मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हवाई यात्रामा किन हुँदैछ ‘डिले’ ?

सोमबार, ०४ कात्तिक २०७६, १७ : १०
सोमबार, ०४ कात्तिक २०७६

गएको दशकमा नेपालमा आमूल परिवर्तन भएको क्षेत्र हवाई सेवा हो । जहाजबाट यात्रा गर्ने कल्पना पनि गर्न नसक्ने तप्काका नागरिकले अहिले सहजै नियमित हवाई यात्रा गरिरहेका छन् ।

पहिले सडक सञ्जाल नजोडिएका गन्तव्यमा सरकारी कर्मचारी र विदेशी पर्यटकको मात्र पहुँच थियो । तर गएको दशकमा यति सर्वसुलभ भयो कि चाहना हुने प्रायले उपयोग गर्न थालेका छन् । हवाई सेवा कुनै बेला बाध्यता र प्रतिष्ठाको विषय थियो तर अहिले आवश्यकता बनिसकेको छ ।

यो सबै कसरी भयो ?

यसको मुख्य कारण हवाई सेवाको मूल्यमा स्थिरता हो । अर्थात् लामो समयदेखि देशमा अन्य सबै वस्तु तथा सेवाको मूल्य बढ्दा पनि हवाई सेवाको स्थिर छ । एयरलाइन्सहरुले भाडा त बढाएका छन्, तर पनि यात्रुहरुले सस्तोमै टिकट पाइरहेका छन् ।

अहिलेको समयमा ५३ प्रतिशत बजार हिस्सा ओगटेको बुद्ध एयरको यसमा ठूलो भूमिका छ । लामो समयदेखि बजारमा एक नम्बर अपरेटरको रुपमा रहेको बुद्ध एयरले गएको वर्ष २८ लाख हवाई यात्रुमा एक्लैले १५ लाख बढीलाई सेवा दिएको थियो ।

आजभन्दा दुई दशक अगाडिको भाडामा अहिले पनि यात्रुले यात्रा गर्न पाएका छन् । दशक अघि काठमाडौं–विराटनगरको भाडा १६ सय रुपैयाँ थियो । अहिले निर्धारित भाडा त बढी छ । तर बुद्धले अहिले पनि रु ३५०० कै हाराहारीमा टिकट बेचिरहेको हुन्छ । जबकि सञ्चालन तथा इन्धन खर्चमा व्यापक वृद्धि भएको छ ।

राष्ट्र बैंकको महँगी वृद्धिदर हेर्ने हो भने, गएको दशकको औषत मूल्यवृद्धि ५ प्रतिशत भन्दा बढी छ । यस हिसाबले टिकटको मूल्य दोब्बर बढी हुनुपर्छ । तर पनि यात्रुहरुले करिब करिब उहि मूल्यमै यात्रा गर्न पाईरहेका छन् । त्यही कारणले पाँच वर्षमै हवाई यात्रु दोब्बर अर्थात् १४ लाख थपिएका छन् । टिकटको मूल्य सस्तो हुँदा हवाई बजार ज्यामितीय आकारमा बढेको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी भन्छन् ।

सर्वसुलभ हवाई सेवामा डिले बहस

तर पछिल्लो समय हवाइ सेवाका बारेमा व्यापक बहस शुरु भएको छ । विशेषगरी तोकिएको समयमा उडान नहुने समस्या बढ्दै गएपछि यात्रुहरु असन्तुष्ट हुन थालेका छन् ।
असन्तुष्ट यात्रुको मुख्य तारोमा परेका छन् एयरलाइन्स र तिनका कर्मचारी ।

तर यो कति जायज हो? के एयरलाइन्स नै मुख्य दोषी हुन् ? यो पक्कै होईन ।

किन हुन्छ उडान ढिला?

१. पूर्वाधार अभाव
उडान तथा सेवा सञ्चालनसँग जोडिएका सबै सरोकारवाला निकायहरुको डिले हुने वा नहुनेसँग थोरबहुत सबैको जिम्मेवारी हुन्छ । चार दशक अगाडि डिजाइन गरिएको काठमाडौंको त्रिभुवन विमानस्थलले अहिलेको बजारलाई धान्नै नसक्ने अवस्थामा पुगेको छ । स्वयम् विमानस्थल कार्यालयले नै यो कुरा स्वीकार छन् ।

‘केही वर्षदेखि समयमै उडान नहुने समस्या बढ्दै गएको छ । जब हवाई बजार बढ्न थाल्यो तब यस्तो भएको हो । विमानस्थलमा भएको पुरानो पुर्वाधारले धान्ने बेलासम्म सबै ठिक थियो । बजार पनि सानो थियो । तर अहिले समय फेरिएको छ । एउटै एयरलाइन्सले अहिले दिनमा सय बढी उडान भर्छन् । यस्तोमा स्वभाविक रुपमा अस्थिर मौसमी प्रणाली तथा भिभिआइपी मुभमेन्टको समय झनै बढ्ने गर्छ’ विमानस्थलका प्रवक्ता प्रताप तिवारीले भने ।

विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, पार्किङ वे र टर्मिनल साँघुरा बन्दै गएका छन् । जाहाज पार्किङ गर्ने ठाउँ नभएकै कारण कति जहाज आकाशमै होल्डमा बस्नुपर्ने बाध्यता छ ।

साँघुरो विमानस्थल काठमाडौंमात्र होइन बाहिर पनि नहुँदा डिले बढ्दै गएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलको भनाइ छ ।

’पूर्वाधार ४० वर्ष अघिको छ, जतिबेला नेपाल एयरलाइन्सलेमात्र सेवा दिन्थ्यो । तर अहिले १७ कम्पनी पुगेका छन् । अन्तर्राष्ट्रियमा पनि उत्तिकै कम्पनी थपिएका छन् । यस्तोमा डिले अहिले मात्र होइन यस्तो अवस्था हुन्जेल अझै हुन्छ’ कँडेलले भने ।
२. मौसम
सँधैजसो डिले हुनुको अर्को कारण हो मौसम । काठमाडौंको मौसम बिहान ढिला खुल्दा दिनभरका उडान ढिला हुन्छन् । बिहानको एउटा उडान केहीगरी २ मिनेट ढिला भयो भने बेलुकाको उडान ३ घण्टासम्म ढिला हुने वायुसेवा सञ्चालक संघका प्रवक्ता कँडेलको भनाइ छ । उनका अनुसार एउटा उडान २ मिनेट ढिला भएमा दिनभर हुने ५० उडानमा त्यो १०० मिनेट पुग्छ ।

काठमाडौंको मौसम पुरै नखुली आइएफआर सिस्टमबाट उडान गराउनुपर्ने भएमा उडान दिनभर प्रभावित हुन्छ । भिएफआरमा घण्टामा ३० उडान ह्यान्डल गर्ने विमानस्थलले आइएफआर हुनेवित्तिकै १० मा झर्छ । यदि यस्तो प्रणाली एक घण्टामात्र रहेमा दिनभरको उडान भद्रगोल हुन्छ ।

त्यस्तै सुरक्षित उडान भर्नका लागि ती २ गन्तव्यबाहेक पनि वैकल्पिक एयरपोर्ट खुलेको हुनुपर्छ । त्यो नभएमा पनि उडान डिले हुन्छ ।

त्यस्तै अर्को समस्या हो रात्रिकालिन उडान नहुने विमानस्थलमा एयरलाइन्सहरुले दिउँसै उडान सक्न खोज्छन् । त्यसो हुँदा रात्रिकालिन उडान हुने विमानस्थलका उडानहरु झनै डिलेमा पर्छन् ।

३. मर्मतसम्भार र नोटाम 
उडान ढिला हुनको अर्को कारण हो विमानस्थलका संरचना मर्मतसम्भार । यस्तो समयमा विमानस्थल प्रशासनले केही समयमा लागि उडान तथा अवतरण बन्द गराउँछ । त्यसपछि उपलब्ध सिमित समयमा धेरै उडान हुँदा स्वभाविक रुपमा ढिला हुन्छ ।

जस्तो गएको वर्ष काठमाडौं विमानस्थलको धावनमार्ग निर्माणको काम थियो । त्यतिबेला राति १० बजेदेखि बिहान ६ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । अबको केही समयमा ट्याक्सी वे निमार्णका लागि त्यस्तैगरी विमानस्थलले नोटाम जारी गर्दैछ । यसरी विमानस्थल बन्द हुँदा त्यही समयभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सक्नुपर्ने हुन्छ । फगत एयर ट्राफिकका कारण उडानहरु डिले हुनजान्छ ।

त्यसपछि अर्को हो उच्चपदस्थको उडान । यस्तो समयमा पनि विमानस्थलले नोटाम जारी गरि घण्टौं व्यावसायकि उडानहरु बन्द गराउँछ ।

समाधान के हो ?
विमानस्थल प्रशासनले यसमा सुधारका लागि तत्काल पार्किङ वे थप गर्ने काम गरिरहहेको छ । त्यस्तै ट्याक्सी वे मर्मत तथा अन्य पूर्वाधार मर्मतको काम भइरहेको बताएको छ ।

‘हामिले एटिसीको केही क्षमता विस्तार ग¥यौ भनेपनि थोरै क्षमता बढ्छ । त्यस्तै पार्कीङ वे र ट्याक्सी वे को काम सकिएपछि केही राहत हुन्छ’ विमानस्थल प्रवक्ता तिवारीले भने ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर पनि पूर्वाधारमा केही स’धार जरुरी भइसकेको बताउछन् । उनले ट्याक्सी वे रनवे को इन्ड टु इन्ड हुनुपर्ने तथा अन्य पूर्वाधारको तत्काल विस्तार हुनुपर्ने बताउछन् ।

डिले अझै हुन्छ !
सुधारका प्रयास जसले जति गरेपनि तत्कालै डिले आवर घट्ने सम्भावना भने न्यून छ । सुधारका काम पुर्वाधारकै हुन् । उडान संख्या थप नभएपनि घट्ने छैनन् । यस्तोमा तत्काल जादु नै गरे पनि डिले आवर जिरोमा झर्ने सम्भावना छँदै छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप