केन्द्रीय संस्करण

कविता : बूढेसकाल

person explore access_timeकात्तिक २, २०७६ chat_bubble_outline0

–शीतल शर्मा

जोश आज कहाँ गयो, होश पनि हरायो
ऐले भएँ कछुवा, पहिले जस्तो खरायो ।
जिब्रोले पनि धोका दियो, बुझिँदैन त्यो भाषा
उल्टो हुन थाल्दैछ, मैले राख्छु जो आशा ।

आँखाले पनि जिस्क्याउँछ, आफ्नो र पराय चिन्दैन,
कानले पनि के सुन्छ, सत्य कुरा भन्दैन ।
त्यसैले आँखा भन्दैछ, नहेर चारैतिर हो,
देखेर मात्र के गर्नु, मनमा बढ्ने पीर हो ।

न त उठ्छु जर्याक जुरुक, न त र्फयाक फुरुक,
सेतै फूलेँ चाउरी परेँ, आज भएँ कुरूप ।
साथीसङ्गी कस्ता होलान्, कस्तो होला व्यथा,
सोच्दासोच्दै लाग्न थाल्यो, एकादेशको कथा ।

खाना पनि रुच्दैन, खाको पनि पच्दैन
बूढो भनी हेप्न थाल्यो, वैद्य पनि जाँच्दैन ।
पेट पनि के भो आज, गड्याङ गुडुङग गर्छ,
स्यार्न पनि गाह्रो भयो, कट्टुमा पो झर्छ ।

बैँस छँदा लाग्दो रैछ, जे गर्दा नि हाँसो,
बुढेसकालको साथी रैछ, जैले पनि काँसो ।
खस् खस् गर्छ घाँटी पनि, लाग्नै पर्यो खोक्न,
थुकी हाले भुइँमा अनि, गाह्रो भयो लुक्न ।

खाने रम्ने उमेरमा, सधैँ लाग्यो लोभ
आज खान्छु भन्दाखेरि, खान दिन्न रोग ।
हात पनि के भो आज, काँप्न थाल्यो त्यसै
दुःख पाई बाँच्नु भन्दा, छिटै गा’को वेशै।।

मेरो जस्तो यो व्यथा, बालाई पनि परे हो
एक्लै एक्लै कुनामा, कति आँसु झरे हो ।
आज मेरो यो ठाउँ, भोलि तिम्रो हुनेछ
खेल्न खोज्छौ लुकामारी तर तिमलाई छुनेछ ।

बा बूढो, म तन्नेरी, ऐले जस्तो लाग्छ,
स्वर्ग गई माफी मागूँ, कैले जस्तो लाग्छ ।
सकिँदैन ती दिन फर्काएर ल्याउन,
आभाष आज हुँदैछ, मूर्ख रैछु म किन ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...