शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी पार्टीसँग एकता भए राजपामा विभाजनको खतरा !

शनिबार, ०२ कात्तिक २०७६, ११ : ५३
शनिबार, ०२ कात्तिक २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि अनौचारिक वार्ता दिनहुँजसो हुन्छ तर एकीकरण भने अझै पनि अनिश्चित बनेको छ । 

राजपाको तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले एकताका लागि समाजवादी पार्टीसँग निरन्तर छलफल गर्दै आएका छन् । उनले कहिले पार्टी कार्यालय त कहिले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नीजि निवास र सरकारी निवासमा पुगेर छलफल गर्दै आएका हुन् । 

यस्तै उनले उनी सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग समेत छलफल गर्ने गरेका छन् । तर छलफलबारे पार्टीमा भने पर्याप्त छलफल नहुने गरेको राजपाका नेताहरु  बताउँछन् ।  राजपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका नेता महतोले समाजवादी पार्टीसँग गरेका वार्ताहरुको बारेमा पार्टीलाई कुनै जानकारी नहुने गरेको एक नेताको भनाइ छ ।

ती नेता भन्छन्, ‘राजेन्द्र महतोले वार्ता गर्नुहुन्छ तर पार्टीमा कुनै जानकारी गराउनु हुन्न । बरु छलफलको कुरा सञ्चारमाध्यममा ल्याउनुहुन्छ, प्रस्ताव आफै लग्नुहुन्छ, उताबाट आएको प्रस्ताव पनि आफै राख्नुहुन्छ । समाजवादी पार्टी र राजपा नेपालबीच बीच जतिपनि कुराकानी भएका छन् सबै मिडियाबाट मात्र थाहा हुन्छ ।’

समाजवादी पार्टी र महतोबीच एकीकरणका लागि तीनवटा प्रस्तावमा छलफल भएको छ । सुरुमा समाजवादी पार्टीले महन्थ ठाकुरलाई मनार्थ अध्यक्ष, बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष र उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव गरेको थियो । त्यसपछि राजपा नेपालले दुवै दलबाट दुई दुईजना अध्यक्ष रहने प्रस्ताव गरेको थियो । जसमा समाजवादी पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राजपाको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोको नाम प्रस्ताव थियो । 

यी दुवै प्रस्तावमा समर्थन नभएपछि असोज १५ गते वार्ता समितिका संयोजक राजेन्द्र महतो, समाजवादी पार्टीका तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ र बाबुराम भट्टराईको बीचमा छलफल हुँदा एउटा नयाँ प्रस्तावमा सहमति भएको छ । निर्देशन समितिको अध्यक्षमा महन्थ ठाकुर, संघीय परिषद्का अध्यक्ष भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र सचिवालय समितिका अध्यक्ष राजेन्द्र महतो रहने गरी प्रस्ताव आएको बताइएको छ । 

यसबारे राजपामा पर्याप्त छलफल नभएको बताइएको छ । राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले समाजवादी पार्टीसँग एकताको हल्ला सुनिएको भएपनि पार्टीमा छलफल नभएको दाबी गरे । 

उनले भने, ‘समाजवादी पार्टीसँग एकीकरणको हल्ला सुनेको छु तर त्यसको बारेमा पार्टीमा सल्लाह भएको छैन ।’ पार्टीमा महाधिवेशनको कुरा उठेसँगै पार्टी एकीकरणको कुरा पनि तीव्र रुपमा आउने गरेको भन्दै उपाध्यक्ष लालले पार्टीको महाधिवेशन हुन नदिने षड्यन्त्र स्वरुप यी कुराहरु आइरहेको दावी गरे । 

‘समाजवादी पार्टीसँग एकीकरण नै गर्ने हो भने आफ्नो दलमा पहिला छलफल हुनु पर्यो, पार्टीको लाइन के हो, चाहना के हो त्यसमा पहिला एकमत हुनुपर्छ’ उनले भने, ‘अनि त्यसपछि मात्र अर्को दलसँग कुरा गर्ने हो । तर पार्टीलाई कुनै जानकारी नै नभइ  एक दुईजना नेताहरुले आआफ्नो लाइन अनुसार कुराकानी गर्दैमा केही हुनेवाला छैन ।’

विभाजन हुनसक्छ
यही अवस्थामा समाजवादी पार्टीसँग एकीकरण गरिए राजपा नेपाल विभाजन हुनसक्ने खतरा देखिएको छ ।  राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले समाजवादी पार्टीसँग एकीकरण भयो भने आफू एकीकृत पार्टीमा नजाने भनिसकेका छन् । 

यदि उनले छुट्टै समूह बनाए भने राजपा नेपालभित्रका थुप्रै नेताहरु अनिल झाको साथमा रहन सक्ने सम्भावना रहेको बताइन्छ । राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्र राय यादव एकीकरणको पक्षमा देखिन्छन् भने झासहित अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र राजकिशोर यादव विपक्षमा छन् । 

राजेन्द्र महतोको समूहले पार्टी एकीकरण गरेर मात्र महाधिवेशन गर्ने पक्षमा छन् भने राजकिशोर र अनिलले महाधिवेशनपछि मात्र एकीकरण गर्ने पक्षमा छन् । यस विषयमा महन्थ ठाकुर माैन बसेका छन् । उनी गौण बसेपनि उनका पक्षमा नेताहरु पार्टी एकताको पक्षमा देखिएको छैन । 

राजपा उपाध्यक्ष गोविन्द चौधरीले पार्टीभित्र पर्याप्त छलफल गरेर मात्रै एकीकरण प्रक्रियामा जानुपर्ने बताउँछन् ।  उनी भन्छन्, ‘एकीकरकणबारे पार्टीभित्रै कुरा मिलेको छैन । पहिला ६ जना अध्यक्षमण्डल रहेको राजपा नेपालमा सहमति बनाउनु पर्छ ।  तर छजनामा नै कुरा मिलेको छैन भने एकीकरण कसरी हुन्छ ? मलाई लाग्छ एकीकरण भयो भने अध्यक्षमण्डमै विभाजन हुन्छ ।’

उनले राजपा नेपाल आफैमा व्यवस्थित भएर मात्र एकीकरणको प्रकृया अगाडि बढाए राम्रो हुने धारणा राखे । यस वषयमा महताेसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा  सम्पर्कमा आएनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप