बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मैत्री तेक्वान्दोको आयुशलाई स्वर्ण

शुक्रबार, ०१ कात्तिक २०७६, १८ : ४१
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि चितवनको रत्ननगरमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ३६ केजी तौल समूह मुुनि मुलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेलले स्वर्ण पदक जितेका छन् । फाइनलमा उनले मैत्री तेक्वान्दो डोजाङका सागर घिमिरेलाई पराजित गरे ।

न्युलाईफका सुगम चौधरी र अल्फाका जस्गिन चौधरी तेस्रो भए । पुरुष ३३ केजी मुनि वेस्टर्न इस्टका कलिशान्त नाथले स्वर्ण जिते । कलीले फाइनलमा दोधारा चाँदनीका शिशिर ठगुन्नालाई हराए । शरित सौराहाका जनक दर्लामी र भैरहवाका शिवबहादुर क्षेत्री तेस्रो भए । पुरुष ४५ केजी मुनि द एभरेष्टका शंकर गौतम पहिलो भए । फाइनलमा उनले एरिस्टोका रुपेश सिंहलाई हराए । दिलिप स्मृतिका रमन तामाङ र सिद्धज्योतीका राजिव थापा तेस्रो भए ।

प्रतियोगिताको उद्घाटन रत्ननगर नगरपालिकाकी उपमेयर विमला दवाडीले गरिन् । उक्त अवसरमा अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का निर्देशक दिवाकर मर्हजन, लव गोर्खाली, नेपाल तेक्वान्दो संघ प्रदेश ३ का अध्यक्ष केशव पुरी, तेक्वान्दोका मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठ, तेक्वान्दोका प्रशिक्षक मिन न्यौपाने, राजेश प्रजापती, श्रीमान थापामगर, फडिन्द्र खड्का लगायतलाई सम्मान गरिएको थियो ।
शनिबारसम्म चल्ने दुई दिने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै, पुम्सेमा ८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) र ललितपुर मैत्री तोक्वान्दो डोजाङको सहयोग तथा सहकार्यमा सञ्चालित प्रतियोगितामा विभिन्न ४० जिल्ला, विभागीय टोलीको नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र विभिन्न डोजाङका खेलाडीले कूल ५४ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ ५४ केजी मुनि, ५८ केजी मुनि, ६३ केजी मुनि, ६८ केजी मुनि, ७४ केजी मुनि र ८० केजी मुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ सहभागी खेलाडीले ४६ केजी मुनि, ४९ केजी मुनि, ५३ केजी मुनि र ५७ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा १८ बर्षभन्दा माथिको तौलसमूह अन्तर्गत पुरुषतर्फ ३ र महिलातर्फ दुई गरी पाँच जना उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फका उत्कृष्ट तीन र महिलातर्फ उत्कृष्ट दुई जना खेलाडीलाई सन् २०२० को मेमा अमेरिकाको मिसिगनमा आयोजना हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा सहभागी गराइने आईओएफटीसीका निर्देशक दिवाकर मर्हजनले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक, उत्कृष्ट टिम र उत्कृष्ट तेक्वान्दो प्रदर्शनी गर्ने खेलाडीलाई पनि जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताको संयोजक पुष्पराज जोशीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप