बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शव चिरेको हेर्न र सहनै सकिनँः कलाकार रमेश बुढाथोकी

बुधबार, ३२ साउन २०७४, १२ : ४९
बुधबार, ३२ साउन २०७४

काठमाडौँ– ‘भुइँमान्छे–२’ भदौबाट प्रदर्शनमा आउने चलचित्र हो । चलचित्रले पोस्टमार्टम गरेर जीवन जिउँदै आएको एक व्यक्तिको कथा उठाएको छ । प्रचार प्रसारका लागि सार्वजनिक गरिएको चलचित्रको टिजर र ट्रेलरले चलचित्र प्रति कौतुहल जगाउन सफल देखिन्छ ।


चलचित्रका मुख्य पात्र कलाकार रमेश बुढाथोकी रहेका छन् । बुढाथोकीले चलचित्रमा लास काट्कुट गर्ने एक व्यक्तिको भूमिका निर्वाह गरेका छन् । यो अभिनयका लागि बुढाथोकीले अनेक सङ्घर्ष र मिहिनेत गर्नु परेको छ । 


चलचित्र अभिनय अगाडि पात्रलाई न्याय गर्न उनले लास चिर्ने एक व्यक्तिसँग केही दिन बिताएका छन् । जसका लागि उनी गण्डकी अञ्चल अस्पताल पोखराको मुर्दा घरमा पुगे । चलचित्रका लागि भनेपछि अस्पतालले सजिलै उनलाई मुर्दाघर छिर्न अनुमति दियो । उनी मुर्दा चिर्ने मान्छेसँग मुर्दाघरभित्र छिरे । उनीसँग मुर्दाघरमा छिर्ने बेला दशकदेखि मुर्दा चिर्दै आएका एक व्यक्ति थिए । ‘मलाई डर लागिरहेको थियो’ रमेशले भने ‘मसँग जाने व्यक्ति बानी परिसकेको होला निर्धक्क देखिन्थ्यो ।’ 


मुर्दाघरभित्र रमेश छिरे, शवहरु देखेर झनै डराए । तर पनि उनले मनलाई दह्रो गरेर सम्हाले । उनको पेशा त कलाकारिता थियो । तर, चलचित्रमा उनले लासहरुसँग खेल्नुपर्ने बाध्यता थियो । ‘चलचित्रको पात्रलाई न्याय गर्नका लागि मैले वास्तविकता बुझ्नुको विकल्प थिएन ।’ मुर्दा घरभित्र छिर्दाको अनुभव सुनाउँदै बुढाथोकीले भने, ‘उसले भुइँमा लडेको लास उठायो । हेर्दा हेर्दै चिरेर दुई फ्याक बनायो । घाँटीबाट ब्लेड जस्तो सामग्रीले तलसम्म चिर्यो । शवका आन्द्रा भँुडी सबै देखिए । मैले हेर्न सकिनँ । सहन सकिनँ । वान्ता होला जस्तो भयो । थाम्न सकिनँ र बाहिर निस्किएर वान्ता गरेँ ।’


चार दिनसम्म रमेशले लगातार मुर्दा काट्ने मान्छेको सङ्गत गरे । ऊसँगै बस्थे । ऊसँगै कुरा गर्थे । अनि उनलाई नै सघाउँथे । तर खाना खाँदा र राति सुत्दा मुर्दाघरको झझल्कोले उनलाई सताउन थाल्यो । केही छाक त उनले खान खान पनि सकेनन् ।


त्यसपछि उनले त्यहाँ काम गर्ने व्यक्तिको व्यवहार पनि अध्ययन गरे । उसँग कुरा पनि गरे । जब मुर्दा काट्ने मान्छेको अनुभव उनले सुनेँ– उनका शरीर नै जिरिङ्ग गर्न थाल्यो । शरीरका रौँहरु ठाडो हुनथाले । रमेश भन्छन्– ‘उसको सपनामा सधैँ मुर्दाहरु आउँछन् रे । उसलाई सधैँ पिट्छन् रे । झगडा गर्छन् रे । चिरिएको, काटिएको अनुहार, दुई फ्याक भएका मान्छेहरु उठेर उसको हत्या गर्न खोज्छन् रे ।’


रमेशले व्यक्तिसँग कुरा गरे उसलाई सामाजिक परिवेशमा पनि नकारात्मक दृष्टिले हेरिँदोरहेछ । ‘मुर्दा घरमा काम गर्नेलाई समाजले नराम्रो दृष्टिकोणले हेर्छ । ठ्याक्कै उसको जीवनमा पनि त्यही रहेछ’  रमेशले थपे ‘अब त उसलाई बानी परिसके छ । सबै पचाइसकेको रहेछ ।’


उनीसँगै राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ पनि चलचित्रमा मुख्य आर्कषणका रुपमा प्रस्तुत भएकी छिन् । सिपोराले यही चलचित्रबाट डेब्यु गरेकी हुन् । पोस्टमार्टमको कथामा बनेको चलचित्रलाई नवराज बूढाथोकीले निर्देशन गरेका छन् । फरक कथा र शैलीमा निर्माण भएको चलचित्र भएकाले दर्शकले चलचित्र मन पराउने अपेक्षा निर्माता रोहिणी भट्टराईले गरेका छन् ।


भुइँमान्छे मेडिकल साइन्सका विद्यार्थीले छुटाउन नहुने कथा भएको रमेशले बताए । आमदर्शकका लागि पनि समाजमा लुकेर बसेको यो कथा नौलो र रुचीकर लाग्ने बुढाथोकीको भनाइ रहेको छ । चलचित्रको आज राजधानीमा प्रिमिएर समेत गरिँदैछ । प्रिमिएरमा रङ्गचित्रकार, चलचित्रकर्मीको बाक्लो उपस्थिति रहने अपेक्षा निर्माण युनिटको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप