बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गलामा फसेको एउटा सिक्काका कारण १२ वर्ष बोल्न सकिनन्

बिहीबार, ३० असोज २०७६, ०९ : १६
बिहीबार, ३० असोज २०७६

एकदिन अचानक तपाईंले आफ्नो आवाज गुमाउनु भयो भने के होला ? तपाईंले जतिसुकै बोल्ने कोसिस गरेपनि गलाबाट आवाज ननिस्किँदा कस्तो महसुस हुन्छ होला ?

र वर्षौंपछि चमत्कारिक रुपमा अचानक आफ्नो आवाज फिर्ता पाउनुभयो भने तपाईं कत्तिको खुसी हुनु होला ?

यस्तै भयो म्यारी मेकार्डीमाथि जो एकपटक बिरामी हुँदा कुनै पनि आवाज निकाल्न नसक्ने भइन् । त्यसपछि १२ वर्षपछि बोल्न नसक्ने एक युवतीले एकाएक आफ्नो बोली फिर्ता पाउँछिन् ।

फेब्रुअरी सन् १९७० मा लण्डनको चिसो मौसम छोडेर मेरीले अष्ट्रेलियामा कदम राखिन् । त्यतिबेला त्यहाँ गर्मी थियो र म्यारीका लागि यो समय गर्मीको छुट्टीजस्तो माहौल थियो ।

म्यारीले बिस्तारै अष्ट्रेलियाको भाषा सिक्न थालिन् र आफ्नो नयाँ जीवन सुरु गर्न थालिन् तर एक महिनामा उनका लागि सबैकुरा परिवर्तन भयो ।

सांकेतिक तस्बिर: GETTY IMAGES

बिरामी भएपछि स्वास्थ्य सुध्रियो तर आवाज गुम्योः

म्यारीले बीबीसीसँग भनिन्, ‘एक दिन बिहान उठ्दा मलाई रुघा, खोकी, ज्वरो आएको थियो । एक दुई दिनमा मलाई थाहा भयो कि मलाई ब्रोन्काइटिस भएको छ ।’

‘पहिलो हप्ताभरी घाँटी निकै बेस्सरी सुन्नियो र अत्यधिक ज्वरो पनि आयो । त्यसपछि ज्वरो ठिक भयो र फोक्सोको संक्रमण पनि समाप्त भयो र मेरो स्वास्थ्यमा सुधार देखियो । तर करिब ६ हप्तापछि घाँटीबाट आवाज आइरहेको थिएन ।’

म्यारीलाई थाहा थिएन आखिर के भइरहेको थियो ।

उनलाई आफू पुनः बोल्न सक्छु जस्तो लागिरहन्थ्यो । तर यस्तो भएन र म्यारीले बिस्तारै बिस्तारै आफू अब कहिले पनि बोल्न नसक्ने कुरा स्विकार गरिन् ।

Photo: MARIE MCCREADIE

म्यारी भन्छिन्, ‘सुरु सुरुमा मलाई असाध्यै तनाव हुन्थ्यो । तर पछि मैले हिम्मत जुटाएँ । मैले भविष्यमा के गर्छु भन्ने कुरा मलाई थाहा थिएन ।’

म्यारी बोल्न नसक्ने भइन् । उनी कुनै प्रकारको आवाज पनि निकाल्न सक्दिनथिन् । न नै उनले खोक्दा कुनै आवाज निस्किन्थ्यो न नै हाँस्दा कुनै आवाज आउँथ्यो ।

म्यारीका अनुसार डाक्टरले पनि कुनै तथ्य निकाल्न सकेनन् । उनी भन्छिन्, ‘सुरुमा त उनीहरुले मलाई लेरिन्जाइटिस छ भने । पछि हिस्टेरिकल म्युटिजम छ भने ।’

सन् १९९० को दशकबाट प्रयोगमा आएको शब्द हिस्टेरिक म्युटिजमको अर्थ हो – जब शरीरमा सबैकुरा सामान्य हुन्छ तर घाँटीको तन्त्रमा केही गडबडी आउँछ । कतिपटक व्यक्तिले जानीजानी कुरा नगर्ने पनि मान्यता राख्छन् ।

म्यारी भन्छिन्, ‘न त म जिद्दी थिएँ न नै म चुप बस्न चाहन्थेँ । म कसैलाई पनि केही भन्न सकिरहेको थिइनँ । फोनमा कुरा गर्नु असम्भव भएको थियो र यदि समस्यामा फसेको खण्डमा चिच्याउन पनि सक्दिनथेँ ।’

उनका अनुसार एकपटक उनी आफ्ना साथीहरुसँग पहाडबाट तल झर्दै गर्दा बीचमा फसेकी थिइन् तर कसैलाई मद्दतका लागि बोलाउन सकिनन् । बिस्तारै उनले सिकिन् कि उनले अत्यधिक सावधानी अपनाउनु पर्नेछ ।

Photo: GETTY IMAGES

‘शैतानकी छोरी’

एक पटक स्कूलमा शिक्षकले म्यारीलाई गायन समूहमा समावेश गरिदिए । सबै बच्चालाई यो समूहमा समावेश हुन अनिवार्य थियो तर म्यारीका लागि यो कुनै प्रताडनाभन्दा कम थिएन ।

उनी भन्छिन्, ‘स्कूलमा धेरैलाई मेरो समस्याबारे कुनै अन्दाज नै थिएन । धेरैले मेरो मजाक उडाउँथे । तर बिस्तारै मैले स्थितीसँग जुध्न सिकेँ ।’

‘म सधैं एउटा नोटबुक र पेन आफूसँग राख्थेँ र लेखेर आफ्नो कुरा अरुसमक्ष पुर्‍याउँथे । मेरा केही साथीहरु मेरो ओठ पढ्थे तर धेरैजसो अवस्थामा कुरा गर्न निकै मुश्किल हुन्थ्यो ।’

‘न म रुन सक्थेँ न नै कसैसँग कुरा गरेर आफ्नो रिस व्यक्त गर्न सक्थेँ । म आफैंमाथि रिस पोख्थेँ र आफैँलाई दोष दिन थालेकी थिएँ ।’

‘म एक क्याथोलिक ननलाई भेट्न गएँ । उनले म पूर्ण रुपमा स्वस्थ भएको र मलाई कुरा गर्नका लागि कुनै पनि कुराले नरोकेको बताइन् । ईश्वरले मेरो आवाज खासेर मलाई सजायँ दिएको उनले बताइन्,’ उनले भनिन् ।

Photo: M D CURZON

‘ननले स्थानीय पादरीसँग कुरा गरेर मेरा लागि प्रार्थना गर्न भनिन् । साथै ईश्वरको अगाडि आफ्नो पाप स्विकार गरेर माफी माग्न पनि सुझाइन् ।’

उनी भन्छिन्, ‘तर मैले यस्तो गर्न मानिनँ किनभने मलाई थाहा थियो कि मैले कुनै पाप गरेको छैन ।’

‘हामी जुन संसारमा बस्छौं त्यहाँ हामी मान्छौं कि पादरी, नन र डाक्टरले कहिले पनि गलत कुरा गर्न सक्दैनन् । यस्तोमा उनीहरुमाथि शंका गर्नु मुश्किल थियो  । मैले आफैंमाथि प्रश्न गर्न थालेकी थिएँ ।’

‘मानिसहरु ममाथि हाँस्थे र मेरो खिल्ली उडाउँथे । कतिले मलाई शैतानकी छोरी पनि भन्थे । कहिलेकाँही यस्तो सुनेर मलाई असाध्यै नराम्रो लाग्थ्यो ।’

म्यारीका अनुसार आफ्नो पाप स्विकार गर्न अस्विकार गरेका कारण उनलाई चर्चमा प्रवेशका लागि रोक लगाइएको थियो । जब उनका साथीहरु चर्चमा गएर प्रार्थना गर्दथे तब उनी बाहिर कारमा बसेर आफ्नो बारे सोच्थिन् ।

उनी भन्छिन्, ‘मलाई लाग्न थालेको थियो कि मानिसहरुले साँचो नै भन्छन् कि प्रभुले मलाई देख्न चाहँदैनन् र ममाथि शैतानको छायाँ छ । मलाई लाग्न थालेको थियो कि म इसाइ होइन । जब तपाईं काँचो उमेरको हुनुहुन्छ तब तपाईं धेरै कुरा सोचिरहनुहुन्छ ।’

म्यारीका अनुसार स्कूलमा मात्रै होइन छिमेकीलाई पनि लाग्थ्यो कि उनीमाथि शैतानको छायाँ परेको छ ।

Photo: MARIE MCCREADIE

म्यारी मानसिक रोगीको अस्पताल पुगिन्ः

आवाज गुमाएको दुई वर्षपछि म्यारी एक्ली भइन् र तनावमा हुन थालिन् । १४ वर्षको उमेरमा उनले आत्महत्याको कोसिस गरिन् र उनलाई अस्पताल पुर्‍याइयो ।

त्यहाँबाट उनलाई स्कूल नभई मानसिक रोगीका लागि बनाइएको अस्पताल पठाइयो ।

‘त्यो नराम्रो सपना यथार्थमा परिणत भएको जस्तो अनुभव थियो । त्यहाँ लागुऔषध सेवन गर्ने व्यक्ति थिए, मानसिक रोगी थिए र हिंसाका शिकार व्यक्तिहरु थिए । म तीमध्ये सबैभन्दा कान्छी थिएँ ।’

‘त्यहाँका केही बिरामीलाई बिजुलीको झट्का दिइन्थ्यो जसको चिच्याहट असाध्यै पीडादायी हुन्थ्यो, त्यो एउटा टर्चर चेम्बर थियो ।’

म आफ्नो स्थितीका लागि आमा–बुवालाई पनि जिम्मेवार मान्न लागेकी थिएँ । एक दिन उनी अस्पतालबाट भागेर साथीको घर पुगिन् र त्यहाँबाट आफ्नो घर पुगिन् । तर आमा–बुवासँग उनको सम्बन्ध बिग्रिसकेको थियो र उनी कसैमाथि पनि विश्वास गर्न सकिरहेकी थिइनन् ।

उनी ६ महिनासम्म सबैबाट टाढा भइन् र बिस्तारै आफ्नो जीवनको वास्तविकतालाई स्विकार गरेर भविष्यको बाटो खोज्न थालिन् । उनी आफ्नो आमाको कफी पसलमा काम गर्न थालिन् र साइन ल्याङ्ग्वेज (इशाराको भाषा) सिक्न थालिन् ।

बिस्तारै उनी सामान्य महसुस गर्न थालिन् र उनको जीवन सही दिशामा फर्कन थाल्यो ।

त्यसपछि एक दिन एउटा चमत्कार भयो जसले म्यारीको जीवन एकपटक पुनः परिवर्तन गरिदियो ।

पत्ता लाग्यो, एक सिक्काले परिवर्तन गरेको थियो जीवनः

जब म्यारी २५ वर्षकी थिइन् एकदिन अचानक उनको स्वास्थ्य बिग्रियो ।

उनी भन्छिन्, ‘मलाई खोकी लाग्न थाल्यो र मेरो मुखबाट रगत निस्कन थाल्यो । मलाई लाग्यो कि म मर्दैछु । मैले महसुस गरिरहेको थिएँ कि मेरो घाँटीमा केही फसेको छ ।’

‘मेरा एक सहयोगीले मलाई अस्पताल पुर्‍याए जहाँ डाक्टरले मेरो घाँटीमा खकारको एउटा ठूलो टुक्रा अड्किएको बताए ।’

‘डाक्टरले यो टुक्रालाई बाहिर निकालेपछि थाहा भयो कि यो तीन पेन्सको एउटा सिक्का थियो ।’

म्यारीका अनुसार उनको गलामा यो सिक्का सन् १९६० देखि फसेको थियो तर उनलाई सिक्का घाँटीसम्म कसरी पुग्यो भन्नेबारे केही थाहा थिएन ।

Photo: MARIE MCCREADIE

‘यो सिक्का मेरो गलाको ध्वनी तन्त्र नजिकै फसेको थियो जसका कारण मेरो ध्वनीतन्त्रमा कम्पन हुन बन्द भएको थियो । यसैकारण म वर्षौंसम्म केही बोल्न सकिनँ । पछि सिक्का निकालेपछि मेरो आवाज फिर्ता भयो,’ उनले भनिन् ।

म्यारी थप्छिन्, ‘वर्षौंपछि मेरो आवाज फिर्ता पाउँदा मलाई विश्वास भएन । मलाई लाग्यो कि ममाथि कसैले मजाक गरिरहेको छ ।’

डाक्टरका अनुसार यो सिक्का म्यारी म्याकार्डीको गलामा यसरी फसेको थियो कि एक्स रे मेसिनबाट पनि यसबारे पत्ता लगाउन मुश्किल थियो ।

आवाज फिर्ता पाएपछि म्यारीले सुरुमा आफ्नी आमासँग फोनमा कुरा गरिन् ।

सन् २०१९ जुलाईमा उनले लेखेको किताब ‘भोयसलेस’ प्रकाशित भयो जसमा उनले आफ्नो अनुभवबारे लेखेकी छिन् ।

जुन सिक्का म्यारीको गलामा फसेकको थियो त्यो आज पनि उनले आफूसँगै राखेकी छिन् । यो सिक्का उनको हातमा ब्रासलेटमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप