बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ए नारान : टाईसुटमा ठाँटिएका एनआरएनको पाँच तारेमा उपद्रो !

भोट नहाली फर्किन थाले मतदाता
बिहीबार, ३० असोज २०७६, १२ : ४५
बिहीबार, ३० असोज २०७६

नेपालीमा एउटा भनाइ छ– पढ्यो पढ्यो पाठ १६ दुना आठ ! जति सिकाइ र ज्ञान हासिल भए पनि दिमागले सही कुरा ग्रहण गर्न नसकी उही गलत पक्षलाई नै अँगालिरहने सन्दर्भमा यो भनाइको प्रयोग गरिन्छ ।

 गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व सम्मेलन काठमाडौँमा चलिरहँदा एनआरएनका हर्ताकर्ता र प्रतिनिधि (डेलिगेट्स)को कार्यशैली पनि यही ‘पढ्यो पढ्यो पाठ १६ दुना आठ’ भनेजस्तै भएको छ । लामो समय विदेशी भूमिमा रहेर त्यहाँको संस्कार, संस्कृति र सिस्टमलाई अँगाल्दै आएका उनीहरूले विश्व सम्मेलनको क्रममा जे जस्तो हर्कत र व्यवहार प्रस्तुत गरे त्यसले एनआरएन विश्व सम्मेलनलाई नै विवादित बनाएको छ र सङ्गठनमाथि नै प्रश्न खडा भएको छ ।

बुधबार साँझ एनआरएनहरू कुर्सी तोडफोडको हदसम्म उत्रिन पुगे । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सम्मेलनको औपचारिक रूपमा उद्घाटन गर्नुअघि नै विवादमा तानिएको विश्व सम्मेलन एनआरएनहरू नै तोडफोडमा उत्रिएपछि थप विवादित बनेको हो ।

राजनीतिक पार्टीको आशीर्वादमा कुल आचार्य र कुमार पन्त प्यानल बनाएर चुनाव लडेको र मतदान प्रक्रियामा ढिलाइ गरेर धाँधली गर्न खोजेको आरोप लगाउँदै आक्रोशित एनआरएनएले होटल परिसरमा राखिएका कुर्सी तोडफोड गरेका हुन् । उनीहरू होहल्ला र नाराबाजीसँगै तोडफोडमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

तोडफोडपछि कडा सुरक्षाका बीच मतदान सुरु भए पनि एक जनाले मत खसाल्ने वित्तिकै भोटिङ मेसिनमा गडबडी आएको कारण देखाउँदै मतदान स्थगित गरियो । स्थगित भएको मतदान बिहीबार बिहान साढे ११ बजेदेखि सुरु भएको निर्वाचन आयुक्त शिवप्रसाद रिजालले जानकारी दिए ।

भोट नहाली फर्किन थाले मतदाता

एनआरएन निर्वाचनमा अनावश्यक राजनीति र विवाद सिर्जना भएको भन्दै डेलिगेट्सहरू रुष्ट भएका छन् । केही रुष्ट डेलिगेट्सले बिहीबारको मतदान बहिष्कार गर्नुका साथै मत नै नखसाली कार्यक्षेत्रमा फर्किन थालेको एक एनआरएन नेताले रातोपाटीलाई बताए । उनका अनुसार एनआरएनको विश्व सम्मेलनको व्यवस्थापन निकै फितलो भएको तथा संस्थाकै उद्देश्यविपरीत राजनीतिक दलको चुनाव जस्तो हुन थालेपछि मतदातामा रुष्ट बनेका हुन् ।

हुन पनि एनआरएनएको सम्मेलनस्थल होटल हायात दुई फरक राजनीतिक दलको चुनावी मैदान जस्तो बनेको छ । प्रतिनिधिहरू काँग्रेस र नेकपामा कित्ताकाट हुँदै सोही अनुरूपको प्रचारप्रसार गर्न तल्लीन देखिन्छन् ।

सम्मेलन स्थलमा नाराबाजी र गालीगलोज सामान्यजस्तै भएका छन् भने एकले अर्कालाई कसरी सिध्याउने भनेर रणनीति बनाउन खेमामा बाँडिएका एनआरएनहरू तल्लीन देखिन्छन् ।

पहिरन टाईसुट, हर्कत चाहिँ असभ्य

सम्मेलन स्थलमा सहभागी एनआरएन सबै टाईसुटमा ठाँटिएर निकै सभ्य देखिन्छन् । तर उनीहरूको कार्यशैली, प्रस्तुति र संस्कार भने असभ्य देखिएको कतिपयको टिप्पणी छ । एनआरएनले नेपालमा आएर गरेका असभ्य हर्कतप्रति स्वयम् गैरआवासीय नेपालीले समेत असन्तुष्टि जनाएका छन् ।

बेल्जियम निवासी गैरआवासीय नेपाली ओम शर्माले ह्यायातमा ‘लाहुरेहरूले तोरी लाहुरे’ पारा देखाएको भन्दै कटाक्ष गरेका छन् । एनआरएनको नाममा एनआरएनका नेताहरूले फाइदा लिनुबाहेक अरू केही हुन नसकेको नसकेको भन्दै नेपालीकै बल बुँदामा कछुवाकै गतिमा भए पनि नेपाल विकसित हुँदै गएको टिप्पणी गरेका छन् ।

‘कछुवाकै गतिमा भए पनि नेपाल विकसित हुँदैछ । हाराहारी दुई दशकअघि तिमीहरूले देश छोडेपछि बागमतीमा धेरै पानी बगिसकेको छ’, उनले लेखेका छन्, ‘विश्वव्यापीकरण र नयाँ प्रविधिको माहोलमा हुर्किरहेको आधुनिक चेत बोकेको नयाँ पुस्ता हाम्रो भाडा माझ्ने सोच भन्दा धेरै अगाडि पुगिसकेको छ । हायातमा लाहुरेहरूले देखाएको तोरीलाहुरे पारा सर्मनाक छ ।’

उनले अगाडि भनेका छन्, ‘एनआरएनएले देशलाई जति दिएका छन्, त्योभन्दा धेरै यसका ठालुहरूले लुटेका छन् । वास्तविकता यही हो ।’

विमानस्थलमा पनि बद्नाम

सम्मेलनमा सहभागी हुन नेपाल आउँदा एनआरएनका प्रतिनिधिको हर्कतका कारण पनि संस्था बदनाम हुन पुगेको छ । 

अस्ट्रेलियाबाट सम्मेलनमा भाग लिन आएका एक गैरआवासीय नेपाली रमेश थापाले गत आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तोडफोड नै गरे । सो आरोपमा पक्राउ परेका उनी ५० हजार धरौटीमा छुटेका थिए । अरूबेला पनि एनआरएन नेपालीले अनावश्यक हर्कत गर्ने गरेको समाचार बाहिरिँदै आएको छ । दुई महिनाअघि पनि एनआरएन अध्यक्ष भवन भट्टले मापसे सेवन गरेर विमान चढेर बखेडा झिकेपछि उनलाई विमानमा यात्रा नदिइएको विषयले चर्चा पाएको थियो ।

राजनीतिक भ्रातृ सङ्गठनको जस्तो चुनाव, संस्थापक अध्यक्षकै असन्तुष्टि

सन् २००३ मा गैरराजनीतिक सङ्गठनको रूपमा स्थापना भएको एनआरएनमा नवौँ विश्व सम्मेलनसम्म आइपुग्दा राजनीतिक गन्ध प्रष्टै देखिन्छ । सङ्घमा राजनीतीकरण भएकै कारण संस्थापक अध्यक्ष उपेन्द्र महतोले त विश्व सम्मेलन बहिष्कारसमेत गरेका छन् ।

गैरराजनीतिक सङ्गठनमा राजनीति हाबी हुँदा संस्थाले बोकेको उद्देश्य नै छायामा पर्नसक्ने भन्दै सङ्घमा राजनीति मिसाउन नहुने महतोको तर्क छ ।

महतोले विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको सङ्घलाई राजनीतिक पार्टीको भ्रातृ सङ्गठनजस्तो बनाउन नहुने धारणा राख्दै आएका छन् ।

विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रूपमा स्थापित भइसकेको संस्थाभित्र दलगत राजनीति छिराएर विभाजित गर्ने काम कसैले पनि गर्न नहुने महतोको भनाइ छ ।

तर, नवौँ विश्व सम्मेलनबाट नेतृत्वका आकाङ्क्षी प्यानल नै बनाएर चुनावी प्रक्रियामा होमिएका छन् । बुधबार नेतृत्व चयनका लागि निर्वाचन हुँदै गर्दा अध्यक्षका प्रत्यासीद्वय कुमार पन्त र कुल आचार्यले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका हुन् ।

पन्त नेकपा निकटको उम्मेदवार मानिन्छन् भने आचार्य काँग्रेस निकटका मानिन्छन् । पन्त र आचार्य दुवैले काँग्रेस र कम्युनिस्ट समेटेर प्यानल बनाएको बताइए पनि एनआरएन सम्मेलन स्थलमा अधिकांश मतदाता भने काँग्रेस र कम्युनिस्टको कित्तामा उभिएका छन् ।

रोचक त के छ भने कम्युनिस्ट निकट मानिने पन्त समूहबाट उम्मेदवारी दिएका उम्मेदवारले समेत ‘म त काँग्रेसकै मान्छे हुँ, भोट दिनुपर्छ है’ भन्दै काँग्रेस निकटका मतदातासँग भोट माग्ने गरेको एक सहभागीले बताए ।

यस्तै कूल आचार्य समूहका उम्मेदवारले पनि यसैगरी प्रचार गरिरहेका छन् ।

विधान र आर्थिक प्रतिवेदन नै पास भएन

एनआरएन विश्व सम्मेलनको बन्दसत्रबाट आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव नै पारित हुन सकेको छैन । एनआरएन प्रवक्ता भूषण घिमिरेले प्रतिवेदनमा केही विषय मिलाउन बाँकी रहेकाले हाललाई प्रतिवेदनपछि पास गर्नेगरी मतदान प्रक्रियामा गइएको रातोपाटीलाई बताए ।

रोचक कुरा त के छ भने धनीहरूको क्लब भनिएको एनआरएन ऋणमा रहेको देखाइएइएको छ । कोषाध्यक्षको गोलमालपूर्ण अडिट गरिएको प्रतिवेदनमा संस्था करिब ७ करोड ऋणमा रहेको देखिएको यूएईबाट सम्मेलनमा सहभागी भएका प्रतिनिधि सुदीप सिलवालले जानकारी दिए । तर प्रवक्ता घिमिरेले भने भवन भट्ट कार्यकालमा एनआरएनले लाप्राक बस्ती, एनआरएन भवन निर्माण लगायतका ठूला परियोजना सञ्चालन गर्दा ठूलो रकम खर्च भएको भन्दै संस्था ऋणमा गएको बताए । यद्यपि आर्थिक प्रतिवेदन पारित हुन बाँकी रहेकाले आम्दानी खर्चको वास्तविक तथ्याङ्क आउन समय लाग्ने उनले बताए ।

अध्यक्षका उम्मेदवारद्वयले स्वीकारे गल्ती

एनआरएनको विश्व सम्मेलन अव्यवस्थितका साथै प्रतिनिधिको हर्कतलाई लिएर अध्यक्षका उम्मेदवारद्वय कुल आचार्य र कुमार पन्तले माफी मागेका छन् । उनीहरूले मतदान प्रक्रियामा सहभागी भइदिन पनि आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप