शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अत्याधुनिक प्रविधिबाट यसरी हुँदैछ दैनिक ३ करोड लिटर बागमतीको पानी प्रशोधन (फोटोफिचर )

शनिबार, ०२ कात्तिक २०७६, १६ : ४०
शनिबार, ०२ कात्तिक २०७६

काठमाडौं । अबको ३ महिनापछि हिन्दू धर्मावलम्बीले पशुपतिनाथ मन्दिर क्षेत्रमा बागमतीको पानीमा सिधै नुहाउन सक्नेछन् । पशुपतिनाथ मन्दिरबाट १ किलोमिटर अगाडि गुहेश्वरीमा स्थापना भएको बागमतीको फाहोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । 

शनिवार खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना कार्यान्वयन इकाइका प्रमुख भोजविक्रम खड्कालगायतको टोलीले पानी प्रशोधन केन्द्रको अवलोकन गरेको हो । आयोजनास्थलको अवलोकन गर्दै मन्त्री मगर पानी प्रशोधन हुने प्रक्रियाबारे जानकारी लिँदै समयमै काम सक्न निर्देशन समेत दिएकी छिन्।  

एसियाली विकास बैंकको आर्थिक सहयोग रहेको यो आयोजनाको लागत २ अर्ब ५५ करोड रहेको छ । यहाँबाट ३ सय ९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने छ भने दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन हुनेछ । 

झन्डै ४ वर्षअघिदेखि निर्माण थालिएको यो आयोजना आउँदो पुसमा सपन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो चरणमा काठमाडौंको गोेकर्णदेखि गुहेश्वरीसम्म पानी प्रशोधन गर्न लागिएको हो । यस्तै ललितपुरको धोवीघाट तथा बालकुमारीमा पनि पानी प्रशोधन केन्द्रको निर्माण थालिएको छ । धोविघाटमा यो परियोजना लागि मात्रै ६ सय रोपनी जग्गा छुट्याइएको छ । धोविघाटको योजना सम्पन्न गर्न झन्डै ५ खर्ब बजेटको अनुमान गरिएको छ । 
सरकारले काठमाडौंका नदीबाट दैनिक १३ करोड लिटर पानी प्रशोधन गर्ने लक्ष्यका साथ काम गरिरहेको मन्त्रालयका सचिव माधव वेल्वासेले जानकारी दिए । बागमतीको मुहानछेउ धापमा पानी संकलन केन्द्र बनाइएको र हिँउदमा त्यो पानी नदीमा बहाइने र अन्य नदी सफाइका लागि पनि काम भइरहेको उनले बताए ।  

लेदोबाट कम्पोष्ट मल, ग्यासबाट बिजुली
६ किलोमिटर बागमती नदीको पानी प्रशोधनका क्रममा दैनिक ७ टन लेदो जम्मा हुने अनुमान गरिएको छ । यसरी जम्मा भएको लेदोको ग्यासबाट दैनिक ३ सय २० किलोवाट बिद्युत उत्पादन हुनेछ भने  लेदोबाट प्रतिदिन ७ टन कम्पोस्ट मल निस्कनेछ ।

यसरी निस्किएको मल अन्नबाली तथा तरकारी खेतीका लागि उपयुक्त हुने काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना प्रमुख सुरत बमले जानकारी दिए । ग्यास उत्पादनका लागि पानी प्रशोधन केन्द्रमा ‘एनेरोबिक डाइजेष्टर’को निर्माण गरिएको छ । 

सो स्थानमा यसअघि निर्माण भएको पुरानो प्रशोधन केन्द्र र नयाँ अत्याधुनिक प्रशोधन केन्द्रबाट पनि पानी प्रशोधन गरिने भएको छ । 

यहाँबाट प्रशोधन भएको पानी पिउन योग्य नभएपनि नुहाउनसम्म हुने जानकारी दिइएको छ । 

आयोजना प्रमुख लिलाप्रसाद ढकालले हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा सफा पानी बहने भन्दै ढुक्क भएर नुहाउन सकिने पनि जानकारी दिए ।

 ‘प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि पौडी खेल्न र पशुपति क्षेत्रमा ढुक्क भएर नुहाउन सकिन्छ’, उनले भने, ‘हामीले आयोजना आगामी पुसभित्र सम्पन्न गर्नेगरी काम गरिरहेका छौं । अहिलेको प्रगतिको अवस्था हेर्ने हो भने ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

फोहोर पानी प्रशोधन केन्द्रमा पानीमा बगेर आएको फोहोर तथा लेदो संकलन गर्ने प्रविधि रहेको छ । एउटा गन्ध आउने यूनिट रहने र अर्को गन्ध नआउने युनिट रहन्छ । 

यसरी प्रशोधन गरिएको पानी विश्व स्वा

 


स्थ्य महासंघको मापदण्ड अनुसार कृषि प्रयोजनका लागि प्रयोग गर्न सकिने आयोजना प्रमुख सुरत बमले बताए । उद्योगको मेसिनमा कुलिङ गर्न, सडक सफा गर्न, सिंचाई गर्न सकिने बताए । फोहोर पानीमा भएको लेदोबाट बिजुली निस्कने प्रविधी राखिएको छ । 

‘बायोलोजिकल रियाक्टर’ प्रणाली अर्थात फोहोरमा रहेका किरालाई पानीमा रहेको फोहोर खाएर सफा गर्ने प्रणालीलाई पनि पानी प्रशोधन विधिमा समेटिएको जानकारी दिइएको छ । ती किराका लागि आवश्यक तापक्रम मिलाउने प्रणाली पनि मिलाउनुपर्ने उनको भनाइ छ । 

आयोजना प्रमुख बमले लुकेर सर्वधारणले नदीमा फोहोर फ्याँकेमा भने यसरी प्रशोधन गर्नुको अर्थ नहुने भन्दै यसमा सर्वसधारणले सहयोग गर्नुपर्ने बताए । 

बागमती प्राकृतिक रुपमा फर्कँदैछ : मन्त्री 


आयोजनास्थलको अवलोकनपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै खानेपानी मन्त्री बिना मगरले वागमतीले पुनः पहिलेकै जीवन पाउन लागेको बताएकी छिन् । उनले काठमाडौंमा ढल निकासको समस्या ठूलो मात्रामा रहेको बताउँदै कलकारखाना, हस्पिटलका केमिकलयुक्त फोहोर, घरबाट निस्कने फाहोरले प्रत्यक्ष रुपमा स्वास्थ्यमा समस्या पर्ने उल्लेख गरिन् । आयोजनाको बाँकी ५ प्रतिशत काम छिट्टै सकेर उद्घाटनको तयारी गरेको उनले बताइन् । 

उनले भनिन्, ‘पशुपति क्षेत्रमा सफा पानी बगाउने हाम्रो लक्ष्यलाई हामीले अन्तिम चरणमा पु¥याइरहेका छौँ र पशुपति दर्शन गर्न आएका बेला बागमतीमा नुहाउने सबै दर्शनार्थीको चाहना, हाम्रो परम्परा, हाम्रो आस्था र हाम्रो संस्कारसँग जोडिएको बागमती नदीको महत्वलाई जिवन्त राख्न सफल हुने क्रममा छौँ । बागमतीलाई प्राण भरिदिने र हाम्रो संस्कार दाहसंस्कारदेखि पूजापाठसम्मलाई सहजीकरण गर्न सफा पानी बगाउन काम गर्ने भूमिका अन्तिम चरणमा पु¥याएका छौँ ।’

मन्त्री मगरले बागमती प्राकृतिक रुपमा फर्कन पाओस्, जीवन पाओस् भन्ने चाहनालाई यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । बागमतीको मुहानदेखि पशुपतिनाथको मन्दिर क्षेत्रमा सफा पानी छिटै बगेको देख्न पाइने उनले बताइन् । द्रूत गतिमा आयोजनाको काम भएकोमा आफूलाई खुसी लागेको बताउँदै उनले पशुपतिमा आउने भक्तजनलाई सफा पानीको अनुभूति गराउनमा सफल हुने विश्वास समेत व्यक्त गरिन् ।   



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप