शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व खाद्य दिवस : निर्यात होइन आत्मनिर्भर बन्नै धौधौ

साढे एक खर्बको कृषिजन्य वस्तु आयात, कहिले हुने आत्मनिर्भर ?
बुधबार, २९ असोज २०७६, १५ : ३७
बुधबार, २९ असोज २०७६

काठमाडौं । अक्टोबर १६ अर्थात् आज ३९ औँ विश्व खाद्य दिवस । आज नेपाल लगायत विश्वभरीका १५० माथिका देशहरुमा खाद्य दिवस मनाइँदै छ ।

नेपाल कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको कृषि विभागले ३९ औँ खाद्य दिवस धुमधामले मनाउने तयारी गरेको छ ।

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ लाई खाद्य दिवसको रुपमा मनाउन थालिएको हो । सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६ मा यो दिवस मनाउँदै आएको छ । सन् १९४५ अक्टोबर १६ मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिनलाई खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । यो निर्णयसँगै सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको थियो । ‘उब्जनी बढाऔँ, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ मुल नाराका साथ खाद्य दिवसमा सरिक भएको नेपालले ३८ वर्ष पुरा गरेको छ । तर नारा र घोषणामा प्रतिबद्धता जनाए अनुरुप नेपालले कृषि तथा खाद्यान्न उत्पादन, सञ्चिती र वितरणमा भने खासै प्रगति गर्न सकेको छैन । कृषि प्रधान देश भनिएको नेपाल अहिले पनि कृषि उत्पादन र उपभोगमा आत्मनिर्भर हुन सकिरहेको छैन । वार्षिक झण्डै ५० अर्ब हारहारीको कृषि उपज विभिन्न देशहरुबाट नेपालले आयात गरिरहेको छ । गत आर्थिक वर्षमा मात्र नेपालले करिब साढे एक खर्ब बराबरको कृषि उपज आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा मात्र नेपालले ४७ अर्ब ९७ करोडको खाद्यन्न आयात गरेको छ ।

त्यस्तै, २६ अर्ब ४६ करोड ७५ लाखको तरकारी र १७ अर्ब तीन करोड ९६ लाखको बराबरका फलफूल गत आर्थिक वर्षमा नेपाल आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । बाहिरबाट अत्यधिक आयात हुनेहरुमा धान, मकै, गहँु लगायतका खाद्यान्न छन् ।

नेपालले गर्ने १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँबराबरको कूल आयातको झन्डै १५ प्रतिशत हिस्सा कृषि तथा वनमा आधारित वस्तुले ओगटेका छ । अझ प्रशोधनसमेत भएर आयात हुने वस्तुको परिमाणलाई हिसाब गर्दा कुल आयातमा कृषि तथा वनमा आधारित वस्तुको हिस्सा २० प्रतिशत माथि जाने देखिन्छ ।

यता, तुलनात्मक रुपमा निर्यातको अवस्था भने सारै निराशाजनक छ । साढे एक खर्ब आयात हुँदा निर्यात भने २० अर्ब ४ करोडको मात्रै भएको तथ्याङ्क छ ।

यस अवधिमा कुल ८७ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । यसमा कृषि तथा वनमा आधारित वस्तुको हिस्सा करिब २६ प्रतिशत देखिन्छ ।

निर्यात होइन आत्मनिर्भरमै धौधौ

६० प्रतिशत कृषि व्यवसाय र ५८ प्रतिशत कृषियोग्यभूमि रहेको कृषि प्रधान देश भनिएको नेपाल कृषिजन्य निर्यातमा होइन आफ्नै उत्पादनले आत्मनिर्भर बन्न सकिरहेको छैन । स्वदेशी उत्पादनले उपभोगको करिब ७० प्रतिशत पनि धान्न सकिरहेको छैन । प्रमुख खाद्यान्नमा पर्ने धान, मकै, गहुँ, कोदो, जौ, फपरमै नेपाल आत्मनिर्भर हुन सकिरहेको छैन । यी सबै गरी करिब वार्षिक ३०–४० लाख ट्रन खाद्यान्न बाहिरबाट आयात हुने गरेको कृषि विभागको भनाई छ । हिमाली, पहाडी र तराई क्षेत्रमा हुने क्षेत्रगत अन्न बालीहरुको समुचित प्रयोग र उपभोग नहुँदा खाद्यान्न आयात गर्नु परेको कृषि विभागका महानिर्देशक सूर्य प्रसाद पौडेल बताउछन् ।

‘हामी नेपालीहरु बढी सौखिन हुन थालेका छौँ । हामीलाई मिठो मसिनो र राम्रो चाहिएको छ । त्यसैले हामी बास्नादार मसिनो चामल खोज्छौँ । अनि प्रशोधित विविध जङ्कफुड खान्छौँ । यसले एक्कै खालको खाद्यान्नको माग बढेर आयात थप्ने बनाएको छ ।’ पौडेलले भने, ‘त्यस्तो बढि आयात हुनेमा चामल रहेको छ । देशमा मसिनो चामलको माग बढेको छ । यसले केहि मात्रामा चामलको आयात बढाएको छ । हिमाल, पहाड तराई जहाँ जे उत्पादन हुन्छ त्यसलाई मिलाएर उपभोग गरे आफ्नै उत्पादनले धान्न छ ।’

पौडेलका अनुसार नेपालमा वार्षिक ६२ लाख टन चामल खपत हुने गर्छ । यसमा करिब ५६ लाख मेट्रिक टन चामल नेपालमै उत्पादन हुन्छ । बाँकी रहेको करिब ६ लाख मेट्रिक टन चामल भने बाहिरबाट आयात हुने गरेका छन् । सरदर नेपालले वार्षिक २५–३० अर्बको चामल आयात गर्दै आएको छ । त्यस्तै ५–६ अर्बको मकै तथा गहुँको आयात गर्ने गर्छ ।

नेपालको खाद्यान्न उत्पादन स्थिति :

धान : ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन

मकै : २५ लाख ५५ हजार ८ सय ४७ मेट्रिक टन

गहुँ : १९ लाख ४९ हजार एक मेट्रिक टन

कोदो : ३ लाख १३ हजार ९ सय ८७ मेट्रिक टन

जौ : ३० हजार ५ सय १० मेट्रिक टन

फापर : ११ हजार ४ सय ७२ मेट्रिक टन

माथिको तथ्याङ्क कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागको तथ्याङ्कबाट लिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप