केन्द्रीय संस्करण
पुस्तक चर्चा

साहित्यकार डा. नवराज लम्सालका ७ पुस्तकका अन्तरकथा

person explore access_timeकात्तिक २, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

डा. नवराज लम्साल साहित्यकार तथा सञ्चारकर्मी हुन् । साहित्यमा गीत र कविता उनको परिचय हो भने रेडियो पत्रकारितामा पनि उत्तिकै चर्चित छन् । रेडियोमा धार्मिक कार्यक्रम र राजनीतिक विश्लेषणसहितको कार्यक्रम सञ्चालन गर्ने एकै ब्यक्ति कमै हुन्छन् । तर लम्साल त्यसको अपवाद हुन् ।

 उनले ४ वर्ष रेडियो नेपालमा वेद, पुराण र उपनिषद्को विश्लेषणसहित धार्मिक कार्यक्रम चलाए र लामै समय रेडियो नेपालको चर्चित राजनीतिक कार्यक्रम ‘घटना र विचार’ र ‘परिवेश’ पनि सञ्चालन गरे । 
उनको परिचय नै बनेको अर्को दुई कार्यक्रम हो – सुरसंगम र मधुवन । प्रत्येक हप्ता प्रसारण हुने मधुवन २३ वर्षदेखि निरन्तर जारी छ । बीबीसीमा समेत १० वर्ष कला पत्रकारिता रहेका उनले जनतासँग प्रधानमन्त्री कार्यक्रम पनि सुरुवात गरे । 

उनी मूलधारका कवि तथा गीतकार हुन् । कर्ण र धरा नामका दुई महाकाव्य सहित ७ पुस्तक प्रकाशित गरेका उनका चलचित्र र आधुनिक गरी ३ सय ५० बढी गीतहरु रेकर्ड भएका छन् । उनी साहित्यिक कृतिका पनि राम्रो समीक्षक हुन् । कार्यक्रममा आफ्नो पुस्तकको समीक्षा गराउन लेखक महिनौँ दिनसम्म पनि उनलाई कुर्न तयार छन् । 

पछिल्ला दिनमा उनी कवितामा देश खोजिनुपर्छ भन्दै आएका छन् । ‘चिन्ता लेखेर साहित्यकार भइन्न, चेतना लेख्नुपर्छ’ भन्ने उनको दावी छ । प्राज्ञहरू र समालोचकहरूमाथि बढी खनिएको भनेर उनको आलोचना पनि हुने गरेको छ तर समालोचकहरूले लेखकहरू माथि न्याय नगरेको उनले तर्क राख्दै आएका छन् । 

पाका पुस्ताका तुलनामा युवा र नवयुवा पुस्तामा उनको आकर्षण बढी देखिन्छ । पुराना पुस्तामाथि अलि बढी आलोचनात्मक देखिएका कारण उनीसँग रुष्ट हुनेहरूको सङ्ख्या पनि कम छैन । देशभित्र र बाहिर समेत साहित्यिक गतिविधिमा सक्रिय डा. लम्सालका ७ पुस्तक प्रकाशित छन् । रेडियो नेपालमा कार्यक्रम महाशाखाका प्रमुख समेत रहेका लम्सालले रातोपाटीसँग आफ्ना ती सातै पुस्तकको कथ्य, कथन र प्रकाशनको अन्तरकथा यसरी सुनाएः

पाइलैपिच्छे सगरमाथा


यो मेरो पहिलो कवितासङ्ग्रह हो । २०६० मै तयार भएको यो सङ्ग्रह २०६१ वैशाख १ गते बजारमा आयो । यसको नाम राख्दाको पनि मीठो संस्मरण छ । नाम के राख्ने होला भनेर सोच्दै गरेको बेला रेडियो उद्घोषण सम्बन्धी एउटा तालिमको समापनका लागि म बुटबल पुगेको थिएँ । 

साँझपख रिक्सा चढेर बजार घुम्दै गरेको बेला खै के सम्झेर मनमा एउटा तर्कना आयो – यो जीवन पनि एउटा सगरमाथा चढ्नुजस्तै भयो । आफ्नै मनले आफैँलाई उत्तर दियो – सगरमाथा पनि एकपल्ट चढेजस्तो हो र ? पाइलापाइलामा सगरमाथा चढे जस्तोकठिन छ । आफैँसँगको यो सम्वादबाट निस्कियो– ‘पाइलैपिच्छे सगरमाथा’ । यो नाम असाध्यै प्रिय लाग्यो र कवितासङ्ग्रहको नाम नै यही राखेँ । 

त्यतिखेर म पद्यसङ्ग्रह निकालूँ कि गद्यसङ्ग्रह भन्ने ठूलो दोधारमा थिएँ । धेरैले छन्दकै कविताहरूको सङ्ग्रह निकाल भनेका थिए र केहीले मिसाएर निकाल भने तर मेरो मनले गद्यपद्य मिसाउन मानेन । 

२०५९ मा प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा प्रथम हुँदाको कविता गद्य थियो । प्रथम भएकैजस्ता मेरा अरू कविता पनि छन् भनेर देखाउनु थियो । यो आवश्यकता थियो वा मेरो अल्लारे बुद्धि ? किन त्यस्तो सोचेँ, जान्दिनँ तर गद्यसङ्ग्रह नै प्रकाशन गरेँ । भित्री मनमा गद्यपद्य दुवैमा मेरो समान उपस्थितिको दावा गर्नुको सूक्ष्म अहम् पनि थियो ।

त्यस सङ्ग्रहका कविताहरू आज झन् प्रिय लाग्छन् । त्यहाँ शाश्वत चिन्तनका कविताहरू छन् जस्तो लाग्छ ।

कवितालाई जिन्दगीसँग र जिन्दगीलाई दर्शनसँग जोड्ने मेरो कोशिश हो त्यो । रहरभन्दा बढी जिम्मेवारीबोधको चेतनासहित लेखिएका कविता छन् त्यहाँ । 

प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा प्रथम भएको कविता पनि त्यसैमा छ र प्रथम भएको कविताजस्तै मेरा अरू गद्य कविता पनि छन् भनेर कविदुनियाँलाई देखाउने सुषुप्त चेतनाले पनि काम ग¥यो होला सायद । धेरै मन पराइएको र चर्चामा रहेको सङ्ग्रह हो त्यो । 

आगो छोपेर कतिन्जेल !


देश द्वन्द्वको भूमरीमा थियो । दुई बन्दुक दुईतिर लडिरहेका थिए । बीचमा परेका थिए जनता । मान्छेहरू त्रासमा थिए । निराशामा थिए । पछि जनआन्दोलनको ज्वार उठ्दै गयो ।

त्यो लप्का बिस्तारै रेडियो नेपालमा पनि छि¥यो÷छिराइयो । वातावरण निकै असजिलो बन्दै थियो । मोटरसाइकलको ट्याङ्कीमुनि तुल लुकाएर सिंहदरबार गेटबाट भित्र छिराइयो र रेडियो नेपालको भित्तामा टाँगियो – प्रतिगमन मूर्दावाद ! लोकतन्त्र जिन्दावाद !

त्यसपछि सुरु भयो स्पष्टीकरण र जागिर निलम्बनको शृङ्खला । यता यो हैरानी र दुःख थियो भने उता दीपेन्द्र रोकायजस्ता साथीहरूले जनगणतन्त्र रेडियो चलाऊँ जङ्गल आऊ भन्थे । उनको भनाइ थियो – सरकार नियन्त्रित रेडियोमा निलम्बनमा परेर बस्नुभन्दा जनताको रेडियोमा काम गरूँ दाइ, आऊ । उनले एक दिन भनेका थिए – दाइ वर्दियासम्म आऊ, बाँकी हामी गर्छौँ । संयोग त्यही रात आर्मीले घर खानतलासी ग¥यो । 

त्यो अवस्था व्यक्तिगत जीवनमा पनि निकै तनावको अवस्था थियो । जङ्गल जाने वैचारिक धरातल पनि मसँग थिएन र यताको बन्दुकको पनि विपक्षमा थिएँ । लोकतन्त्रको पक्षमा सकडमा उठेको आन्दोलन केवल आन्दोलन मात्र थिएन । त्यो लोकतान्त्रिक सिस्टमका लागि थियो । 

लोकतन्त्र आगो हो । हे शासक हो ! यसलाई कति दिन छोप्छौ ? दुवै बन्दुकको बीचमा आफू उभिएको त्यही अवस्थालाई प्रश्न गरेँ, कविताको आकार दिएँ र नाम राखेँ – आगो छोपेर कतिन्जेल ! यस सङ्ग्रहमा तपाईँ विद्रोह, आक्रोश, लोकतन्त्रप्रतिको प्रेम र २०६२÷६३ को १९ दिने जनआन्दोलनअघिको जनमनस्थितिको बिम्ब भेट्नुहुन्छ । यो सङ्ग्रह २०६२ पुस १६ का दिन प्रकशित भएको हो । २०३३ सालदेखि नै पुस १६ लाई नेपाली राजनीतिको एउटा सम्झनायोग्य दिनका रूपमा लिइने भएर प्रकाशनका लागि त्यही दिन रोजेको हुँ ।

धुनभित्र धुनबाहिर


यो गीतसङ्ग्रह हो । आगो छोपेर कतिन्जेल कवितासङ्ग्रहको प्रकाशन अक्सफोर्ड प्रकाशनले गरेको थियो । यसका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा निकै फूर्तिला मान्छे । उनीसँग मेरो सम्पर्क मेरा कविमित्र सुरेश हाचेकालीले गराइदिएका थिए ।

आगो छोपेर कतिन्जेल अक्सफोर्डको पहिलो किताब थियो । अक्सफोर्डलाई किताबको पाण्डुलिपि चाहिएको थियो, मलाई प्रकाशक । छापियो । आन्दोलन र विद्रोहको सन्दर्भ भएकोले यो सङ्ग्रह सडकसडकमा पढिए र चर्चा पनि निकै भयो । 

आफैँ इलाम र पाँचथरसम्म पुगेर पनि ती कविता पढेँ । किताब निकै बिक्यो । शर्माजी आफैँ लागिपरेर पनि बेचे । उनले भने तपाईँको अर्को किताब छापौँ । 

२०६२ पुसमा कविता सङ्ग्रह निकालेर फेरि त्यही साल अर्को सङ्ग्रह राम्रो हुन्न भन्ने मलाई लागेको थियो । 

आन्दोलनको, विद्रोहको र परिवर्तनको मूल विषय आगो छोपेर कतिन्जेलमा छँदैथियो । त्यही बेला सुरेश हाचेकालीले भने – दाइ गीतसङ्ग्रह निकालौँ । कुरो सही लाग्यो । मेरा एक सय पाँच गीतहरू जम्मा गरेर सङ्ग्रह तयार भयो । 

कुनै गीत रेकर्ड भएका र कुनै गीत रेकर्ड नभएका ! रेकर्ड भएका गीतहरू धुनभित्रका, रेकर्ड नभएका गीतहरू धुनबाहिरका ! पुस्तकको नाम राखेँ – धुनभित्र धुनबाहिर ! सुरेशजीले त्यसमा भूमिका पनि लेखेका छन् । यो सङ्ग्रह २०६२ कै चैत २० मा छापिएको हो । चैत्र २० रेडियो नेपालको स्थापना दिवस पनि हो । त्यसैले त्यो दिन रोजेको हुँ ।

कर्ण 


कर्ण मेरो सपना हो । महाभारत पढ्दा कर्णमाथिको अन्यायले पिरोलिन्छु र आज पनि घरघरमा कर्ण भेट्छु । महाकाव्य लेख्ने सङ्कल्प मनमा उम्रिएपछि आँखामा कर्ण आयो । कर्ण जन्मने बित्तिकै खोलामा फालियो, आज घरघरमा भोकमरी र कुपोषणले नयाँ नानीहरू ग्रस्त छन्, बालमृत्युदर उल्लेख्य छ ।

कर्ण द्रोणाचार्यकहाँ पढ्न गए । सूतपुत्र भनेर पढाउन इन्कार गरे आज ठूला निजी स्कुलले पैसा नहुने कुन गरीबको छोराछोरीलाई पढाउँछ र ? आज पनि यी स्कुलहरू तिनै द्रोणाचार्यजस्तै हुन् र बालबालिका कर्णजस्ता ।

कर्णले परशुरामसँग हतियार युद्ध सिके । महिन्द्राचल थरथर भयो । मेरो देशले १० वर्ष सशस्त्र युद्ध खेप्यो र ती दिनमा मेरो देश थरथर भयो ।  

अर्जुनलाई सर्वश्रेष्ठ घोषणा गर्दा कर्णलाई प्रतिष्पर्धामा सामेल हुनै दिइएन । आज पनि राज्यसत्तामा पहुँच हुनेहरू सीधै ठूला हुन्छन्÷बनाइन्छन् तर प्रतिभावान् सीमान्त गरीबको कथा उही छ ।

अन्त्यमा कर्णलाई छल गरेर मारियो । आज पनि समाजमा असल मान्छेमाथि जालझेल र तिकडम भएकै छ । अन्यायमा पारिएकै छ । राजनीतिक चस्माले हेरेर असल व्यक्तिलाई अन्यायमा पारिएकै छ । प्रतिभाको मृत्यु र व्यक्तिमृत्यु उस्तै उस्तै त हो । 

मान्नुस् त्यो कर्ण मै हुँ, तपाईँ हो र तपाईँ र मजस्तै व्यक्ति हो । यसअघि अरू पुस्तकहरू प्रकाशित भइरहे पनि म कर्णको साधनामा डुबिरहेको थिएँ र यसको प्रकाशन २०६६ मा भएको हो ।

उडूँ उडूँ लाग्छ 


बाल साहित्यप्रति प्राय सबै लेखकहरूको रुचि भएकै पाइन्छ । मलाई पनि बालबालिकका लागि केही लेखूँ भन्ने लागिरहन्छ । मेरा केही बालगीतहरू रेकर्ड भएका छन् र केही छायाङ्कन भएर टेलिभिजनहरूबाट प्रसारण पनि भएका छन् । तिनै बालगीतहरू सङ्कलन गरेर प्रकाशन गरिएको हो ‘उडूँ उडूँ लाग्छ !’ ।

यसमा फरकफरक उमेर समूहका भाइबहिनीहरूलाई काम लाग्ने गीतहरू छन् । सानासाना बाबुनानीदेखि मावि तहसम्मका विद्यार्थीहरू लाभान्वित होलान् भन्ने ठानेर त्यस प्रकारको संयोजन गरेको हुँ । यसै सङ्ग्रहका कतिपय गीतहरू विद्यालयस्तरका विभिन्न पाठ्यपुस्तकहरूमा पनि समावेश गरिएका छन् । यसको दोस्रो संस्करण छिटै आउँदै छ ।

धरा


धरा मेरो जीवनकै एउटा महत्वाकाङ्क्षी यात्रा हो । कर्णपछि अर्को महाकाव्य लेख्नु सामान्यतया एउटा पुस्तकपछि अर्कोमा जानुजत्तिकै संवेदना मात्र थिएन मसँग । मैले निकै जटिलताको महसुस गरेको थिएँ । देश पुरै जातीय राज्यको मुद्दा लिएर हिँडेको बेला र कतिपय दलले ठाउँठाउँमा जातीय राज्य बाँड्दै हिँडेको बेला सबै जातजातिका बीच समन्वय र साझापन खोजेर महाकाव्य लेख्नु पनि कठिन थियो र देश लेख्न खोज्दा देशको सम्पूर्णता अनुभूत गर्नु पनि कठिन थियो ।

धरामा यो वा त्यो एउटा मात्र मुद्दा होइन, मलाई मैले चिनेको देश लेख्नु थियो । भूगोल, इतिहास र संस्कृति लेख्नुथियो । जनताको विरक्ति, दिग्दारी, निराशा र आक्रोशलाई शालीन आकार दिनुथियो र प्रत्येक नागरिकलाई सोध्नुथियो देशले तिमीलाई धेरै चीज दियो तर तिमीले देश उभिने एक इन्च छाती दिएका छौ ?

सबै भन्छन् देशले केही दिएन, देश खत्तम, देश यस्तो, देश उस्तो तर दिने नदिने देशले होइन सत्ताले हो । खत्तम भए शासक खत्तम हुन्, देश होइन । दोषी भए शासक दोषी हुन्, देश होइन ।

देशले धेरै चीज दिएको । प्रकृति, संस्कृति, सुन्दरता, उर्वर माटो र वैभव तर बिग्रेको र बिगारेको त हामीले हो । हामी आफ्नो गल्ती स्वीकार गर्दैनौँ, केही गल्ती छ कि भनेर फर्केरसम्म हेर्दैनौँ तर अरूलाई गाली गर्न सधैँ अग्रसर हुन्छौँ । देशलाई गाली गरेको देश आफैँले सुने के भन्ला ?

कथामा केही श्वैरकल्पना भरेर सम्पूर्णतामा देश लेख्ने मेरो कोशिश हो धरा । मेरो देश बहुलताको विशिष्ट रूप हो । मेरो देश पूर्ण हुन सम्पूर्णता चाहिन्छ । एउटा जात, एउटा धर्म, एउटा संस्कृति, एकातर्फको एउटा भूगोल र कुनै एक परिचयले मात्र कसरी पूर्णता दिन्छ मेरो देशलाई ? म सम्पूर्णताको एक अंश हुँ । म जहाँ भए पनि मैले सम्पूर्णता उठाउने कोशिश गर्नुपर्छ । 

म संस्कृतनिष्ठ पहाडे बाहुन हुँ । त्यो मलाई जन्मले दिएको हो तर कर्ममा मेरो चेतना अलग छ र हुनुपर्छ । म जन्मको जामा लगाएर बाँच्न चाहन्नँ । जन्म कुन घरमा, कुन कुलमा, कुन जातमा, कुन समुदायमा वा वर्गमा भयो, त्यो अलग कुरो हो । मान्छे, मान्छे हुन मान्छेले मान्छेलाई माया ग¥यो कि गरेन त्यो हेरिनुपर्छ । सबै जातजाति, धर्मसम्प्रदाय, भूगोल, विचार र संवेदना एउटै आँगनमा नअटेसम्म देश देश हुन्न । 

मलाई चण्डी र पालम पनि चाहिन्छ । मलाई नौलखा र झिझिया पनि चाहिन्छ । मलाई देउडा र सेब्रु पनि चाहिन्छ । मलाई कौरा र सिँगारु पनि चाहिन्छ । म पूर्ण हुन मलाई सबै चाहिन्छ । १ सय २५ जाति र १ सय २३ भाषा चाहिन्छ । यी सबै कुराको आग्रह र अपेक्षाको साझा दस्तावेज हो धरा ।

तर आज निकै खुसी छु देश धराले भनेकै बाटोमा छ । जातीय राज्य बनेन । जातीय संघीयता बनेन । बहुजातीय संघीयता छ आज । एक प्रदेशमा अनेकौँजाति मिलेर बसेका छन् । राजनीतिक दलहरू आफ्नै घोषणाबाट विमुख भए, असफल भए, जातीय राज्यबाट पछि हटे । धराका हरफहरू सार्थक भए । राजनीतिक नेताभन्दा कवि चेतनामाथि हुन्छ भन्ने दृश्टान्त हो यो । मैले धराको पाण्डुलिपि पाँच जना नेतालाई पढ्न दिएँ । धेरैलाई नेताहरूले पढेनन् होला भन्ने लाग्छ । होइन, सबैले पढे र टिप्पणी समेत लेखे ।

तपाईँको कारणले देश बिग्रेको छ र देशप्रतिको तपाईँको दृष्टिकोण खराब छ भनेर तिनै नेतालाई पढाउन सक्नु सायद राम्रै कुरा होला । बीस पचास जना एक ठाउँमा जम्मा हुने अनि देशले हाम्लाई हेरेन भनेर रुन्चे स्वर गरेर हुन्न । 

जोडदारसँग देश लेख्नुपर्छ र देशको नेतृत्वलाई खवरदार गर्नुपर्छ भन्ने मेरो विचार थियो र छ । प्रधानमन्त्री भइसकेका फरकफरक पाँच राजनीतिक दलका पाँच नेतालाई यसरी काव्यिक कठघरामा ल्याउँदा कवि जमातले मलाई स्यावास भन्ला भन्ठानेको थिएँ तर मैले निकै ठूलो आलोचना खेप्नुप¥यो ।

कतिले उपहास गरे, कतिले खिसिट्युरी गरे तर माया गर्ने पनि भेटिए । तर आज धराप्रति आकर्षण बढेको छ र धेरैले माया गरेका छन् । स्नातक र स्नातकोत्तरमा शोधहरू भएका छन् । खोजीखोजी पढ्नेहरूको सङ्ख्या बढेको छ । म उत्साही छु । वर्तमानलाई धन्यवाद । नयाँ पुस्ता हुर्कँदै आएपछि एक दिन नयाँसमय आउला र धराको थप मूल्याङ्कन होला भन्ने विश्वास छ । धरा २०७३ मा प्रकाशनमा आएको हो ।

क्रमशः एक्लै एक्लै


आजको समय भीडहरूमा एक्लो हुने समय हो । बाक्लो भीडमा एकले अर्कालाई धक्याउँदै हिँडे पनि कसैले कसैको मुटु छुँदैन, दिल छुँदैन । प्रत्येक व्यक्ति एकपछि अर्को, अर्कोपछि अर्को गर्दै हिँडिरहेछ भीडमा । भीडमा हिँडिरहेछ, केवल क्रमशः क्रमशः हिँडिरहेछ तर एक्लै एक्लै । यो वर्तमानको चरित्र हो । यही चरित्रको वरिपरि छ क्रमशः एक्लै एक्लै ।

यो गद्य कवितासङ्ग्रह हो । साझा प्रकाशनले २०७४ मा प्रकाशन गरेको यस सङ्ग्रहमा विभिन्न समयमा लेखिएका ३७ वटा कविताहरू समावेश छन् । यो धराअघि नै तयार थियो तर धराको हतारोमा रहेका कारण केही समय थाती राखेर धरा प्रकाशनको एक वर्षपछि बजारमा आएको हो ।

 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...