बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निदानमा मिर्गौला तस्करी : ‘मुख्य भूमिका’ भएका डा. पुकार किन पर्दैनन् पक्राउ ?

पूर्वप्रधानन्यायाधीश श्रेष्ठका सहोदर भाइ हुन् पुकार
शुक्रबार, ०१ कात्तिक २०७६, ११ : ३६
शुक्रबार, ०१ कात्तिक २०७६

प्रहरीले नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा ललितपुरस्थित निदान अस्पतालका सीइओसहित ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले अस्पतालका सीइओ बिपेन्द्र प्रधानसहित ५ जनालाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

घटना हो– साउन २३ गतेको । अस्पतालले नक्कली नाता प्रमाणित गराइ मिर्गौला प्रत्यारोपण गरेको प्रहरीको भनाइ छ ।

गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत अधिकृत पनि संलग्न

मिर्गौला तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत एक अधिकृतसमेत पक्राउ परेका छन् । रामचन्द्र आले गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालयमा कार्यरत थिए ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा रहेका अधिकृत आले घटनाको केही समयपछि मात्रै गृहमन्त्री थापाको सचिवालयमा काज सरुवा भएको पाइएको छ ।

यस्तै, पक्राउ पर्नेमा निदान अस्पतालका कानुन अधिकृत कुमुदकुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त र मिर्गौला लिने शंकरलाल लामा छन् ।


डा. पुकारलाई पहिले थाहा थियो

डा. पुकारचन्द्र श्रेष्ठ निदान अस्पतालका एकमात्र मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक हुन् । साथै उनी उक्त अस्पतालका सेयर होल्डर पनि हुन् । अस्पताल स्रोतका अनुसार नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको घटनाबारे सुरुमै थाहा थियो डा. पुकारलाई ।

*****

डकुमेन्टमा टाँसेको फोटो र मान्छेको अनुहार नमिलेपछि शान्तिले डा. पुकारलाई घटनाबारे जानकारी गराइन् । शान्तिले त्यतिबेला ‘यो काम फल्ट हो नगरौँ’ समेत भनेकी थिइन् । शान्तिले घटनाबारे बिफ्रिङ गर्नुअघि नै डा. पुकारलाई घटनाबारे थाहा भइसकेको थियो । शान्तिले घटनाबारे बिफ्रिङ गरेपछि डा. पुकारले उल्टै ‘तपाईं चुप लाग्नुस्’ भनेको पाइएको छ ।

*****

सोही दिन एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने थियो । मिर्गौला प्रत्यारोपण गर्ने भनेपछि अस्पतालले विभिन्न ‘डकुमेन्ट’ तयार पारेको थियो ।

निदान अस्पालकी नर्सिङ इन्चार्ज हुन् शान्ति । मिर्गौला प्रत्यारोपण गर्नुअघि शान्तिले डकुमेन्टमा टाँसिएको फोटो हेरिन् । मिर्गौला प्रत्यारोपण गर्न आएका व्यक्तिसँग मेल खाएन ।

डकुमेन्टमा टाँसेको फोटो र मान्छेको अनुहार नमिलेपछि शान्तिले डा. पुकारलाई घटनाबारे जानकारी गराइन् । शान्तिले त्यतिबेला ‘यो काम फल्ट हो नगरौँ’ समेत भनेकी थिइन् ।

शान्तिले घटनाबारे बिफ्रिङ गर्नुअघि नै डा. पुकारलाई घटनाबारे थाहा भइसकेको थियो । शान्तिले घटनाबारे बिफ्रिङ गरेपछि डा. पुकारले उल्टै ‘तपाईं चुप लाग्नुस्’ भनेको पाइएको छ ।

घटनाको अघिल्लो दिन मिर्गौला किनबेच कसरी गर्ने भन्ने योजना बनेको थियो । स्रोतका अनुसार साउन २२ गते साँझ अस्पताल प्रशासनका सीइओ प्रधान र डा. श्रेष्ठबीच एक चरणमा छलफल भइसकेको थियो ।

छलफलका क्रममा डा. पुकारले ११ लाख रुपैयाँ आउने भए किन काम नगर्ने भन्ने जस्ता कुराहरु समेत गरेको स्रोतको भनाइ छ । 

डा. पुकार र अस्पताल प्रशासन प्रमुखबीच भएको छलफलमा मिर्गौला प्रत्यारोपण गर्ने सहमति भएको खुल्न आएको नाम नबताउने सर्तमा अस्पतालमा कार्यरत एक डाक्टर बताउँछन् ।

सहमतिमा यस्तो कुरासमेत भएको पाइएको छ – ‘पहिला मोटो थियो । अहिले दुब्लायो भनौँला । मान्छे त्यही हो भनेर हतार–हतार फोटो पनि परिवर्तन गरिएको थियो ।’

शान्तिलाई जिम्मेवारीमुक्त गर्ने तयारी

घटना बाहिर ल्याएको भन्दै अस्पताल शान्तिलाई जिम्मेवारीमुक्त बनाउने तयारीमा छ । सोही अस्पतालमा कार्यरत एक कर्मचारीले भने, ‘शान्तिलाई अस्पतालले जिम्मेवारीमुक्त बनाउन लागिपरेको छ । अस्पतालले पनि उनलाई राम्रो मान्दैन ।’

घटना कसरी आयो बाहिर  ?

रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मिर्गौला किनेर प्रत्यारोपण गराएका हुन् ।

लामाका आफन्तले काभ्रेका ३७ वर्षीय एक युवकलाई ३ लाख रुपैयाँ दिएर मिर्गौला किनेका थिए । जिल्ला प्रशासन कार्यालय ललितपुरमा शाखा अधिकृत रहेका बेला आलेले मिर्गौला प्रत्यारोपण अनुमति दिने समितिमा रहेर स्वीकृतिको हस्ताक्षर गरेका थिए ।

मिर्गौला प्रत्यारोपण गर्ने भएपछि लामाको परिवारले रामेछापको दोरम्बा–३ को वडा कार्यालयबाट भान्जाले मिर्गौला दिने भन्दै नाता प्रमाणितको सिफारिससमेत ल्याएको खुलेको छ ।

सिफारिसपत्रमा सक्कली भान्जाकै नाम र फोटोसमेत टाँसिएको थियो । मिर्गौला प्रत्यारोपण समितिमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रधान, कानुन अधिकृत भट्टराई, डा. राजेश पन्त र जिप्रका ललितपुरका अधिकृत आले थिए । सबैले प्रमाणीकरण गरेरै प्रत्यारोपणको अनुमति दिएका हुन् ।

सिफारिस पत्रमा सक्कली भान्जाको नाम र तस्बिर भए पनि मिर्गौला दिने बेला नक्कली व्यक्ति खडा गरिएको प्रहरीको भनाइ छ ।

मिर्गौला दिने भान्जा भए पनि पछि अस्पताल परिसरमै सस्तोमा मिर्गौला दिने अर्को व्यक्ति भेटेपछि लामाले भान्जाको नाममा वडाले दिएको सिफारिस पत्रको आधारमा नक्कली व्यक्ति खडा गरेका हुन् ।

सस्तोमा अरुसँग मिर्गौला किनबेच गरेको हल्ला बाहिर ल्याइदिन्छ भन्दै डा. पुकारको आदेशमा लामाको भान्जा भनेका व्यक्तिलाई ७ दिनसम्म थुनेर राखिएको थियो । जब बाहिर निस्किए, अनि ती व्यक्तिले नै घटनाबारे बाहिर ल्याएका हुन् ।

प्रहरी स्रोतका अनुसार लामाले मिर्गौला दिने भनेर खडा गरेका नक्कली व्यक्ति एक दलालमार्फत काभ्रेका युवासँग मिलेर ल्याएको बताइन्छ ।

जबकि उपचारमा संलग्न अस्पतालकै स्टाफ नर्सले समेत सिफारिसपत्रमा फोटोको भन्दा फरक व्यक्ति भएको बताएकी थिइन् । तर, डा. पुकारको सामू अस्पतालमा कसैको केही लागेन । अन्ततः त्यही नक्कली व्यक्तिबाट मिर्गौला किनबेच भयो ।

प्रहरीमा उजुरी

सुरुमा मिर्गौला दिने व्यक्तिलाई ३ लाख बैङ्क खाताबाट दिइयो । ३ लाख रुपैयाँमात्र दिइएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको ब्यूरोका एसपी गोविन्द थपलियाले जानकारी दिए ।

घटना भएको १० दिनपछि पीडित पैसा पाइनँ भन्दै प्रहरीकोमा पुग्यो । पीडितको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो, ‘३ लाख मात्र पाएँ । डिल गरेको रकमभन्दा थोरै पाएँ । मलाई झुक्याएर निदान अस्पतालले किड्नी निकालिदियो । उजुरी हाल्छु ।’

यहाँ पीडितको भनाइलाई हेर्ने हो भने मिर्गौला झुक्याएर झिकिएको होइन, सहमतिमै मिर्गौला किनबेच भएको थियो । तर, पीडित अस्पतालले झुक्यायो भन्दै गयो । उनीहरुबीच कति रुपैयाँमा ‘डिल’ भएको स्पष्ट प्रमाण पनि छैन ।

ती व्यक्तिको कुरा सुनेपछि प्रहरी तत्कालै अस्पताल पुग्यो । जहाँ नर्सिङ इन्चार्ज शान्ति पनि थिइन् । घटनाबारे जानकार शान्तिले प्रहरीलाई ढाँट्न सकिनन् र सत्यतथ्य के हो सबै भनिन् ।

प्रहरी समक्षको बयानमा पनि शान्तिले भनिन्, ‘यो घटनाबारे अस्पतालका डा. पुकार र प्रशासन पहिला नै जानकार थिए । थाहा पाउँदापाउँदै अप्रेशन गरेका हुन् ।’

घटना लुकाउन पत्रकार सम्मेलन

घटना बाहिर आउन थालेपछि डा. पुकारले अरुलाई फसाउन खोजेको भन्दै पत्रकार सम्मेलन नै गरे । पत्रकार सम्मेलनमा प्रशासनले हेरेको केस हो भन्दै पुकार पन्छिन खोजेका थिए ।

पत्रकार सम्मेलनमा सहभागी एक पत्रकारले डा. पुकारको भनाइ उद्धृत गर्दै भने, ‘प्रशासनले ठिक छ भन्यो भने अप्रेशन गर्ने हो ।’ टीम मेम्बरलाई फसाएर आफू जोगिन डा. पुकारले पत्रकार सम्मेलन गरेको निदान अस्पतालमा कार्यरत डाक्टरहरु नै बताउँछन् ।

यस्तो अवस्थामा पनि डा. पुकार भने पक्राउ परेका छैनन् । जबकी घटनाको अनुसन्धान गर्ने हो भने पहिले पुकारलाई पक्रेर अनुसन्धान गर्नुपर्ने अस्पतालका डाक्टरहरु बताउँछन् ।

प्रहरी किन डरायो ?

प्रहरी डराउनुको कारण बुझ्न गाह्रो छ । डराउनुको एउटा कारण चाहिँ अनुमान गर्न सकिन्छ– पुकार पूर्वप्रधानन्यायधीश कल्याण कुमार श्रेष्ठका (सहोदर) भाइ हुन् ।

पुकारले पैसाको लागि जे पनि गर्छन् भन्ने कुराको इतिहास नै खोतल्ने हो भने निदान अस्पतालका निर्देशक थिए आफ्नै भतिज अभिषेक श्रेष्ठ ।

अभिषेकको निदान अस्पतालमा सबैभन्दा धेरै लगानीसमेत थियो । आपसी विवादका कारण पुकारले भतिज अभिषेकलाई निर्देशकबाट बर्खास्त गरेका हुन् । त्यतिबेला पनि बिपेन्द्र सीइओ नै थिए ।

भतिज अभिषेकको सम्पत्तिमा पनि पुकारले कसो–कसो गरेर कब्जा जमाइरहेको चर्चा पनि चलेको छ ।

*****

डा. पुुकार भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशकसमेत हुन् । उनी सरकारी नर्स, डाक्टरहरुलाई निदानमा काम गर्ने ‘वातावरण’ मिलाउने गर्थे र निदान अस्पतालमा आएर काम गर्न केन्द्रमा बिदा मिलाइदिने व्यवस्थासमेत डा. पुकारले नै गर्दै आइरहेको स्रोत बताउँछ । मानव अङ्ग प्रत्यारोपण केन्द्रका प्रशासन प्रमुखलाई समेत पुकारले निदान अस्पतालको लेखामा राखेको पाइएको छ ।

*****

डा. पन्त ‘डेपुटी डाइरेक्टर’ हुन्

हालसम्म पनि निदान अस्पतालमा ‘डाइरेक्टर’ छैनन् । भतिज अभिषेकलाई बर्खास्त गरेपछि पुकारले डा. राजेश पन्तलाई डेपुटी डाइरेक्टरको जिम्मेवारी दिएका थिए ।

मिर्गौला प्रत्यारोपण समितिमा डाइरेक्टर नभएपछि डेपुटी डाइरेक्टर रहेका पन्तलाई राखिएको थियो ।

निदान अस्पतालकै डाक्टरहरु भन्छन्, ‘इमान्दार काम गर्ने डा. पन्तलाई पुकारले फसाए । मिर्गौला प्रत्यारोपण समितिमा डाइरेक्टर नभएपछि पन्तलाई राखिएको हो ।’

राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशकसमेत हुन् पुकार

डा. पुुकार भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशकसमेत हुन् । उनी सरकारी नर्स, डाक्टरहरुलाई निदानमा काम गर्ने ‘वातावरण’ मिलाउने गर्थे र निदान अस्पतालमा आएर काम गर्न केन्द्रमा बिदा मिलाइदिने व्यवस्थासमेत डा. पुकारले नै गर्दै आइरहेको स्रोत बताउँछ । मानव अङ्ग प्रत्यारोपण केन्द्रका प्रशासन प्रमुखलाई समेत पुकारले निदान अस्पतालको लेखामा राखेको पाइएको छ ।

नाम नबताउने सर्तमा निदान अस्पतालका एक कर्मचारीले रातोपाटीसँगको कुराकानीमा भने, ‘मानव अङ्ग प्रत्यारोपण केन्द्रका प्रशासन प्रमुखले नै निदान अस्पतालमा लेखा हेर्छन् ।’

डा. पुकारले कुनै मेसिन खरिद गर्नपर्यो भने मानव अङ्ग प्रत्यारोपण केन्द्र र निदान अस्पतालमा एकैपटक खरिद गर्ने गरेको समेत पाइएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्रको लागि किनेको मेसिन नचलाउने र निदान अस्पतालमा किनिएको मेसिन चलाउने गरेको आरोप पनि पुकारमाथि छ ।

*****

जतिले भनिन्, ‘११ जना नर्सहरु डा. पुकारको ज्यादतीविरुद्ध काम नै छाडेर अस्पताल परिसरमा आमरण अनसन बसेका थियौं । त्यसपछि वार्ताको लागि भनेर स्वास्थ्य मन्त्रालयमा बोलाइयो । स्वास्थ्य मन्त्रालय गयौँ । मन्त्रालयकै परिसरबाट डा. पुकारले हामीहरुलाई पक्रेर थुन्न लगाए ।’

*****

किन चलाउँदैनन् केन्द्रको मेसिन ?

पुकारले मानव अङ्ग प्रत्यारोपण केन्द्रको लागि किनिएको मेसिन नचलाउनुको कारण पनि रोचक छ । एउटा उखान छ– धन देखेपछि महादेवको ‘त्रिनेत्र’ ।

यो उखान ठ्याक्कै पुकारसँग मेल खान्छ । धनको लागि उनी जे पनि गर्न तयार हुन्छन् । सरकारी अस्पतालमा किनिएको मेसिन नचलाउनुको कारण त्यही हो ।

केन्द्रका एक कर्मचारीले भन्छन्, ‘मानव अङ्ग प्रत्यारोपणको मेसिन बिग्रिएको छ, यस्तो मेसिन निदान अस्पतालमा पनि छ । उतै गएर उपचार गराउनुस् भन्दै डा. पुकारले गलत प्रचार गर्ने गर्छन् ।’

डा. पुकार मानव अङ्ग प्रत्यारोपण केन्द्रको निर्देशक हुँदा त्यहाँ पनि मिर्गौला किनबेचको एउटा घटना घटेको स्रोत बताउँछ । उक्त घटनामा पनि उनको संलग्नता रहेको स्रोत बताउँछ । त्यतिबेला मानव अङ्ग प्रत्यारोपण केन्द्रको घटनालाई जसोतसो ढाकछोप गरेर उनले सामसुस बनाएका थिए ।

‘तर, अहिले यो एउटा सार्वजनिक भयो । यो बीचमा उनले यस्ता केस कतिवटा मिलाउँदै आए ? अनुसन्धान हुनुपर्छ,’ ती अस्पतालकै एक डाक्टर भन्छन्, ‘पैसा खाएर यस्तो काम गरेको खोज्ने हो भने डा. पुकारले एउटा गिरोह नै सञ्चालन गरेको खुल्न सक्छ । यो यथार्थ पनि हो ।’

शाक्तिको आडमा नर्सहरु नै पक्राउ

२०७६ जेठ ३ गते मानव अङ्ग प्रत्यारोपण केन्द्रमै त्यहाँका नर्सहरुले उनले गरेको ज्यादतीविरुद्ध आमरण अनशन बस्दासमेत उनले प्रहरी प्रशासन प्रयोग गरेर पक्राउ गराउन सफल भए ।

मन्त्रालयमा डेलिगेसनको लागि नर्सहरुलाई बोलाउँदा प्रहरी लगाएर डा. पुकारले पक्राउ गरेर थुन्न लगाएका हुन् । त्यतिबेला समेत प्रहरीले ‘माथिको आदेश’ भन्दै उनीहरुलाई पक्राउ गरेको थियो ।

शान्तिपूर्ण धर्नामा बसेका ११ जना नर्सलाई महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनको नेतृत्वकर्ता नर्स त्रजिना जतीले बिरामीको सेवासहित शान्तिपूर्ण धर्नामा बसेका नर्सलाई अस्पताल प्रशासनले प्रहरी लगाइ पक्राउ गरेको बताइन् ।

जतिले भनिन्, ‘११ जना नर्सहरु डा. पुकारको ज्यादतीविरुद्ध काम नै छाडेर अस्पताल परिसरमा आमरण अनसन बसेका थियौं । त्यसपछि वार्ताको लागि भनेर स्वास्थ्य मन्त्रालयमा बोलाइयो । स्वास्थ्य मन्त्रालय गयौँ । मन्त्रालयकै परिसरबाट डा. पुकारले हामीहरुलाई पक्रेर थुन्न लगाए ।’

‘मानव अङ्ग प्रत्यारोपण केन्द्रमा महिनौै दिनसम्म आन्दोलन हुँदा पनि पुकारले राजीनामा किन दिँदैनन् ?,’ जति प्रश्न गर्छिन् ।

यस विषयमा डा. पुकारसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

‘सत्यतथ्य छानबिन हुन्छ’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले डा. पुकारको घटनाबारे आफूलाई विस्तृतरुपमा थाहा नभएको बताए । उनले भने, ‘घटनाबारे छिट्टै अनुसन्धान हुन्छ । सत्यतथ्य छानबिन हुन्छ ।’

‘मिर्गौला किनबेच जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न र कुनै पनि किसिमको उन्मुक्ति नदिन प्रहरी प्रतिबद्ध छ,’ पोखरेलले रातोपाटीसँगको कुराकानीमा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप