शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पञ्चमी स्नान : एउटा निःशुल्क तमासा

बुधबार, ३२ साउन २०७४, १३ : ४०
बुधबार, ३२ साउन २०७४

समाजमा अवस्थित तथा व्यवस्थित रूढि, अन्ध परम्परा, कुसंस्कार र धर्मान्धता जस्ता प्रगतिविरोधी प्रवृत्तिहरू सामाजिक श्रमिक विकासको दौरानमा विशेषगरीकन शिक्षाको विकास र वैज्ञानिक चमत्कारहरूले गर्दा क्रमशः अलिअलि भए पनि सुधारतर्फ अग्रसर हुँदै जान्छन् । 


यसै सन्दर्भमा भनौँ नेपालको धार्मिक रूढिअन्तर्गत नारी शोषणका निम्ति प्रचलनमा ल्याइएका वर्षभरिमा लिनपर्ने दुई महत्वपूर्ण व्रत हरितालिका तीज र ऋषि पञ्चमी आजसम्म पनि नेपालका आर्यनारीहरूलाई बाध्यताको रूपमा लादिएको छ । 


यी दुईवटा व्रत आर्यनारीहरूले नलिईकन सुखै छैन । क्रमिक विकासको नाममा केसम्म भएको छ भने आजभोलि तीजको व्रत लिने शिक्षिताहरू यसो लुकेर खाने गर्छन् । मेरै घरमा तीजका व्रतधारी महिलाहरूले कत्तिपल्ट डबल अम्लेट र मिश्री काँडा उडाएर गएका छन् । म यसलाई सराहना गर्छु । 


आजभोलि शिक्षित पतिहरू आफ्नो धनधान्य र दीर्घायुको कामना गर्न तीस घण्टाको उपवास (पानी पनि पिउन नपाउने) बस्ने विवश पत्नीहरूको निम्ति गुँदपाक र यस्तै तागतबद्र्धक खानेकुरा लुकाएर ल्याइदिन्छन्, म यसको पनि सराहना गर्छु । 


यस्तै पञ्चमीको व्रत लिने शिक्षिताहरूको आजभोलि रीतअनुसार प्रयोग गर्नुपर्ने सामानहरू बगाइवरी केवल स्नान गरेर आउँछन् । यसो आँखा छल्न पाए चियासिया पिउने पनि गर्छन् । म यसको पनि सराहना गर्छु । यसले के सङ्केत गर्छ भने अब यस धार्मिक रूढिप्रति केही महिलाहरूको विश्वास उठ्नथालेको छ तर सभ्यताको पाङ्ग्रा अलिक छिटो–छिटो गुडेको हेर्न चाहनेहरूले क्रमिक विकासमा मात्र भर परेर हुँदैन ।


यस्ता रूढिहरूलाई क्रमशः सजिलो पार्दै पूरै उन्मूलनतर्फ लैजाने कुरा सोच्नुपर्छ । पुराना विचार राख्नेहरूसँग बराबर बहस पनि गर्नुपर्छ कतै कतै विद्रोह पनि गर्नुपर्छ । यी त भए सकारात्मक पक्ष र सोचाइहरू तर विगत पाँच, छ वर्ष अनुभव समाल्दा विशेषगरी पञ्चमीको व्रत सुधारतर्फ नगएर भयङ्कर विकृतितर्फ गइरहेको भान हुन्छ । 


पुँजीवादी संस्कृतिको सङ्क्रमण र हिन्दी फिल्मको प्रभावमा परी यो पञ्चमी व्रत पुरुषहरूको मनोरञ्जनको निम्ति निःशुल्क साधन बन्नपुगेको छ । पुरुष हैकमवाला समाजमा अधिकांश पुरुषहरू महिलाहरूबाट सेवा मनोरञ्जन नै खोज्छन् । 


यस्तो स्थितिमा महिलाहरू पनि पुरुषलाई नै मनोरञ्जन दिउँ, खुशी पारौँ भन्ने चाहना राख्छन् भने दोष कसको ? यसपालाको पञ्चमी व्रतमा विष्णुमतिमा स्नान गर्ने महिलाहरूको क्रियाकलाप पुरुष जमातका निम्ति निःशुल्क तमासा भएको थियो । यस्तै तमासा टेकु दोभान र पशुपतिमा पनि भएको हुनुपर्छ । 


यसपालि त यो स्नानले यत्ति उछृङ्खल रूप लियो कि त्यो स्नान हेर्ने पुरुषहरूको आँखामा जस्ताको तस्तै बास बसिरहेको होला । घुँडे पानीमा अर्धनग्न पल्टिएर, विभिन्न मुद्रामा अङ्ग प्रदर्शन गरी समयभन्दा बढी जलक्रीडामा मग्न भएर पुल, पाटी र बगरभरि उभिएका लोलुप पुरुषहरूलाई आँखे मनोरञ्जन दिन महिलाहरू प्रशस्त सफल भएका थिए । 


त्यो दिन कसैलाई पनि पञ्चमी स्नानको बोध भइरहेको जस्तो देखिएन । उनीहरू मात्र के सोचिरहेका थिए भने ती तमासे पुरुषहरूको ध्यान कसरी आकर्षित गरूँ । लामोभन्दा लामो जलक्रीडालाई मन नगरी–नगरी सिध्याएपछि जुवारी गीत सुरू भयो । गीतमा महिलाहरूका व्यथा गाथाहरू केही पनि थिएनन् । 


यस किसिमका गीत प्रायः उच्छृङ्खल हुने गर्छन् । यसपाला गीतले अश्लीलताको सीमा पार गरेको थियो । अशिक्षित नै किन नहोउन्, महिलाहरूलाई पुरुषहरूसँग यस किसिमका गीत दोहोरी गाउन लाज लाग्दैन ? गीतहरू सुन्दा र जलक्रीडाको विकृति परिपाटी देख्दा यस्तो लाग्यो नेपाली महिलाहरू स्वतन्त्र छन्, यस्तो परिभाषा कस्तो हुन्छ त्यो बुद्धिजीवी वर्गहरूलाई व्याख्या गरिरहन पर्दैन । 


स्मरण रहोस्, पञ्चमी स्नानको बाध्यता मङ्गोल नारीहरूलाई छैन तर यसपालि जलक्रीडाको लोभमा परेर हो अथवा अङ्ग प्रदर्शनको कारणले हो, केही मङ्गोल महिलाहरू पनि बडो आधुनिक तरिकाले पानीमा जलपरी जस्तै खेलिरहेका देखिए । सुधार गर्दै  लानुपर्ने रूढिलाई अनिवार्य नहुनेहरूले पनि यसरी हृदयङ्गम गरेको देख्दा महिला मुक्तिकामीहरूको चित्त काटिनु स्वाभाविक हो ।


रेडइङ्क बुक्स
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पारिजात
पारिजात
लेखकबाट थप