बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा जंगलबाट यसरी पक्राउ परे विप्लवका दाइ

बिहीबार, ३० असोज २०७६, १४ : १९
बिहीबार, ३० असोज २०७६

बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको सूचना जब आयो तब प्रदेश नम्बर ५ प्रहरीले विशेष अपरेशनको तयारी गरी सबैलाई नियन्त्रणमा लिने रणनीति लियो । 

सोही आधारमा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने दाङको राजपुर गाउँपालिका–४ मुग्रेठा खोलास्थित जंगलमा प्रहरीले विशेष अपरेशन चलायो । 

सोही अपरेशनको क्रममा प्रहरीले विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जनालाई गएराति पक्राउ गर्यो । 

यसअघि प्रदेश नम्बर ५ मा केही महिना पहिले विप्लवको गाउँ कपिलवस्तुको शिवराजमा पनि प्रहरीले अपरेशन गरेर ठूलो मात्रामा विस्फोटक पदार्थ नियन्त्रणमा लिएको थियो । 

त्यो अपरेसन जस्तै सफल बनाउन प्रहरीले मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको स्थानलाई घेरा हालेको थियो ।

  तीन जना प्रहरी निरीक्षकसहित झन्डै एक सयको संख्यामा परिचालित सुरक्षाकर्मीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो । उनीहरुलाई पक्राउ गर्न प्रहरी टोली ५ घण्टा बढी पैदल हिँडेर त्यहाँ पुगेको थियो । पक्राउ परेका उनीहरुलाई पनि  हिँडाएरै जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो । 

राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरिएको प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी नवराज पोखरेलले जानकारी दिए । 

उनका अनुसार विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्न ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गडहवाको टोली खटिएको थियो ।

मध्यरातमा पक्राउ पर्नेमा  केन्द्रीयस्तरमा नेताहरु रहेका छन् । पक्राउ परेका विप्लवका दाइ चन्द्रबहादुर चन्द केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो इन्चार्ज समेत हुन् । 

पक्राउ पर्नेहरु
१. चन्द्रबहादुर चन्द– केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो इन्चार्ज

२.  केशवबहादुर बाँठा मगर (सुवास)–राप्ती ब्यूरो इन्चार्ज

३.  रामबहादुर थापा (सुन्दर) – राप्ती ब्यूरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक

४.  सविन पोख्रेल –राप्ती ब्यूरोे कार्यालय सचिव

५. यमलाल कटुवाल(विक्रम) जिल्ला इन्चार्ज

६.  प्रदीप वली – जिल्ला सेक्रेटरी

७.  बविन केसी (पाटन, जंगली) – युवा संगठन नेपाल केन्दीय अध्यक्ष

८. सुनिल पौडेल–वुद्धिजिवी

९. एकराज चौधरी (एरिया नम्बर ४ इन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य

१०.  धनबहादुर बोहोरा (एरिया नम्बर १ इन्चार्ज एवम्     राजपुर गाउँपालिका सेक्रेटरी

११.  तिलक पुन (पूर्व जनमुक्ति सेना

१२.  सुरज विक (दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष

१३.  हितप्रसाद रोका (पार्टी सदस्य)

१४. पोष्टमान घर्ती (रोल्पा जिल्ला)

१५. दलबहादुर खत्री

१६. अमित घर्तिमगर

१७.  बालकृष्ण शर्मा

१८. जीत क्षेत्री

१९.  रमेश आचार्य 

२०.  कुलबहादुर वली

२१.  बिष्णु थापा

प्रहरीलाई ठूलो सफलता भएको दावी 
प्रदेश ५ विप्लव समूहको आधार इलाका मानिन्छ । यो प्रदेशमा विगतमा विप्लव समूहले विभिन्न आगजनी र तोडफोड घटना बढाएका छन् । यस्ता गतिविधि नियन्त्रणमा प्रदेश प्रहरी सक्रियतापूर्वक लागिपरेको थियो ।

फागुनमा पनि विप्लवको गाउँमा प्रहरीले अपरेशन सञ्चालन गरी हातहतिरयार नियन्त्रणमा लिएको थियो । 

विप्लव समूहमाथि कडा निगरानी गरिरहेको प्रहरीलाई विशेष सूचना प्राप्त भएपछि गएराति उनीहरुलाई पक्राउ गर्न पुगेको थियो । 

 सरकारले प्रतिवन्ध लगाएपछि यति ठूलो संख्यामा एकै पटक विप्लवका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रमा लिएको यो पहिलो पटक हो । जसलाई प्रहरीले ठूलो सफलता मानेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप