बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजपामा चर्काचर्कीः अनिल झाले महतोलाई भने, ‘तपाईं को हुनुहुन्छ मलाई बेच्ने ?’

सोमबार, ०४ कात्तिक २०७६, १२ : २७
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौँ । समाजवादी पार्टीसँग एकताको विषयलाई लिएर राष्ट्रिय जनता पार्टीमा ठूलो मतभेद रहेको छ ।

एकीकरणको विषयलाई लिएर पार्टीको शीर्ष नेतृत्व कै मतविभाजित छ । त्यसले गर्दा बेलाबेलामा उनीहरुको बीचमा आन्तरिक विवादहरु पनि भइरहेका हुन्छन् । एउटा पक्ष तत्कालै एकीकरणमा गइहाल्नुपर्ने पक्षमा छ भने अर्को पक्ष तत्कालै होइन पार्टीको महाधिवेशन गरेर जाने पक्षमा देखिन्छ ।

आइतबार यही विषयलाई लिएर राजपा नेपालमा चर्काचर्की नै भएको छ । पार्टी एकीकरण, उपनिर्वाचन, पार्टीको महाधिवेशन लगायतको विषयमा छलफल गर्न अध्यक्षमण्डलको बैठक बोलाइएको थियो । सो बैठकमा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकताका लागि भइरहेको अनौपचारिक छलफलको बारेमा कुरा राखेका थिए ।

फाइल तस्विर

बैठकमा सहभागी एक नेताका अनुसार महतोले बैठकमा एकीकरणबारे छलफल भइरहेको तर खासै प्रगति नभएको पुरानै कुरा दोहोर्याएका थिए । त्यही क्रममा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले एकीकरण गर्न गरिएको छलफलबारे प्रश्न उठाएपछि बैठकमा चर्काचर्की परेको थियो ।

‘यो कस्तो वार्ता हो ? पार्टीमा कसैलाई जानकारी छैन । तपाई एक्लै एक्लै गएर वार्ता गर्नुहुन्छ, कुनै पनि वार्ता गर्दा पार्टीमा छलफल गर्नुपर्छ कि पर्दैन ?,’ यादवको भनाइ उद्धृत गर्दै ती नेताले रातोपाटीलाई जानकारी दिए ।

उनले भनेका थिए, ‘एक्ला एक्लै पटक–पटक उपेन्द्र यादवको घरमा कार्यालयमा, कहिले उपेन्द्र यादवलाई लिएर महन्थ ठाकुरको घर पुग्नु हुन्छ । यो तरिकाले वार्ता गरेर एकीकरण हुन्छ ? वार्ता समितिमा अरु सदस्यहरु पनि हुनुहुन्छ । पार्टीमा आरु नेताहरु पनि हुनुहुन्छ । उहाँहरुसँग पनि छलफल गरेर वार्ता गर्नुपर्ने हो तर तपाईंले त्यस्तो गर्न सक्नुभएको छैन ।’

त्यसको जवाफमा वार्ता समितिका संयोजक समेत रहेका महतोले वार्तामा ‘अहिले केही कुनै प्रगति नै नभएको अवस्थामा पार्टीमा के जानकारी गराउनु ?,’ भनेका थिए ।

बैठकमा महतो र यादवबीच प्रश्न–प्रतिप्रश्न चलिरहेकै बेला अध्यक्षमण्डलका अर्का सदस्य अनिलकुमार झाले पनि महतोको कार्यशैलीको आलोचना गरे । ‘तपाईं को हुनुहुन्छ मेरो मूल्य तोक्ने व्यक्ति ? तपाईं को हुनुहुन्छ मलाई बेच्ने व्यक्ति ? पार्टीमा सल्लाहै नगरी पार्टीको एकीकरणको बारेमा किन छलफल गर्नुभएको छ ? हामी पनि छौँ नि एकीकरणको बारेमा कुराकानी गर्ने,’ झाले आपत्ति जनाउँदै भने ।

‘समाजवादी पार्टीलाई राजपा बेच्ने अधिकार तपाईंलाई कसले दियो ?,’ भन्दै अध्यक्षमण्डलका सदस्य झा महतोमाथि खनिएका थिए ।

जवाफमा महतोले राजपा नेपाल अब यसरी नचल्ने बताउँदै समाजवादी पार्टीसँग एकीरकण गर्नैपर्ने कुरा दोहोर्याए । ‘कुनै पनि हालतमा एकीकरण हुन्छ, यसको बारेमा पार्टीमा कसरी छलफल गर्नुपर्छ गर्नुस् । तर, एकीकरणको प्रकृया अगाडि बढ्छ,’ महतोले भनेका थिए ।

बैठकमा चर्काचर्की नै हुन थालेपछि पार्टी कार्यालयमा रहेका अन्य नेता तथा कार्मचारी पनि बैठक कक्षको अगाडि पुगेका थिए । बैठक राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको कार्यकक्षमा भएको थियो । बैठकमा अध्यक्षमण्डलका चारजना सदस्य मात्र थिए । बैठकमा अध्यक्षमण्डलका सदस्यहरु शरतसिंह भण्डारी र राजकिशोर यादव अनुपस्थित थिए ।


राजापाका अध्यक्षमण्डलका सदस्यहरु वार्ता समितिका संयोजक राजेन्द्र महतोको कार्यशैली प्रति असन्तुष्ट रहेका छन् । उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पटक–पटक वार्ता गरिरहेका छन् । उनी कहिले अध्यक्ष यादवको निजी निवासमा त कहिले सरकारी निवास त कहिले पार्टी कार्यालयमा पुगेर वार्ता गरिरहेका हुन्छन् । तर, महतोले समाजवादी पार्टीसँग भइरहेको छलफलबारेमा पार्टीलाई कुनै जानकारी गराउँदैनन् भन्ने नेताहरुको गुनासो रहेको छ ।

यता, मिडियामा भने संयोजक महतोले कहिले ९५ प्रतिशत सहमति भयो, कहिले एक महिना पछि एकीकरण हुन्छ, कहिले यस्तो प्रस्ताव आयो भन्दै जानकारी दिइरहेका हुन्छन् । तर पार्टीमा भने ‘कुनै प्रगति भएको छैन’ भन्ने ‘रेडिमेड’ जवाफमा मात्र दिने गरेको नेताहरु गुनासो गर्छन् ।

हिजोको चर्काचर्कीको बारेमा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झासँग जिज्ञासा राख्दा उनले पार्टी एकीकरणको विषयमा आफूले केही पनि नबोल्ने प्रतिकृया दिए । ‘जुन दिन बोल्नुपर्छ, पत्रकार सम्मेलन नै गरेर जानकारी गराउनेछु । अहिले केही पनि बोल्दिन,’ उनले रातोपाटीसँग कुरा गर्दै भने । 

बैठकले मंसिर १४ गते हुने तीनै तहको उपनिर्वाचनका लागि सम्भावित ३ जना उम्मेदवारको नाम कात्तिक १३ गतेभित्र पठाउन जिल्ला समितिलाई निर्देशन दिएको छ । समाजवादी पार्टीसँगको एकीकरणको विषयमा भने कात्तिक ८ गते बस्ने अध्यक्षमण्डलकाको बैठकले टुङ्गो लगाउने बताइएको छ । अब वार्ता समिति राख्ने कि नराख्ने विषयमा त्यो दिनको बैठकमा छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप