बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टीआरसी गठनबारे बालुवाटारमा जुटेन सहमति

सोमबार, ०४ कात्तिक २०७६, १२ : ५९
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौँ । युद्धकालीन मुद्दाहरुलाई निष्कर्षमा पुर्याउन बसेको प्रमुख राजनीतिक दलहरुको बैठक विनानिष्कर्ष सकिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरुबीच भएको छलफल विना निष्कर्ष सकिएको हो । 

छलफलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवासचन्द्र नेम्वाङले सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकका बारेमा सामान्य छलफल भएपनि कुनै निष्कर्ष ननिस्केको प्रतिक्रिया दिए ।

 ‘विधेयकका बारेमा सामान्य छलफल भयो । अरु खासै केही भएन’ नेम्वाङले रातोपाटीसँग भने, ‘नेताहरु यो विषय कसरी टुङ्ग्याउने भन्नेमा चिन्तित हुनुहुन्छ ।’

सोमबारको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, ऊर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख सुवास नेम्वाङ सहभागी थिए ।

आइतबार पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच युद्धकालीन मुद्दालाई कसरी निष्कर्षमा पुर्याउने भन्ने बारेमा छलफल भएको थियो । 

बालुवाटार श्रोतका अनुसार सोमबारको बैठकमा रिक्त सभामुख पद पूर्तिका विषयमा समेत छलफल भएको थियो । यसअघि सत्यनिरुपण तथा वेपत्ता आयोगका लागि विधेयक सरकारले ल्याएपनि आयोगको अध्यक्ष नियुक्ति हुन नसक्दा त्यसबारेको काम कारवाही ठप्प जस्तै बनेको छ । तर नेता नेम्वाङले भने त्यस विषयमा छलफल नभएको दावी गरे । ‘अरु विषयमा छलफल भएन’ नेम्वाङले भने । 

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा संसद सचिवालयका कर्मचारीसँगको अनैतिक व्यवहारबाट विवादमा आएपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । अव उनको ठाउँमा सभामुख कसलाई बनाउने भन्ने चासो बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप