शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ठूला आवाज निकालेर चलाइने मोटरसाइकललाई कारबाही गरिने

सोमबार, ०४ कात्तिक २०७६, १४ : १६
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएको छ ।

महाशाखाले एक सूचना जारी गर्दै मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएको भन्दै कारवाही गर्ने भएको हो । 

जारी सूचनामामा उल्लेख भएअनुसार मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र सडकमा आवाज निकालेर चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिनेछ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिने तथा सर्बसाधारणमा अनावश्यक आवाजका कारण समस्या भएकाले रोक लगाउन लागिएको जानकारी दिए ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र मात्र नभई देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गर्ने ढकालको भनाइ छ । 

ठूलो आवाजका कारण ध्वनी प्रदुषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नुपरेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नुपरेको बताइएको छ । 

मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ्ग, असशक्त तथा बिरामीहरु तर्सिने गरेका छन् । ती बाइकहरु तिव्र गतिमा कुदाइने र त्यसमा ठुलो आवाज हुने भएकाले मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु बेहोस समेत हुने गरेको पाइएको छ । 

महाशाखाका अनुसार अहिले दैनिक ४० देखि ५० वटा मोटरसाइकल कारबाहीमा पर्ने गरेका छन् । त्यसरी समातिएका मोटरसाइकलहरुलाई जरिवाना स्वरुप १ हजार रुपैयाँ समेत लिने गरिएको छ ।

समातिएका मोटरसाइकलहरु मध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकलहरुलाई चलाउन रोक लगाएको छ । त्यसैगरी मोडिफाइ गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकलहरुलाई भने पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता रविराज पौडेलले जानकारी दिए । 

कतिपय मोटरसाइकल, कम्पनीबाट आउँदै ठूलो आवाज निस्किने डिजाइनमा बनेका हुन्छन् । ती रेसिङ र पहाडी क्षेत्रमा कुदाउनका लागि बनेका हुन् । यद्यपि, त्यस्ता मोटरसाइकलहरु उपत्यकामा कुदाइने गरिएको छ । ठूला आवाज निकाल्ने मोटरसाइकलहरुमा डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायतका बाइकहरु पर्दछन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप