लो कर्णालीबाट उत्पादन हुने ५०० मेगावाट बिजुली बंगलादेश र २९२ मेगावाट भारतीय एनभीभीएनलाई बिक्री गर्ने तयारी भएको जनाइएको छ ।  बाँकी १०८ मेगावाट विद्युत् नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराउनेछ ।

जिएमआरले आयोजनाको २७ प्रतिशत सेयर नेपाल विद्युत् प्राधिकरणलाई दिने र  सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता गरेको थियो । सकारले आगामी १० महिनाभित्रै मुआब्जा र साइट क्लियर लगायतका काम सकेपछि कम्पनीले बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । 

यो आयोजना अछाम, दैलेख र सुर्खेत जिल्लामा पर्छ । आयोजना निर्माणको लागि दुईवटा सुरुङमार्ग निर्माण गर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले आयोजना सञ्चालनको लागि हालसम्म २ अर्ब ५० करोड रुपैयाँ लगानी गरिसकेको जनाएको छ । जिएमआरले इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन (इपीसी) मोडलमा एक अर्ब ५० करोड अमेरिकी डलर लागतमा यो आयोजना निर्माण गर्न लागेको हो ।

निर्माण कार्य सुरु भएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास लिइएको छ । नेपाल सरकार र जिएमआरबीच सन् २००८ मा यो आयोजना बनाउने विषयमा सम्झौता भएको थियो । त्यस्तै सन् २०१४ मा पिडिए सम्झौता भएको थियो । आयोजनाबाट उत्पादित बिजुली ४०० केभीको ९९ किलोमिटर डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरेर भारत तथा बंगलादेश निर्यात गरिनेछ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप