बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

झिलिमिली तिहार : बत्तिको नो टेन्सन !

यसपटक पनि कुलमान आफैँ खट्ने
सोमबार, ०४ कात्तिक २०७६, १३ : ४१
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौँ । ‘झिलिमिली’को चाड भनेर चिनिने तिहार नजिकिएको छ । अबको केही दिनमै तिहारले छपक्क छोप्दै छ । तिहारमा सबैतिर झिलिमिली बत्ती बाल्ने गरिन्छ । परम्परागत दीयो, दियालो र मैनबत्तीले घरआँगन सजाउने परम्परा भए पनि पछिल्लो समय बढ्दो आधुनिकतासँगै हाम्रो संस्कृतिमा समेत बदलाव आएको छ । अहिले तिहारमा परम्परागत दीयो, दियालोभन्दा पनि आधुनिक बत्तीहरुको प्रयोग र माग उच्च हुन थालेको छ । यसले विद्युत खपतको माग समेत उच्च गराएको छ । तिहारलाई विद्युत खपत र लोडका हिसाबले विद्युत व्यवस्थापनको मुख्य चुनौतीको समय मानिन्छ ।


कति हुन्छ विद्युत खपत ?

तुलनात्मक रुपमा सामान्य दिनको तुलनामा तिहारको समय विद्युत खपतको दर झण्डै ८० प्रतिशतले बढ्ने गर्छ । विशेषगरी लक्ष्मी पूजाको दिन विद्युत खपत उच्च रहन्छ । लक्ष्मी पूजाको दिन देशैभर करिब १३ सय मेगावाटसम्म विद्युत खपत हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ ।

अहिले प्राधिकरणसँग उपलब्ध ९ सयदेखि एक हजार मेगावाटले नधान्ने अवस्था आए दुई सयदेखि तीन सय मेगावाट विद्युत भारतबाट आपूर्ति गर्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक(सिईओ) कुलमान घिसिङले बताए ।

‘तिहारमा बत्ती धेरै खपत हुन्छ । लोड धेरै पर्छ र विद्युत वितरणमा समस्या आउँछ भनेर नेपालीले चिन्ता नलिए हुन्छ । विद्युत प्राधिकरण जिम्मेवार छ । हामीले त्यसको व्यवस्थापन गरेका छौं,’ सिईओ घिसिङले भने, ‘तिहारमा अधिकतम १२ सय देखि १३ सय मेगावाटसम्म विद्युत खपत हुनसक्ने प्राधिकरणको अनुमान छ । सरदर हजार मेगावाटसम्म खपत हुने हो, त्यो हाम्रै उत्पादनले धान्न सक्छ । यदि त्योभन्दा माथि गए बाहिरबाट विद्युत आपूर्तिको व्यवस्था गरेका छौं ।’

घिसिङका अनुसार नपुग दुई सयदेखि तीन सय मेगावाट विद्युत भारतबाट आपूर्ति गर्ने तयारी गरिएको छ । तिहारका बेला देशमा कलकारखाना तथा उद्योगधन्दाहरु बन्द हुने हुँदा विद्युत खपतसमेत कम हुने उनको भनाइ छ । त्यसैले तिहारमा नेपालीहरुले जति बाले पनि विद्युत वितरणमा समस्या नआउने घिसिङको भनाइ छ ।

सहज विद्युत वितरणका लागि कर्मचारी स्ट्याण्डबाई

तिहारको समयमा विद्युत खपत, लोड र विद्युत वितरणमा आउन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै कर्मचारी स्ट्यान्डबाई राखिने घिसिङले बताएका छन् । जहाँ समस्या आयो त्यहाँ तत्काल आपूर्ति सहजिकरण गर्न कर्मचारी खटाइने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।

तिहारका बेला सहज विद्युत वितरणका लागि व्यवस्थापनमा आफू स्वयम् खट्ने उनको योजना छ । त्यसो त घिसिङ तिहारकै बेला काठमाडौँलाई लोडसेडिङ्गमुक्त बनाएर चर्चामा आएका थिए । उनले २०७४ सालको तिहारमा काठमाडौँ उपत्यकालाई लोडसेडिङ्गमुक्त घोषणा गरेका थिए । पछि घिसिङले देशका अन्य मुख्य सहरलाई समेत लोडसेडिङ्गमुक्त बनाउँदै देशलाई नै लोडसेडिङ्गमुक्त बनाउने महाअभियानमा लागेका थिए । अहिले पुरै देश लोडसेडिङ्गमुक्त बनेको छ ।

४० प्रतिशत विद्युत खपत काठमाडौँमै

तिहारका बेला अधिकतम विद्युत खपत काठमाडौँमा हुने प्राधिकरणको अनुमान छ । देशैभरीको विद्युत खपत र मागको दरलाई हेर्दा पूर्ण प्रतिशतको करिब ४० प्रतिशतमात्र काठमाडौँ एक्लैले गर्ने देखिन्छ । त्यसोत अन्य सामान्य दिनहरुमा पनि अन्य क्षेत्रहरु भन्दा काठमाडौँको विद्युत खपतको दर उच्च रहने गर्छ । यस बेला ३५० देखि ४०० मेगावाट विद्युत काठमाडौँमा खपत हुने विद्युत प्राधिकरणले जनाएको छ । अरु बेला काठमाडौँमा दुई सयदेखि अधिकतम तीन सय मेगावाट विद्युत खपत हुने गर्छ ।

तिहारलाई नै लक्षित गर्दै प्राधिकरणले काठमाडौँमा विशेष संयमितता अपनाएको र सोही बमोजिम कार्य व्यवस्था मिलाइएको घिसिङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप