मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी म्यानमारबाट सिधै जापान जाने, भारत र जापानको उच्च नेतृत्वसँग भेटवार्ता हुँदै

शुक्रबार, ०१ कात्तिक २०७६, १३ : ३९
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छिन् ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्नुहुने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिनु हुनेछ । उक्त समारोहपछि उनी सम्राट नारुहितोले आयोजना गर्नुहुने राजकीय भोजमा सरिक हुनेछिन् ।

भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्नुहुने स्वागत समारोहमा भाग लिनेछिन् । यसैगरी उनले जापानस्थित गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिने जनाइएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहनेछन् । राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप