शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव एनआरएनको, भिडन्त नेकपा र काँग्रेस कार्यकर्ताको !

दलीय ह्वीपको चर्चा, मतदान नहुँदै धाँधलीको बात
बुधबार, २९ असोज २०७६, १६ : १७
बुधबार, २९ असोज २०७६

काठमाडौं–हरेक २ वर्षको अन्तरालमा काठमाडौंमा हुँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन राजधानीको एक पाँच तारे होटलमा जारी छ । 

विश्वभरका राष्ट्रिय समन्वय परिषदबाट चुनिएर आएका गैरआवासीय नेपालीका प्रतिनिधिले नेतृत्व समेत चुन्ने यो सम्मेलनलाई निकै चासोका साथ हेरिँदै आएको छ । 

सन् २००३ मा गैरराजनीतिक संगठनको रुपमा स्थापना भएको एनआरएन नवौं विश्व सम्मेलनसम्म आइपुग्दा राजनीतिक गन्ध देखा परेको एनआरएन अभियन्ताहरुले नै बताएका छन् । 

पछिल्लो समय संघमा राजनीतिकरण हुँदै गएपछि संस्थापक अध्यक्ष उपेन्द्र महतोले त विश्वसम्मेलन बहिस्कार समेत गरेका छन् । 

गैरराजनीतिक संगठनमा राजनीति हावी हुँदा संस्थाले बोकेको उद्देश्य नै छायामा पर्नसक्ने भन्दै संघमा राजनीति मिसाउन नहुने महतोको तर्क छ ।

महतोले विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजनीतिक पार्टीको भाृत संगठनजस्तो बनाउन नहुने धारणा राख्दै आएका छन् । 

विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भैसकेको संस्थाभित्र दलगत राजनीति छिराएर विभाजित गर्ने काम कसैले पनि गर्न नहुने महतोको भनाइ छ । 

तर, नवौं विश्व सम्मेलनबाट नेतृत्वका आकाँक्षी प्यानल नै बनाएर चुनावी प्रक्रियामा होमिएका छन् । बुधबार नेतृत्व चयनका लागि निर्वाचन हुँदै गर्दा अध्यक्षका प्रत्यासीद्वय कुमार पन्त र कुल आचार्यले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । 

पन्त नेकपा निकटको उम्मेदवार मानिन्छन् भने आचार्य काँग्रेस निकटका मानिन्छन् । पन्त र आचार्य दुबैले काँग्रेस र कम्युनिष्ट समेटेर प्यानल बनाएको बताइए पनि एनआरएन सम्मेलनस्थलमा अधिकांश मतदाता भने काँग्रेस र कम्युनिष्टको कित्तामा उभिएका छन् । 

रोचक त के छ भने कम्युनिष्ट निकट मानिने पन्त समूहबाट उम्मेदवारी दिएका उम्मेदवारले समेत ‘म त काँग्रेसकै मान्छे हुँ, भोट दिनुपर्छ है’ भन्दै काँग्रेस निकटका मतदातासँग भोट माग्ने गरेको एक सहभागीले बताए । 
यस्तै कूल आचार्य समूहका उम्मेदवारले पनि यसैगरी प्रचार गरिरहेका छन् । 

एजेण्डा छैन, चुनावी अभियानमा व्यापक खर्च !
विश्व सम्मेलनमा उम्मेदवारहरुले आफ्नो चुनावी अभियानलाई मात्रै केन्द्रीत गरेका छन् । 

तर, संस्थागत रुपमा गर्नुपर्ने काम र एजेण्डाका विषयमा भने पर्याप्त छलफल भएको पाइँदैन । बरु यी सबै सवाललाई छाडेर कसरी चुनाव जित्ने भन्नेमा मात्रै उम्मेदवारहरु केन्द्रीत देखिन्छन् । यस्तै अधिकाँश मतदातापनि आफू निकटकाको पक्षमा माहोल बनाउन केन्द्रित रहेको देखिन्छ । 

उम्मेदवारहरुले चुनावी अभियानलाई प्रभावकारी बनाउने होडमा प्रचार अभियान भड्किलो बनाएका छन् भने कतिपयले आफ्नो पक्षमा चुनाव पार्न आर्थिक चलखेल समेत बढाएको सहभागीहरुको दाबी छ ।

समूह–समूहमा नाराबाजी
हायात परिसरमा अध्यक्षका प्रत्यासीद्वय कुल आचार्य र कुमार पन्तका समर्थकले प्रचार अभियानलाई तीव्र पारेका छन् भने अन्य पदाधिकारीलगायतका उम्मेदवारले पनि अभियानलाई सशक्त बनाएका छन् । 

आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवार र समर्थकहरुले क्षणक्षणमा हायात परिसरमा नाराबाजी र जुलुस निकाल्दै चर्को चुनावी क्याम्पेन गरेको देखिन्छ । अमेरिकाबाट एनआरएन विश्व सम्मेलनमा सहभागी भएका एक प्रतिनिधिले उम्मेदवारको प्रचारशैलीलाई हेर्दा नेपालीको संसदीय चुनावलाई नै माथ दिने खालको भएको टिप्पणी गरे । 

उनले एनआरएनको चुनाव भएपनि भिडन्त नेकपा र काँग्रेस कार्यकर्ताबीचको जस्तो भएको टिप्पणी गरे । 

दलीय ह्वीपको चर्चा 
एनआरएन निर्वाचन आयुक्त शिवप्रसाद रिजालले ४२ पदका लागि निर्वाचन हुन लागेको जानकारी दिए । उनले साँझ ५ बजेपछि मतदान सुरु हुने जानकारी दिँदै मतदान सकिएको एक घण्टाभित्र नतिजा आउने जानकारी दिए । 

यसैबीच मतदानस्थलमा नेकपा र काँग्रेसले आफू निकटका उम्मेदवारलाई विजयी गराउन भन्दै ह्वीप जारी गरेको हल्ला चलेको छ । तर, दुबै समूहमा कम्युनिस्ट र काँग्रेस निकटका उम्मेद्वार रहेकाले नेकपा र काँग्रेस नेतृत्वले कुनै उम्मेद्वार विशेषका लागि लबिङ नगरेको नेताहरुले बताएका छन् । यस्तै काँग्रेसले पनि कुनै ह्वीप जारी नगरेको स्पष्ट पारेको छ । 

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आफ्नो पार्टीले एनआरएन चुनावमा मतदानका लागि कुनै ह्वीप वा सर्कुलर जारी नगरेको स्पष्ट पारे । उनले गैरराजनीतिक संगठनमा पार्टीले कुनै समूहलाई भोट हाल्न भन्न नमिल्ने पनि बताए ।

यस्तै काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नभइ नेकपा र सरकारले एनआरएनमा राजनीति गर्न खोजेको आरोप लगाए ।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ । 

मतदान नहुँदै धाँधलीको बात 
यसैबीच एनअराएन निर्वाचन कार्यतालिकाअनुसार मतदान सुरु नहुँदै विवाद सुरु भएको छ । बेलायतबाट प्रतिनिधि बनेका योगन्द्र बहादुर क्षेत्रीले मतदाता नामावलीमा गोलमाल भएको भन्दै निर्वाचन समितिमा उजुरी दर्ता गराएपछि विवाद उत्पन्न भएको हो ।  

उनको उजुरीमा मतदाता नामावलीबारे जानकारी नगराउने, गोप्यरुपमा प्रतिनिधि फेरबदल गर्नेलगायतका कार्य भएको उल्लेख गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप