केन्द्रीय संस्करण
हेल्थ टिप्स

हाडजोर्नीको समस्यालाई सामान्य नसोच्नुस्, अपाङ्ग भइएला

person explore access_timeकात्तिक २, २०७६ chat_bubble_outline0

काठमाडौँ । हाडजोर्नी बिना शरीरको बनावट असम्भव हुन्छ । तर कतिपयले हाडजोर्नीलाई खासै महत्व दिएका हुँदैनन् र समस्या आएपछि पनि धेरै बिरामी समयमा अस्पताल पुग्दैनन् । अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्दा समस्या थपिइरहेको हुन्छ । समयमा अस्पताल नपुग्दा अपाङ्गता हुने समस्या समेत हुनेगर्छ । हाडजोर्नी समस्याको समयमा उपचार नगर्दा नेपालमा अपाङ्गता हुनेको संख्या बढ्दै गइरहेको छ । 
पछिलो समय हाडजोर्नी सम्बन्धी समस्या साझा समस्या बन्दै गइरहेको छ । अहिले बढ्दो रुपमा रहेको हाडजोर्नी सम्बन्धी समस्या त्यसको कारण  कारण, उपचारलगायतका विषयमा केन्द्रीत रहेर वीर अस्पताल अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

हाडजोर्नी सम्बन्धी धेरै मात्रामा देखिने समस्याहरु केके हुन्,  नेपालीमा कस्ता खालका समस्याहरु पाउनु भएको छ ? 

भौगोलिक अवस्था अनुसार पहाडमा धेरै हिँडिन्छ । हामीले गर्ने धेरैजसो कामहरु हिँडेर गरिन्छ । धेरै नेपालीहरु कृषिमा आवद्ध छन् । भारी बोक्ने, हातखुट्टले गर्ने काम धेरै हुन्छन् । त्यसले गर्दा नेपालमा आफ्नो कामको प्रकृतिसँग सम्बन्धित हाडजोर्नी सम्बन्धी समस्याहरु बढी भएको पाइन्छ । घुँडा, ढाड, हात, पाता दुख्नजस्तो समस्या बढी पाइन्छ । 

साथै सडक अहिले गाउँघरसम्म पुगेको छ र दुर्घटनाको जोखिम पनि बढ्दै गइरहेको छ । कच्चीबाटोहरुमा हुने सडक दुर्घटनाका कारण समस्याहरु बोकेर आउने बिरामीको संख्या पनि धेरै छन् । 

उमेर बढ्दै गएपछि पनि हाडजोर्नीका समस्याहरु आउँछन् । जस्तै जोर्नी खिइने समस्या   शरीरको सबै जोर्नीमा हुन सक्छ । तीमध्ये पनि घुडा खिइने, हिपको जोर्नी र मेरुदण्डको जोर्नी खिइने समस्या धेरै देखिने समस्या हो, जसले शरीरको भार थामेको हुन्छ ।    

अन्य देशको तुलनामा नेपालमा कामको प्रकृतिले जोर्नी खिइने समस्याहरु अलि चाँडै सुरु भएको देखिन्छ । 

उमेरको आधारमा हाडजोर्नी सम्बन्धी कस्ता समस्याहरु देखिन्छन् ? 

हाडजोर्नी उमेरको आधारमा पनि देखिने समस्या हो । हाडजोर्नीका समस्याहरु वंशाणुगत रुपमा समेत हुन्छन् । जस्तै मेरुदण्डहरु बाङ्गिने, हातखुट्टाको बनावट तथा मांशपेसीको समस्याहरु बालबालिकामा पनि देखिन सक्छ ।
 पोषण नपुगेको बालबालिकाहरुमा हाड तथा जोर्नीको इन्फेक्सन हुने, हड्डी नै किटाणुको संक्रमणले खाइदिने समस्याहरु पनि हुन सक्छ । 

युवाहरुमा दूर्घटनाका घटनाहरु धेरै छन् । मेरुदण्डको कुरा गर्नुहुन्छ भने युवा अवस्थामा मेरुदण्डको जोर्नीको डिक्स चिप्लीएर नसा च्यापिने समस्याहरु पनि छन् । भारी बोक्ने मान्छे ,खेलाडीहरुमा त्यस्तो खालका समस्या आएको पाईन्छ । युवा अवस्थामा चोटपटकको समस्याहरु धेरै हुन्छन् । 

उमेर ढल्कीदै जादा जोर्नी खिईने समस्या पुरुषमा भन्दा महिलामा १५ देखि २० वर्ष पहिलानै सुरु हुन्छ । त्यसमा दुई तिनवटा कारणहरु छन् ।

महिलाहरु घरायसी काम धेरै सक्रिय हुन्छन् । सँगसँगै महिलाहरुको शरीरमा हुने एक किसिमको हर्मन (एस्ट्रोजन) हुन्छ । महिनावारी रोकिने बेलामा त्यो हर्मनको मात्रा घट्छ । महिनावारी रोकिए पछि त्यसको मात्रा एकदमै घट्ने भएको हुँदा प्रत्यक्ष असर हड्डी तथा जोर्नीमा पर्छ र खिइने समस्या हुन्छ । त्यसैले महिलाहरुमा जोर्नी खिइने समस्या पुरुषमा भन्दा पहिला सुरु हुन्छ र धेरै मात्रामा छ । 

आधुनिक जीनवशैली र खानापानले हाडजोर्नी सम्बन्धी समस्या निम्त्याउला ?

हामीलाई स्वभावल नै हिँड्ने, दौडिने र परिश्रम गर्ने बनाएको छ । तर अहिले आधुनिक जीवनशैलीले गर्दा थोरै बाटो पनि हिड्नु नपर्ने भइसक्यो । ५–१० मिनेटको बाटो पनि  नहिँडी सवारी साधन प्रयोग गर्छाैँ । त्यसले गर्दा हाडजोर्नीका समस्या बढ्दै गइरहेको देखिन्छ । हड्डी र मांशपेसीलाई जति प्रयोग गर्न सक्यौँ त्यति नै बलियो हुन्छ । योगा तथा व्यायाम नियमित गर्ने हो भने हाडजोर्नीका धेरै समस्याहरु कम भएर जान्छन् । 

नेपालमा हाडजोर्नी सम्बन्धी कस्ता—कस्ता उपचार सम्भब छन् ? 
मैले सन् २००२ मा एमबीबीएस अध्ययन गर्दाको अवस्था र अहिले सन् २०१९ मा हाडजोर्नी विशेषज्ञ भइसकेको अवस्थामा फर्केर हेर्दा हाडजोर्नीको क्षेत्रमा नेपालमा एथेस्ट विकास भइसकेको छ । हाडजोर्नीको उपचारमा संसारले प्रयोग गर्ने प्रविधिहरु हामीले पनि प्रयोग गरिरहेका छौँ । त्यो हिसाबले हेर्दा हाडजोर्नीको विकासमा हामी अन्तरार्ष्ट्रियस्तरको उपचारमा छौँ ।

 जोर्नी प्रत्यारोपण गर्न मैले अध्ययन गरिरहेका समयमा पनि बिरामीहरु भारत अथवा विदेशका ठूला–ठूला अस्पतालमा जोर्नी फेरेर आएको भन्नुहुन्थ्यो । अहिले नेपालकै अस्पतालमा जोर्नी प्रत्यारोण गर्ने गरेका छौं ।
पहिला—पहिला बिरामीले मेरुदण्ड र नसा च्यापिएर एकदमै पिरोलिनु पर्ने अवस्था थियो । त्यसको उपचारको लागि पनि भारत, थाइल्याण्ड तथा जापानसम्म पनि पुग्नुपर्ने अवस्था थियो । अहिले विदेश जस्तै नेपालमा पनि अत्याधुनिक प्रविधिबाट उपचार गर्न सकिन्छ ।  

वीर अस्पताल अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा यी सबै खालका सेवाहरु हामीले प्रदान गर्दै आएका छौं । यसैगरी निजी अस्पतालहरुले पनि यो सेवा प्राथमिकताका साथ दिइरहेका छन् । 

त्यो हिसाबले हेर्दा पनि हाडजोर्नीको उपचारमा नेपाल सक्षम छ । बिरामीलाई हाडजोर्नीको उपचारको लागि विदेश नै धाउनु पर्ने अवस्था एकदमै न्यून छ, हामी आफैले सबैथोक गर्न सक्ने स्थितिमा पुगेका छौँ । 

सेवा बढ्दै गइरहेको भनेर तपाईँले भनिरहँदा समस्याहरु पनि बढ्दै गएका होलान् । हाडजोर्नीका समस्यालाई नागरिकले कतिको चासो दिएको पाइन्छ, कुन अवस्थामा अस्पताल आइपुग्छन् ? 

म सरकारी अस्पतालमा काम गर्छु । सरकारी अस्पतालमा आउने हाडजोर्नीसम्बन्धी बिरामीको अवस्था हेर्दा चलुन्जेल सम्म चलाइराख्ने र चिकित्सक कहाँ पनि नजाने चलन देखिन्छ । जति सकिन्छ सहने र सानो—सानो कुरालाई ख्यालै नगर्ने तथा जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने चलन देखिन्छ । त्यसले गर्दा पनि उपचारपछि जति निको हुनुपर्ने हो त्यति नहुन पनि सक्छ । 

किनभने हाडजोर्नीको समस्याले तत्कालनै मान्छेलाई मृत्युको मुखमा पुर्‍याउँदैन । तर अपाङ्ग बनाउँन सक्छ । समयमा उपचार भएन भने अपाङ्गताको ग्रेड बढ्ने हो । जस्तै संक्रमण, चोटपटक, जन्मजात भएको विकलाङ्ग होस् अथवा उमेर बढ्दै गएपछि किन नहोस्, जोर्नी खिइने क्रमले गर्दा अपाङ्गताको संख्या बढ्न सक्छ । हाडजोर्नीका उपचार समयमा गरिए अपाङ्गताको संख्या पनि कम गर्न सकिन्छ । 

हाडजोर्नीको समस्याबाट बच्न अथवा कम गर्नको लागि के–कस्ता कुरामा ध्यान दिनुपर्छ ? 

हाडजोर्नी सम्बन्धी केही समस्याहरु सचेत भएर पनि कम गर्न सक्छौँ । जस्तै बालबालिकामा पोषण कम हुँदा संक्रमणको जोखिम हुन्छ । विशेषगरी कर्णाली र प्रदेश नं. २ का बालबालिकाहरुमा कुपोषणको समस्या बढी छ ।

अशिक्षाले गर्दा नागरिकहरु समयमा अस्पताल पुग्दैनन् । अर्काे कुरा वयस्कहरुमा योगा, व्यायम, खेलकुदहरुमा सहभागी हुने क्रम कम भइरहेको छ । त्यसलाई बढाउनुपर्छ, जसले गर्दा हाडजोर्नीका समस्याहरु कम भएर जान्छन् । 

बुढौलीमा हाडजोर्नी खिइने समस्याहरु बढी छन् । बुढौलीमा ट्युमर, क्यान्सरका समस्याहरु पनि बढी आउँछन् । समस्या आउने वित्तिकै चिकित्सकलाई देखाएर सुरुको अवस्थामै उपचार गर्ने हो भने बढ्न पाउँदैन ।  लामो समयसम्म स्वास्थ जीवन जिउन सकिन्छ ।

महिलाहरुको हाडजोर्नी समस्या निरुपण गर्न विभिन्न किसिमको थेरापी उपलब्ध छन् । महिनावारी बन्द हुने अवस्थामा पुगेका महिलाले नियमति स्वास्थ्य जाँच गराउने र हाडजोर्नीको अवस्थाबारे परीक्षण गराउँदा राम्रो हुन्छ । 

खानपानले असर गर्ने भनेको केही बाथका समस्या छन् । यूरिकेसिडलाई खानपानले प्रत्यक्ष असर गर्छ । अन्य खानापानले असर गर्ने हाडजोर्नीका समस्याहरु खासै छैनन् । 

खानपानमा पौष्टिक आहार क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ ।  विशेषगरी बालबालिका, बृद्धबृद्धा, यूरिकेसिड र बाथका बिरामीले ध्यान दिनुपर्छ । रातोमासु, तामा,  गेडागुडी, गालेको अचार, गोलभेडाजस्ता खानपानले यूरिकेसिडको मात्रा बढाउन सहयोग गर्छ । यस्ता खानेकुरा कम गर्न जरुरी छ । 
 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...