शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई बालिकामाथि यौनशोषण गर्ने शिक्षक पक्राउ

शुक्रबार, ०१ कात्तिक २०७६, १४ : ३०
शुक्रबार, ०१ कात्तिक २०७६

जनकपुर । धनुषाको मिथिला नगरपालिकामा एक निजी विद्यालयका शिक्षकले यौनशोषण गरेको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएलगत्तै प्रहरीले यौन शोषणमा संलग्न शिक्षकलाई पक्राउ गरेको छ ।

ढल्केबरस्थित ढल्केबर एकेडेमी बोर्डिङ्ग स्कुलमा मिनी बोडर्समा रहेर पढ्दै आएका दुई नाबालिकालाई केही समयदेखि पटक–पटक करणी गर्दै आएका शिक्षक टेकेन्द्र दहाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दाहाल झापाको मेची नगरपालिका–३ निवासी हुन् ।

पीडित बालिकामध्ये एउटी ७ वर्षीया र अर्की ९ वर्षीया छन् ।

घटना सार्वजनिक भएपछि गत असोज २८ गते शिक्षक टेकेन्द्रलाई ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । ढल्केवर बोर्डिङ स्कुलमै बस्दै आएका टेकेन्द्रले सामाजिक विषय अध्यापन गराउँदै आएका थिए ।

दसैँ अघिदेखि नै बिदाको मौकाछोपी मिनी बोडर्समा पढ्दै गरेका ती बालिकालाई शिक्षक टेकेन्द्रले ललाईफकाई तथा धाकधम्की दिँदै पटक पटक जवरजस्ती करणी गर्दै आएको जनाइएको छ । कसैलाई भनेमा मारिदिने धम्की दिँदै आएका कारण पीडित दुवै बालिकाले डरको कारण घटना सार्वजनिक गरेका थिएनन् ।

प्रहरीका अनुसार घटना सार्वजनिक भएपछि पीडित दुवै बालिका र आरोपी शिक्षकको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । टेकेन्द्रमाथि जबरजस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप