यात्रीले सेल्फी खिच्दा र टिकटिक भिडियो बनाउँदा समस्यामा छन् रेलहोस्टेस
पुनम कौशल /बीबीसी
एकदम नयाँ रेलको ढोकामा आत्मविश्वासी युवतीहरु यात्रीको स्वागतका लागि हात जोडेर उभिएका छन् ।
उत्ताउला यात्री सेल्फी र तस्बिर खिच्नका लागि उनीहरुलाई घेर्छन् । उनीहरुको अनुमति बिना मोबाइलका क्यामरा क्लिक गर्छन् ।
यो अनिच्छुक आकर्षणसँग असहज हुँदाहुँदै पनि उनीहरु आफ्ना अनुहारको मुस्कान यथावत् राख्छन् ।
यो दृश्य नयाँ दिल्ली रेलवे स्टेशको प्लेटफर्म ९ को हो जहाँ तेजस एक्सप्रेस लखनउ यात्राका लागि तयार बसेको छ ।
कालो पहेँलो रङको पोशाक लगाएर उभिएका यी युवतीहरु भारतको पहिलो प्राइभेट ट्रेनका होस्टेस हुन् ।
हालै सुरु भएको तेजस एक्सप्रेस संचालनको जिम्मा भारतीय रेलकै निजी कम्पनी आइआरसीटीसीको हातमा छ ।
हवाई सेवाजस्तैः
यसलाई रेल सेवाको भारतको पहिलो निजी वा कर्पोरेट सेवा पनि भनिँदैछ । आईआरसीटीसीले तेजसको रेलवे सेवालाई भाडामा लिएको छ र यसलाई व्यावसायिक रुपमा अघि बढाएको छ । आइआरसीटीसी अधिकारी यसलाई प्राइभेटको साटो कर्पोरेट ट्रेन भन्छन् ।
यो तीब्र गतीको रेल आधुनिक सुविधाले सुसज्जित छ र देशको राजधानीबाट उत्तर प्रदेशको राजधानी लखनउसम्म ५११ किलोमिटरको यात्रा साढे ६ घण्टामा पूरा गर्छ ।
हुन त यो रेलका थुप्रै विशेषता छन् तर यसको सबैभन्दा ठूलो विशेषता भनेको ट्रेन होस्टेस नै हुन् ।
भारतमा कुनै रेल सेवामा हवाईसेवा झैं होस्टेस तैनाथ गरिएको यो पहिलो घटना हो । त्यसकारण यात्रीहरुमा उनीहरुप्रति जिज्ञासा र आकर्षण छ ।
तेजस एक्सप्रेसमा तैनाथ यी होस्टेसको काम यात्रीको खानपिन र अन्य आवश्यकताबाहेक सुविधा र सुरक्षामा पनि ध्यान राख्नु हो ।
उत्साहित युवतीः
लखनउमा नै बस्ने श्वेता सिंह आफ्नो यो नयाँ जागिरका लागि निकै उत्साहित छिन् ।
अनुहारमा मुस्कानसहित उनी भन्छिन्, ‘मलाई देशको पहिलो प्राइभेट ट्रेन तेजसमा काम गर्न पाउँदा गर्व महसुस भएको छ । हामी भारतका पहिलो महिला हौं जो ट्रेनका होस्टेस हौं । म आफ्नो सपना बाँचिरहेकी छु ।’
उनी भन्छिन्, ‘हामी हरेक दिन नयाँ यात्रीसँग भेट्छौं, कुरा गर्छौं, यो राम्रो लाग्छ । हरेक प्रकारका मानिसहरु आउँछन्, उनीहरुलाई सन्तोषजनक सेवा दिनु सबैभन्दा ठूलो चुनौती हो ।’
तेजस एक्सप्रेसका १० डिब्बामा श्वेताजस्ता २० कोच क्रु तैनाथ छन् । यी सबैले लखनउको एक इन्स्टिच्युटबाट एभिएशन हस्पिटालिटी र कस्टमर सर्भिसमा डिप्लोमा गरेका छन् ।
यी सबै आइआरसीटीसीका कर्मचारी होइनन् । अर्को प्राइभेट कम्पनीमार्फत् उनीहरुको सेवा लिइँदैछ ।
तीन चरणको चयन प्रक्रियाः
श्वेता भन्छिन्, ‘तीन चरणको चयन प्रक्रियापछि हामीले यो काम पाएका छौं । मेरो परिवारलाई गर्व छ कि म तेजस एक्सप्रेसमा काम गरिरहेकी छु ।’
मूलरुपमा उन्नावकी वैशाली जायसवाल सर्भिस ट्रली सजाइरहेकी छिन् ।
उनले पनि श्वेताले झैं एयर होस्टेस बन्ने तयारी गरेकी थिइन् । उनी आफ्नो कामलाई ठ्याक्कै एयरहोस्टेजको झैं मान्छिन् ।
वैशाली भन्छिन्, ‘जुन काम विमानमा क्याबिन क्रु गर्छन् त्यही काम हामी पनि गर्छौं । फरक यही हो कि एयर होस्टेट हावामा काम गर्छन् हामी ट्र्याकमा छौं ।’
उनी भन्छिन्, ‘हामी एक गुडिरहेको ट्रेनमा छौं र यहाँ थुप्रै पटक चुनौतीपूर्ण परिस्थितीको सृजना हुनसक्छ । हामीलाई त्यससँग जुध्नका लागि प्रशिक्षण दिइएको छ ।’
भविष्यका लागि पाठः
तीब्र गतीमा गुडिरहेको र हल्लिरहेको रेलमा अंशिका गुप्ता पूर्ण विश्वासका साथ सर्भिस ट्रली थामिरहेको देखिन्छिन् । अहिलेसम्म भारतीय रेलमा यस्ता काम पुरुषले मात्रै गर्दै आएका थिए ।
अंशिका भन्छिन्, ‘हामी सबै सिकिरहेकै छौं । भारतमा हामीजस्ता युवतीले ट्रेनमा सेवा दिइरहेको यो पहिलो घटना हो । हामीले सिकेको पाठ पछि काम लाग्छ ।’
यो ट्रेनको धेरैजसो क्रु सदस्य २० वर्षको उमेर आसपासका छन् र मध्यमवर्गीय परिवारका हुन् ।
रेलवेमा निजीकरणको यो प्रयोगले उनीहरुका लागि जागिरको अवसर पैदा गरेको छ ।
अंशिका भन्छिन्, ‘मेरी आमाले सधैं भन्थिन् कि मैले केही न केही नयाँ गरुँ, अब उनी मलाई यहाँ देखेर निकै खुसी छिन् ।’
महिला सशक्तिकरणः
टाउकोमा महिला सशक्तिकरणको भारी बोकाइएका यी युवती पारम्परिक रुपमा पिछडिएको मानिने आधा जनसंख्याका लागि नयाँ उदाहरण पेश गरिरहेका छन् ।
कोच क्रुको जिम्मेवारी सम्हालिरहेकी सन्ध्या सिंह यादव लखनउकै हुन् जहाँ उनका पिता अटो चलाउँछन् । सन्ध्या यहाँसम्म पुग्नका लागि यात्रा त्यति सहज भएन ।
उनी भन्छिन्, ‘मेरा पिताले त म जे चाहन्थेँ त्यो गर्न पूर्ण सहयोग गर्नुभयो तर उहाँले मानिसहरुको धेरै भनाइ सुन्नुपर्यो ।’
‘जब मैले होस्टेस बन्ने इच्छा जताएँ तब पटक–पटक उहाँलाई भनियो कि यो महिलाले गर्ने काम होइन । मलाई सुरक्षित सरकारी जागिरका लागि तयार बनाउन उहाँलाई धेरैले सुझाव दिए ।’
आफन्तको भनाइ अत्यधिक सुन्नुपर्योः
सम्बुलु फातिमाको कहानीमा पनि यस्तै छ । उनका बुवा अवकाश प्राप्त सरकारी जागिरे हुन् । होस्टेस बन्नका लागि उनका परिवारका सदस्य त राजी भए तर आफन्तले भने तथानाम भने ।
सम्बुलले भनिन, ‘अब महिला कोहीभन्दा कम छैनन् । उनीहरुले जिम्मेवारी सम्हाल्न सक्छन् । मैले कसैको भनाई वास्ता गरिनँ । मलाई थाहा छ कि मैले जे काम गरिरहेकी छु त्यो सही छ ।’
शुभांगी श्रीवास्तव तेजसमा तैनाथ कोच क्रुकी म्यानेजर हुन् । उनीसँग दुई क्याप्टेन र एक सहायक म्यानेजर पनि छन् ।
ट्रेनको व्यवस्था र पूरा टिम सम्हाल्ने जिम्मेवारी उनकै हो ।
शुभांगीका अनुसार अहिले तेजसमा पुरुष स्टाफ पनि छन् तर भविष्यमा यो रेललाई पूर्ण रुपमा महिलाको हातमा सुम्पिइने योजना छ ।
महिलाका लागि सुलभः
शुभांगी भन्छिन्, ‘यो ट्रेनमा महिलालाई सुलभ सेवा प्रदान गर्ने कुरामा पनि काम गरिँदैछ ।’
उनी थप्छिन्, ‘रेलमा महिला क्रु सदस्य हुँदा महिला यात्रीमा विश्वास पैदा हुन्छ । जो महिला एक्लै यात्रा गर्छन् उनीहरु हाम्रो उपस्थितीमा थप सुरक्षित महसुस गर्छन् ।’
यो ट्रेनमा स्यानिटरी न्यापकिन र महिलाका लागि आवश्यक अन्य कुराको पनि व्यवस्था गरिएको छ । क्रुलाई गर्भवती महिलाको विशेष ध्यान राख्न निर्देशन दिइएको छ ।
शुभांगी भन्छिन्, ‘थुप्रै पटक महिलाको अचानक महिनावारी हुन्छ, उनीहरुसँग स्यानिटरी प्याड पनि हुँदैन । हामीसँग यी उपलब्ध छन् ।’
‘यस्तो स्थितीमा महिलाले होस्टेससँग आरामसँग कुरा गर्न सक्छन् ।’
उनी भन्छिन्, ‘साना बच्चासँग यात्रा गरिरहेका महिलाको पनि हामी विशेष ध्यान राख्ने कोसिस गर्छौं । हामी बच्चालाई पनि बोक्छौं ।’
पोशाकमाथि विवादः
चार अक्टोबरमा जब यो रेल सेवाको उद्घाटन गरियो तब यसबारे मिडिया र सोसल मिडियामा चर्चा भयो ।
शरीरमा टाँस्सिएको पहिरन लगाएर यात्रीमाथि फूल बर्साइरहेका ट्रेन होस्टेसको तस्बिर जब प्रकाशित भयो तब सोसल मिडियामा थुप्रैले उनीहरुको पोशाकमाथि प्रश्न उठाए ।
थुप्रैले रेलमन्त्री र प्रधानमन्त्री कार्यालयलाई ट्याग गरेर ट्वीट गर्दै होस्टेसलाई साडी लगाइनुपर्ने बताए ।
प्रश्न उठाउने धेरैले भारतीय रेलमा कार्यरत यी होस्टेसले पश्चिमी स्कर्ट लगाउनुको साटो भारतीय संस्कृतिको प्रतिक साडी लगाउनुपर्ने तर्क दिएका थिए ।
शुभांगीका अनुसार यो तर्क सांस्कृतिक वा पारम्परिक रुपमा त सही लाग्छ तर व्यवहारिक रुपमा लाग्दैन ।
साडी लगाउनु व्यवहारिक छैनः
शुभांगी भन्छिन्, ‘हामी व्यवसायिक पोशाक लगाइरहेका छौं जसलाई हाम्रो कामको आवश्यकताको हिसाबले डिजाइन गरिएको छ । रेलमा स्थान कम हुन्छ, यात्री धेरै हुन्छन् । गुडिरहेको, हल्लिएको ट्रेनमा साडी लगाएर यात्रीलाई सेवा दिनु व्यवहारिक होइन ।’
‘साडी सम्हाल्नु आफैंमा एउटा काम हो । साडी लगाएपछि थप्रै पटक हामी आफैंलाई त सम्हाल्न सक्दैनौं भने अरुलाई कसरी सम्हाल्छौं । यदि कुनै आपतकालीन स्थिती सृजना भएको खण्डमा यो पोशाकमा हाम्रा क्रुले आफूलाई नभई यात्रीलाई ध्यान दिन सक्छन् ।’
यस्तै, पोशाकको लागि भएको विवादमा श्वेता भन्छिन्, ‘हाम्रो ड्रेसले हामीलाई पूर्ण रुपमा ढाकेको छ । यो हाम्रो कामको आवश्यकता अनुसार बनाइएको छ । साडी लगाएर यो काम गर्नु निकै मुश्किल हुनेछ ।’
वैशाली जयसवालका अनुसार भारतीय समाजको एउटा वर्ग यस्तो छ जसले महिलामाथि कुनै पनि हालतमा टिप्पणी गरेकै हुन्छन् ।
उनी भन्छिन्, ‘यदि हामीले साडी नै लगाएको भए पनि उनीहरुले केही अर्को विषयमा हामीमाथि टिप्पणी गर्थे । समस्या हाम्रो पहिरनमा नभई यस्ता व्यक्तिहरुको सोचमा छ ।’
कुनै कारणबिना नै दुःख दिन्छन् यात्रीः
तेजस एक्सप्रेसमा हरेक सिटमाथि एउटा कल बटन छ जुन दबाएर होस्टेसलाई बोलाउन सकिन्छ ।
तर थुप्रै पटक मानिसहरुले कुनै कारण बिना नै कल बटन दबाउने गर्छन् । सन्ध्या भन्छिन्, ‘थुप्रै यात्री होस्टेसलाई हेर्न मात्रै चाहन्छन् ।’
सुम्बुल फातिमा भन्छिन्, ‘थुप्रै पटक यात्रीले कुनै कारण बिना कल बटन दबाएर हामीलाई बोलाउने गर्नुहुन्छ र जब हामी पुग्छौं तब उहाँहरुले बटनले काम गरिरहेको छ छैन भनेर परीक्षण गरेको बताउँछन् ।’
म्यानेजर शिवांगी भन्छिन्, ‘एउटा कोचमा ७० यात्री हुन्छन् जबकी दुई क्रु मेम्बर्स हुन्छन् । काम नपरी घण्टी बजाउँदा ती यात्रीलाई सुविधा प्रदान गर्न समस्या हुन्छ जसलाई साँच्चै मद्दत चाहिएको हुन्छ ।’
सन्ध्याका अनुसार कति यात्रीले त गलत दृष्टिकोणले हेर्ने वा नकारात्मक टिप्पणी गर्ने गर्छन् ।
उनी भन्छिन्, ‘यस्तो परिस्थितीमा हामी संयमता अपनाउने गर्छौं । हामीले हरेक पटक यो प्रमाणित गर्नुपर्ने हुन्छ कि हामी पुरुषभन्दा कम छैनौं ।’
भिडियो बनाउँदा हुन्छ समस्याः
ट्रेन होस्टेसका लागि सबैभन्दा चुनौतीपूर्ण ती व्यक्तिको व्यवहार हुन्छ जसले नसोधिकनै तस्बिर र भिडियो खिच्छन् ।
सुम्बुल भन्छिन्, ‘थुप्रै यात्रुले फोन गरेर बोलाउँछन् र पहिले नै क्यामरा चलाएर राख्छन् । हामी उनीहरुलाई सेवा दिइरहेका हुन्छौं र उनीहरु हाम्रो भिडियो बनाइरहेका हुन्छन् । यो हामीलाई मन पर्दैन तर हामी केही गर्न सक्दैनौँ ।’
दुई दिन अघि मात्रै क्रुमा समावेश भएकी सिमरन भन्छिन्, ‘यो महिलाका लागि आफैंलाई प्रमाणित गर्ने सबैभन्दा राम्रो मौका हो । तर थुप्रै पटक यात्रीको व्यवहार असहज गरिदिने किसिमको हुन्छ ।’
उनी भन्छिन्, ‘हामीलाई नसोधिकनै भिडियो बनाइन्छ जुन भाइरल हुनसक्छन् र परिवारको अगाडि हामीले समस्या झेल्नुपर्ने हुनसक्छ ।’
सन्ध्यालाई यस्तो भिडियो बनाउनेसँग ठूलै समस्या छ । उनी भन्छिन्, ‘मानिसहरु फेसबुकमा लाइभ गरिदिन्छन्, टिकटकका लागि भिडियो बनाउँछन्, हाम्रो मर्जीबिना युट्युबमा पोस्ट गरिदिन्छन् ।’
ट्रेन म्यानेजर शुभांगी भन्छिन्, ‘यो एउटा नयाँ ट्रेन हो । मानिसहरु ट्रेनभित्र र हाम्रा होस्टेससँग तस्बिर खिचाउन निकै उत्साहित छन् । तर यसले हाम्रा होस्टेस असहज हुन्छन् ।’
हाम्रो मेहनत हेर्नुपर्छः
शुभांगी भन्छिन्, ‘क्रु मेम्बर्सले सर्भ गरिरहेका हुन्छन् र मानिसहरुले भिडियो बनाइरहेका हुन्छन् । यसो गर्दा उनीहरुलाई काम गर्न समस्या हुने गर्छ ।’
उनी भन्छिन्, ‘थुप्रै युवती यस्तो परिवारका छन् जो यस्तो भिडियो बनाइँदा असहज महसुस गर्छन् । उनीहरु आफ्नो काम गरिरहेका छन्, उनीहरुको पनि गोपनियता छ जसबारे ध्यान दिइनुपर्छ ।’
सुम्बुल भन्छिन्, ‘मानिसहरुले हामीलाई होइन हाम्रो काम र मेहनत हुर्नुपर्छ ।’
सन्ध्या यादव भन्छिन्, ‘थुप्रै यात्रीले अस्विकार गर्दा पनि भिडियो बनाइरहन्छन् । उनीहरुको व्यवहार यस्तो हुन्छ कि उनीहरुले हामीलाई खरिद गरेका छन् ।’
उनी भन्छिन्, ‘हाम्रो तस्बिर खिच्नु अघि हाम्रो अनुमती लिनुपर्छ । युवती चाहे क्याबिन क्रुमा हुन् वा कलेजमा उनीहरुले सम्मान पाउनुपर्छ ।’
टिप दिने कोसिस गर्छन् यात्रीः
थुप्रै होस्टेसका अनुसार यात्री उनीहरुलाई टिप दिने कोसिस गर्छन् । नलिँदा जबरजस्ती हातमा पैसा राखिदिन्छन् ।
सुम्बुल भन्छिन्, ‘थुप्रै यात्री कल बटन दबाएर हामीलाई बोलाउँछन् र टिप दिन्छन् । हामीलाई न त टिप पाउँदा खुसी लाग्छ न नै यसको अनुमती छ ।’
केही होस्टेसका अनुसार थुप्रै पटक यात्रीले आफ्नो नम्बर दिएर साथी बन्नका लागि प्रस्ताव दिने गर्छन् ।
क्रु सदस्य शैला मिश्रा भन्छिन्, ‘थुप्रै मानिसहरु आफ्नो नम्बर र साथी बन्न प्रस्ताव दिने कोसिस गर्छन् । उनीहरु सोसल मिडियामा पनि स्टक गर्छन् । यात्रीले बुझ्नुपर्छ कि यो सबै हाम्रो काम होइन ।’
शुभांगी भन्छिन्, ‘क्रु मेम्बर्सको यात्रीसँग सम्बन्ध यात्राको बेलामा मात्रै हो । थुप्रै पटक यात्रीले नम्बर माग्छन् । क्रु मेम्बर्सलाई आफ्नो नम्बर दिने अनुमती छैन ।’
उनी भन्छिन्, ‘हाम्रा क्रु मेम्बर्स यात्रीको सम्मानलाई ठेस् नपुर्याइ यस्तो स्थितीको सामना कसरी गर्ने भन्नेबारे प्रशिक्षित छन् ।’
कति तलबः
यी युवती एक दिनमा १८ घण्टा काम गर्छन् र अर्को दिन आराम गर्छन् ।
उनीहरु सबैजना ६ महिनाको प्रोबेशन पिरियडमा छन् । त्यसपछि मात्रै उनीहरुलाई कन्ट्र्याक्ट दिइन्छ ।
तलबको प्रश्नमा उनीहरु भन्छन्, ‘जुन तलब हामीले अहिले पाइरहेका छौं त्यो धेरै त छैन तर हाम्रो आवश्यकता पूरा गर्नका लागि पर्याप्त छ । हामी आफ्नो सपना बाँचिरहेका छौं, यो हाम्रो वास्तविक कमाई हो ।’
कतिले उनीहरुलाई तलब बारे कुनै जानकारी नभएको पनि बताएका छन् । उनीहरु महिना समाप्त भएपछि तलब आउने प्रतिक्षामा छन् ।
All Photos: POONAM KAUSHAL/BBC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश