बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तस्करको गोदाममा प्रहरी छापा, लाखौंको सामान बरामद

आइतबार, ०३ कात्तिक २०७६, १३ : ५२
आइतबार, ०३ कात्तिक २०७६

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाढी भन्सार नजिकै तस्करको गोदाममा प्रहरीले छापा मारेको छ ।

 नेपाल–भारत सीमाको दसगजा क्षेत्र नजिकै तस्करले गोदामका लागि भाडामा लिएको घरमा प्रहरीले छापा मार्दा १३ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद भएको छ ।

प्रहरीका अनुसार घरायसी प्रयोजनका सामग्री, खाद्यपदार्थ, लत्ताकपडा, मोटरपार्टस्, हार्डवेयर, कस्मेटिक्सका गरी करिब साढे १३ लाख मूल्यको सामान बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालको कमाण्डमा खटिएको टोलीले सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जनाए । उनका अनुसार प्रहरीले १३ लाख ३६ हजार पाँचसय ५८ रुपैयाँ ४० पैसा मूल्यका सामान बरामद गरी ठाढी भन्सारलाई बुझाएको छ ।

‘तस्करले भन्सार छलेर ल्याएका सामान थन्क्याएको विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरियो,’ प्रहरी नायव उपरीक्षक रिजालले भने, ‘बरामद गरिएको सामान कसको हो भन्नेबारे अनुसन्धान हुँदैछ ।’

सामान बरामद भए पनि घरधनीबाट उक्त सामान कसले ल्याएको हो भन्ने जानकारी नदिएका कारण तस्कर पक्राउ गर्न नसकिएको उनले बताए ।

सिरहा प्रहरी प्रमुख चतुर्वेदीले सीमा क्षेत्रमा चोरी तस्करी रोक्न प्रहरीले सीमित साधन श्रोत र जनशक्तिको अधिकतम् उपयोग गरी काम गरिरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप