बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार

बुधबार, २९ असोज २०७६, १५ : ३४
बुधबार, २९ असोज २०७६

एजेन्सी– उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गर्नु भएको टर्कीको सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहेका बेला एर्डोगानको त्यस्तो भनाइ आएको हो । 

सिरियाली सेनाले उत्तरी सिरियाको मन्बिज शहरमा प्रवेश गर्नु ‘धेरै नकारात्मक’ नभएको, तर सो क्षेत्रबाट सिरियाली कुर्द लडाकूहरूलाई हटाइने सकारात्मक भएको एर्डोगानले बताएका छन् । अमेरिकाले आफूहरुलाई युद्धविराम घोषणा गर्न भने तापनि आफूहरुले कहिल्यै पनि युद्धविराम घोषणा नगर्ने अजरबैजानबाट फर्किनु भएका एर्र्डोगानले पत्रकारहरूलाई भन्नु भएको हूरिएट दैनिकले प्रकाशित गरेको छ । 

पेन्सले बिहीबार एर्डोगानलाई भेट गर्ने, अमेरिकाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । कुनै समाधान नहुन्जेलसम्म टर्कीमा ‘आर्थिक प्रतिबन्ध लगाइने’ ट्रम्पको प्रतिबद्धता दोहो¥याइने पनि बताइएको छ । 

अमेरिकाले आफूहरुले सञ्चालन गरेको कुर्दविरुद्धको कारबाही रोक्न दबाब दिइरहेको तर आफूहरुको स्पष्ट लक्ष्य रहेको एर्डोगानले बताएका छन् । अमेरिकी प्रतिबन्धको विषयको कुनै चिन्ता नभएको उनले बताएका छन् ।

टर्कीका नेता एर्डोगानले सिरियाली सेनाले मान्बिजलाई नियन्त्रणमा राख्नु भनेको ठूलो समस्या नभएको पनि बताउनु भएको सो समाचारमा जनाइएको छ ।  सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको थियो । 

उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ । 

अमेरिकाले टर्कीका दुइवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको जनाएको छ । टर्कीले केही यताबाट उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब एक लाख मानिस विस्थापित भएका छन् ।

‘जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन तबसम्म आज घोषणा भएका प्रतिबन्धहरू अझ कडा हुँदै जानेछन्’ ह्वाइट हाउसमा बोल्दै पेन्सले बताएका थिए । 

टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच सङ्घर्ष हुन सक्ने आशङ्का गरिएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा विवादास्पद कदमका रुपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नु मात्र रहेको बताएका छन् । 
उनले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र केन्द्रित हुने जानकारी दिए । 

मानवअधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । –एएफपी/Photo: CNN
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप