शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कात्तिक ७ गते पाउला त नेविसंघले नेतृत्व ?

सोमबार, ०४ कात्तिक २०७६, १६ : ४५
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं–नेपाली काँग्रेसका शीर्ष नेताहरु नेपाल विद्यार्थी संघ (नेविसंघ)को नयाँ नेतृत्व ल्याउन करिब सहमति नजिक पुगेका छन् । 

माघ २८ गते संघको ११ औँ महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ ८ महिनादेखि नेतृत्वविहीन छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार भएको छलफलमा ६ महिनाभित्र संघको १२ औँ महाधिवेशन गराउने ‘टाइमलाइन’सहित नयाँ नेतृत्व ल्याउन लागिएको हो ।

 छलफलमा  सभापति देउवाले एक वर्षभित्र महाधिवेशन गर्ने गरी नेविसंघको नयाँ कमिटीका लागि  प्रस्ताव गरेका थिए । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ६ महिनाभित्र महाधिवेन गर्ने गरी आयोजक समिति गठनको प्रस्तावअघि सारेको काँग्रेस नेता अर्जुन नरसिंह केसीले रातोपाटीलाई जानकारी दिए । 

साथै पौडेल पक्षीय नेताहरुले संघको केन्द्रीय समिति र पदाधिकारी कति जनाको हुने र त्यसका लागि मापदण्ड बनाउनुपर्ने धारणा समेत राखेका थिए । त्यसपछि सभापति देउवाले ६ महिनाभित्रै महाधिवेशन गराउने गरी समिति ल्याउन तयार भएको बताइएको छ । तर उनले पूर्ण कमिटी ल्याउने तयारीमा रहेको जानकारी  गराएका थिए । त्यही अनुसार देउवाले अध्यक्षबाहेक अन्य सदस्यहरूको नाम दिन नेता पौडेल पक्षलाई आग्रह गरेका थिए । 

छलफलमा सहभागी देउवा निकट  एक नेताका अनुसार सभापति देउवाले अध्यक्षमा संघका पूर्वउपाध्यक्ष राजीव ढुंगानाको नाम सारेका छन् । तर  पौडेल पक्षले अध्यक्ष आफूले पाउनु पर्ने भन्दै ११ औँ महाधिवेशनमा महरसँग पराजित मनोजमणि आचार्यको नाम प्रस्ताव गरेका थिए । 

देउवा पक्षले अध्यक्ष दिन राजी नभएपछि आचार्यलाई महामन्त्रीमा ल्याउने गरि सहमति भएको बताइएको छ । देउवाले सुरुमा कैलालीका पुष्प कुमार शाहीलाई ल्याउन खोजेका थिए । तर उपसभापति विमलेन्द्र निधिलगायतका मधेश क्षेत्रका नेताहरुको जोडबलमा राजीवमा देउवा राजी भएका हुन् ।

भागबण्डाका आधारमा महामन्त्रीमा तीन जना आउने छन् । जसमा आचार्य, निर्वमान महामन्त्री कुन्दन काफ्ले र यसअघिका सभापतिमै उम्मेदवारी दिएका शुभराम बस्नेलाई  ल्याउने मोटामोटी सहमति भएको ती नेताले जानकारी दिए । ती नेताले तर महामन्त्री केहीको नाम फेरबदल पनि हुन सक्ने बताएका छन् । 

यद्यपि नेता केसीले भने महाधिवेशनलाई केन्द्रित गरी प्याकेजम निर्णय नभएकाले नेविसंघको नयाँ कमिटी ल्याउने कुरामा पूर्ण सहमति नभएको बताए । ‘महाधिवेशनलाई केन्द्रित गरी सबै मुद्दालाई प्याकेजमै निर्णय गर्नुपर्छ भन्ने माग हामीले राखेका हौँ । उहाँहरुले नेविसंघको मात्र विषयमा निर्णय टुंग्याऔं भन्नुभयो । त्यसमा पूर्ण सहमति हुन सकेको छैन । केन्द्रीय समिति बैठकसम्म एक खालको सहमति हुन्छ होला ।’ 

म्याद सकिएका भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क समितिको ६ महिनाभित्र अधिवेशन गर्नका लागि तयारी समिति गठन गर्न आफूहरुले माग गरेको केसीले बताए ।

 उपनिर्वाचनको तयारीका लागि कार्तिक ७ गतेलाई डाकिएको केन्द्रीय समिति बैठकबाट नेविसंघमा पनि नयाँ नेतृत्व ल्याउन देउवा पक्षले तीव्र तयारी गरेको हो । 

देउवा पक्षले पौडेल पक्षबाट नाम नआए बहुमतबाटै नेविसंघको नयाँ कमिटी घोषणा गर्ने तयारी समेत गरेको छ । पछिल्लो समय पौडेल पक्षले समय सकिएका सबै भ्रातृ संगठन र पार्टीको १४ औँ महाधिवेशनको समय सीमाबारे प्याकेजमै सहमति गरेर अगाडि बढ्ने रणनीति तय गरेका थिए ।

तर आइतरबारको बैठकमा त्यो रणनीति पूरा हुन सकेन । सो छलफलमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला गृह जिल्ला झापामा रहेकाले सहभागी थिएनन् । बैठक अघि उनीसँग नेविसंघको विषयमा देउवा पक्षले छलफल गर्नेछ ।

कांग्रेसका १३ भातृसंस्था छन् । ती सबैजसोको म्याद सकिएको छ । कतिपय भ्रातृसंस्थाको १२ वर्षदेखि महाधिवेशन हुन सकेको छैन । तिनीहरूको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तयारी समिति गठन गर्नुपर्ने पौडेल पक्षको माग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप