केन्द्रीय संस्करण
अन्तरवार्ता

‘हामी डेकोरेटर मात्रै होइनौँ डिजाइनर पनि हौँ’

राष्ट्र निर्माणमा हाम्रो महत्त्वपूर्ण भूमिका हुन सक्छ : विन्द्रा कक्षपती प्रधान, अध्यक्ष आइडिया नेपाल

person explore access_timeअसोज २९, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

नेपालमा पेसागत हकहितका लागि भन्दै विभिन्न सङ्घसंगठन सञ्चालनमा छन् । कुनै पनि पेसा व्यवसायमा क्रियाशील व्यक्तिहरू एकलभन्दा पनि समूहगत रूपमा आफूलाई सुरक्षित ठान्छन् ।

पेसालाई व्यवस्थित र मर्यादित बनाउनका लागि सङ्घसङ्गठन स्थापना हुनु राम्रै पनि हो । कति सङ्घ सङ्गठन स्वतन्त्र तवरले पेसालाई व्यवस्थित बनाउन नै सक्रिय भए पनि कति राजनीति गर्ने अखडाका रूपमा विकास भएका छन् ।

हालै मात्र इन्टेरियर डिजाइनरहरूको संस्था इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) ले पुनर्जन्म पाएको छ । डा. मथुरा कार्कीको अध्यक्षतामा २०६० सालमा स्थापना भएको आइडिया नेपाल लामो समय निष्क्रिय रह्यो । हाल संस्थाले पुनः गति लिएको छ ।

आइडिया नेपाल स्थापना कालदेखि नै महिलाहरूले हाँक्दै आए । बीचमा केही समय निष्क्रिय रहे पनि संस्थाको नेतृत्वको जिम्मा पुनः महिलाकै काँधमा आएको छ ।

स्थापना कालदेखि नै संस्थामा आबद्ध रहेकी इन्टेरियर डिजाइनर विन्द्रा कक्षपती प्रधानले अहिले आएर आइडियाको नेतृत्व सम्हालेकी छिन् । विगत २५ वर्षदेखि इन्टेरियर डिजाइनमा सक्रिय प्रधानसँग हामीले रातोपाटीका लागि कुराकानी गरेका छौँ ।

*****

इन्टेरियर डिजाइनिङ पेसा वास्तवमा इन्जिनियरिङ, आर्किटेक्ट जस्तै नै हो । तर हामीलाई घर वा कोठा सजाउने व्यक्तिका रूपमा मात्रै परिभाषित गरिएको छ । तर हामी सजावट गर्ने (डेकोरेटर) मात्र होइनौँ, डिजाइनर हौँ भन्ने तथ्य स्थापित गर्न हामी लागिपरेका छौँ ।

*****

–लामो समयदेखि निष्क्रिय इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)ले पुनर्जन्म पाएको छ, र तपाईं डिजाइनरहरूको अध्यक्ष बन्नुभएको छ । डिजाइनरहरूका लागि आइडिया नेपाल नै किन ?

आइडिया नेपाल अथवा इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपाल भर्खरै पुनर्गठन भएको छ । सबै पेसा र व्यवसायमा संलग्नहरू सङ्घसङ्गठन खडा गरी आफ्नो पेसागत सुरक्षा र अधिकारका लागि धेरै अघिदेखि आवाज उठाउँदै आएका छन् । हाम्रो पेसा जहिले पनि पछाडि पर्दै आएको छ । हाम्रो पहिचान के भन्ने नै यहाँ कसैलाई थाहा छैन ।

अझ भन्ने हो भने राज्यको माथिल्लो निकायले यो व्यवसायलाई व्यवसाय नै ठान्दैन । व्यवसायीहरू आफ्नो पहिचान बताउँदै काम गर्नुपर्ने अवस्था छ । हो, यही अवस्थाको अन्त्यका लागि आइडिया नेपाललाई पुनः व्युँताएका हौँ ।

इन्टेरियर डिजाइनरहरूको पहिचान स्थापित गर्न अनि पेसागत हक अधिकार सुनिश्चित गर्नकै लागि हामी सक्रिय बनेका हौँ । म अध्यक्ष भएपछि स्थानीय निकायदेखि प्रधानमन्त्री कार्यालयसम्म हामी पुग्यौँ । यसलाई राज्यले पनि सकारात्मक रूपमा हेरेको छ ।

इन्टेरियर डिजाइनिङ पेसा वास्तवमा इन्जिनियरिङ, आर्किटेक्ट जस्तै नै हो । तर हामीलाई घर वा कोठा सजाउने व्यक्तिका रूपमा मात्रै परिभाषित गरिएको छ । तर हामी सजावट गर्ने (डेकोरेटर) मात्र होइनौँ, डिजाइनर हौँ भन्ने तथ्य स्थापित गर्न हामी लागिपरेका छौँ ।

*****

हामीले नेपालमा डाक्टर, इन्जिनियर, आर्किटेक्ट, विजनेस सबैका लागि सहज शिक्षाको व्यवस्था भएजस्तै इन्टेरियर डिजाइनर बन्न चाहनेहरूले स्वदेशमै गुणस्तरीय शिक्षा लिन पाउनुपर्छ भन्ने माग राख्दै आएको धेरै भयो । डिजाइनरहरूको माग दिनानुदिन बढ्दै गइरहेको छ तर पढ्न भने बाहिर नै जानुपर्ने बाध्यता छ ।

*****

–आइडिया नेपालले इन्टेरियर डिजाइनरलाई अगाडि ल्याउन कसरी पहल गर्छ ? डिजाइनरहरू बेरोजगार बस्नुपरेको छ कि छैन ?

हिजोसम्म हामी मात्र डिजाइनर थियौँ, काम पाउनेले गर्ने नपाए यतिकै बस्ने थियो । आज हामी एकजुट भएका छौँ । आइडियामा अहिले लगभग ३ सयको हाराहारीमा सदस्यहरू आबद्ध भइसक्नुभएको छ । यसैगरी एउटा सङ्घलाई स्थायित्व दिन र दिगो रूपमा अगाडि लैजान थुप्रै डिजाइनरहरू यसमा आबद्ध  हुनु जरुरी छ ।

अर्को कुरा, यहाँ क्षमतावान डिजाइनरहरू ओझेलमा परिरहेको अवस्था छ । भनिन्छ नि ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ हो त्यस्तै भएको छ । अलि लगानी गर्न सक्ने टाठा बाठाले सजिलै काम पाउँछन् तर मिहिनेत गरेर ठूलो लगानी गरेर पढेर आएकाहरू जो आफू स्वयं व्यवसायमा लगानी गर्न सक्दैनन् उनीहरूले काम नपाउने र पाए पनि मिहिनेत अनुसारको प्रतिफल नपाउने अवस्था छ । हो यस्तो विभेदको अन्त्य गर्न पनि हामी सक्रिय हुनेछौँ । सबैलाई समान अवसर र समान व्यवहार प्राप्त होस् भनेर हामी यो संस्थामार्फत काम गर्दैछौँ ।

योसँगै पेसालाई व्यावसायिक र मर्यादित बनाउन राज्यको तहसम्म लैजान अत्यन्त जरुरी छ । जबसम्म राज्यले नै हामीलाई चिन्दैन नि तबसम्म हामीले अफ्नो पेसालाई राष्ट्रियकरण गर्न सक्दैनौँ । त्यसैले राष्ट्रिय स्तरमा हाम्रो पेसालाई चिनाउन पहल थालेका छौँ । यसका लागि डिजाइनरहरूले पनि साथ दिनुभएको छ ।

त्यसैले हामीले प्रधानमन्त्रीलाई पनि हामी र हाम्रो संस्थाको तर्फबाट निवेदन गरेका छौँ । सबै पक्षबाट सकारात्मक प्रतिकृया आइरहेका छन् ।

–इन्टेरियर डिजाइनरहरूको माग दिनदिनै बढ्दै गइरहेको छ तर नेपालीहरू भने इन्टेरियर डिजाइनर कोर्स पढ्नका लागि विदेश नै जानुपर्ने बाध्यता छ । नेपालमा १÷२ वटा कलेजमा मात्रै यो कोर्सको पढाइ हुन्छ । यस्तो अवस्थामा सुधारका लागि कस्ता पहल गर्नु हुन्छ ?

अवश्य पनि गर्छौं । हामीले नेपालमा डाक्टर, इन्जिनियर, आर्किटेक्ट, विजनेस सबैका लागि सहज शिक्षाको व्यवस्था भएजस्तै इन्टेरियर डिजाइनर बन्न चाहनेहरूले स्वदेशमै गुणस्तरीय शिक्षा लिन पाउनुपर्छ भन्ने माग राख्दै आएको धेरै भयो । डिजाइनरहरूको माग दिनानुदिन बढ्दै गइरहेको छ तर पढ्न भने बाहिर नै जानुपर्ने बाध्यता छ ।

अहिले नेपालमा पनि १÷२ वटा कलेजहरूले यो कोर्स पढाइरहेका छन् । नेपालमै इन्टेरियर डिजाइनरहरूको उत्पादन भइरहेको छ । हामीले नेपाल सरकारसँग कलेजहरूलाई इन्टेरियर कोर्सको पढाइ सञ्चालन गर्न प्रोत्साहन गरिदिन र कलेजहरूले पनि यो कोर्सको पढाइ गर्न भनिरहेका छौँ ।

यीबाहेक हामीले डिजाइनरहरू मिलेर इन्टेरियर डिजाइनको तालिम पनि सञ्चालन गर्ने गरेका छौँ । यसलाई अझै विस्तार गर्दै लैजाने सोच पनि बनाएका छौँ । इन्टेरियर बन्न चाहनेहरूले विदेशमा ठूलो रकम तिरेर पढ्नुपर्ने बाध्यताको अन्त्य गर्दै स्वदेशमै गुणस्तरीय शिक्षाका लागि पहल गर्नेछौँ ।

–कानुनी रूपमा तपाईंहरू कतिको बलियो हुनुहुन्छ ?

अहिले हामी कुनै कोड अफ कन्डक्टमा छैनौँ । यसका लागि पहल गरिरहेका छौँ । कसैले गलत गर्यो भने पनि कनुनी रूपमा दण्डित गर्न सकिने अवस्था छैन । अर्को कुरा, जसले जति मन लाग्छ त्यही रेटअनुसार काम गरिरहेका छन् । हामीले आफ्नो कामको उचित मूल्य निर्धारण गर्नु जरुरी छ ।

कानुनी रूपमा हामी बलियो बन्नुपर्छ भनेर हाम्रो संस्था अग्रसर भएको छ । इन्टेरियर डिजाइनरहरूको आफ्नो रेट पनि छैन । काम अनुसारको मूल्य निर्धारण गर्न सकियो भने बल्ल हामी व्यवस्थित हुन्छौँ । कोड अफ कन्डक्ट बनाएर यसलाई फलो गर्ने अनि यो पेसालाई एउटा लयमा लैजाने योजनाअनुसार हामी अगाडि आएका छौँ ।

–भनिन्छ इन्टेरियर डिजाइनरले घरलाई मात्र होइन सहरलाई नै सुन्दर बनाउन सक्छन् । नेपालमा स्मार्ट सिटीको अवधारणा पनि अगाडि आएको छ । स्मार्ट सिटीका लागि इन्टेरियरको भूमिका कस्तो हुन्छ ?

हो, घर मात्रै होइन इन्टेरियरको भूमिका सिङ्गो सहरलाई व्यवस्थित गर्नमा रहन्छ । हामीले यसका लागि विशेष कार्यक्रम नै सञ्चालन गर्ने भएका छौँ । त्यसैले हामी प्लस टुका विद्यार्थी तहबाटै कार्यक्रम लैजाँदै छौँ ताकि उनीहरूलाई थाहा होस् कि एउटा घर अनि समाजको रूपलाई एक इन्टेरियरले कसरी परिवर्तन गरिदिन सक्छन् भनेर ।

विश्वमै इन्टेरियरको जति माग छ नि नेपालमा पनि यसको माग बढ्दो छ । प्लस टु पढ्ने विद्यार्थीहरू भोलि कुन विषय पढ्ने भन्ने अलमलमा परेको पनि देखिन्छ । त्यसैले उनीहरूलाई यो विषय अध्ययनका लागि प्रोत्साहन गर्न पनि जरुरी ठानेका छौँ । यो पेसा निकै राम्रो र रचनात्मक भएकाले विद्यार्थीहरूको आकर्षण बढ्दै जाने हामीले अपेक्षा गरेका छौँ । यसले भविष्यमा स्मार्ट घर मात्रै होइन कि स्मार्ट सिटीको अवधारणामा हाम्रो रचनात्मक भूमिका निभाउने छ ।

सँगसँगै, हामीले विभिन्न अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गरेर यस क्षेत्रमा आउन चाहनेहरूको लागि सहजीकरणको काम पनि गर्न थालेका छौँ । विशेष गरेर अहिलेसम्म एकल काम गर्दै आएका डिजाइनरहरू समूहगत रूपमा काम गर्नुपर्नेमा जोड दिएका छौँ किनकि नेपालमा हाउजिङ, अपार्टमेन्टको अवधारणा विकास भएको छ । यस्तोमा समूहमा काम गर्दा सहज हुनेछ । अनि साथसाथै एउटा बलियो अनि सुन्दर घरका लागि इन्जिनियर, आर्किटेक्टको मात्रै होइन इन्टेरियरको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने बारे सबैले बुझ्न जरुरी छ । यसका लागि आइडिया नेपालले भूमिका खेल्नेछ ।

*****

अब आफ्नो पेसाभन्दा भिन्न काम गर्दा त्यो कस्तो बन्ला ? हुन त कामको अनुभवले पनि केही त राम्रै होला तर सबै राम्रो हुन सक्दैन । इन्टेरियरले त हरेक ठाउँ र सामान अनि घरको समग्र अवस्थालाई नै व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे अध्ययन गरेको हुन्छ । उसँग सैद्धान्तिक मात्रै होइन कि व्यावहारिक ज्ञान पनि हुन्छ तब न सबै चिजको व्यवस्थापन सही तवरले हुन्छ । यो कामको तनाव इन्जिनियर आर्किटेक्टले लिइरहन परेन नि ।

*****

इन्टेरियरलाई पहिला घरको मानिसले बुझ्न जरुरी छ । घरभित्र बुझेपछि सहरले बुझ्छ अनि मात्रै देशले बुझ्छ । त्यसैले पनि हामीले हाम्रो पेसाको महत्त्व र अनिवार्यतालाई सर्वसाधारणको बुझाइसम्म पुर्याउन चाहन्छौँ ।

इन्टेरियर डिजाइनर, इन्जिनियर, आर्किटेक्ट, इलेक्ट्रिसियन, वास्तु, प्लम्बिङ, लाइटको काम गर्ने, फर्निचरको काम गर्नेदेखि कम्प्युटर (भर्च्युअल) डिजाइनर अथवा एउटा घरका लागि चाहिने जति सबैले सहकार्य गर्नु जरुरी देखेर हामीले ‘सहकार्य’ भनेर कार्यक्रम सुरु गरेका छौँ ।

भूमिकाको कुरा गर्दा, सरकारी अस्पताल वीर अस्पताल नयाँ बनिरहेको छ । जहाँ इन्टेरियरलाई समावेश गराउने हो भने त्यो भवनको स्वरूप नै अर्कै हुन्थ्यो । बिरामी आवत जावत गर्ने अनि बस्ने ठाउँ आकर्षक र सहज हुने हो भने रोग प्रतिरक्षामा पनि सहयोग पुग्थ्यो । त्यस्तै, संसद भवन निर्माण हुँदैछ । मन्त्री क्वाटर बन्दैछ । यी सबै योजनामा सुरुबाटै इन्टेरियरलाई पनि समावेश गराउने हो भने अवश्य पनि हामीले विदेशी संरचनाको प्रसंशा गर्नुपर्दैन । हामी आफ्नै देशका संरचनाको मजाले तारिफ गर्न सक्छौँ ।

सरकारी वा रष्ट्रिय स्तरमा हाम्रो पहुँच छैन । हामीलाई माथिल्लो तहले चिन्दैन ताकि राष्ट्र निर्माणमा हाम्रो पनि उत्तिकै भूमिका हुन सक्छ है भन्नकै लागि हामी सङ्गठित भएका छौँ । यसमा इन्टेरियर डिजाइनिङमा लागेका सबैले साथ दिन जरुरी छ ।

इन्टेरियरले आफ्नो कामलाई कसरी वर्गीकरण गर्छ ?

पहिलो काम कुनै पनि घर, भवन वा अफिसको प्लेसमेन्ट अफ रुम, प्लेसमेन्ट अफ फर्निचर लगायतको डिजाइन इन्टेरियरले गर्ने भएकाले इन्टेरियरबिनाको घरको कल्पनै हुँदैन । मात्र यति हो, कतिले डिजाइनरको सहायतामा यी सब काम गर्छ त कतिले आफै वा इन्जिनियर, आर्किटेक्टलाई नै यसको जिम्मा लगाइदिन्छ ।

अब आफ्नो पेसाभन्दा भिन्न काम गर्दा त्यो कस्तो बन्ला ? हुन त कामको अनुभवले पनि केही त राम्रै होला तर सबै राम्रो हुन सक्दैन । इन्टेरियरले त हरेक ठाउँ र सामान अनि घरको समग्र अवस्थालाई नै व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे अध्ययन गरेको हुन्छ । उसँग सैद्धान्तिक मात्रै होइन कि व्यावहारिक ज्ञान पनि हुन्छ तब न सबै चिजको व्यवस्थापन सही तवरले हुन्छ । यो कामको तनाव इन्जिनियर आर्किटेक्टले लिइरहन परेन नि ।

इन्टेरियरको काम सजाउने मात्रै होइन डिजाइन गर्ने पनि हो । त्यसैले कुन कोठा कत्रो बनाउने, घरको झ्याल, ढोका, कसरी राख्ने र कोठामा कस्ता सामान राख्ने कति राख्ने, लाइट, कलर कस्तो राख्ने लगायतका सम्पूर्ण काम इन्टेरियरले गर्छ । यी सबै घरको सुन्दरताका लागि मात्रै होइन सुरक्षाको दुष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।

कुनै पनि घर वा भवन बनाउँदा जगबाटै इन्टेरियरलाई ठाउँ दिने हो भने घरको स्वरूप सोचेभन्दा राम्रो आउँनेछ । इन्जिनियर, आर्किटेक्ट, इन्टेरियर, प्लम्बिङ, इलेक्ट्रिसियन सबैको सहकार्य भयो भने बल्ल एउटा घर अथवा भवन बलियो र सुन्दर बन्नेछ ।

वास्तवमा भन्ने हो भने घरको नक्सा कोर्दैदेखि इन्टेरियरको महत्त्व हुनुपर्छ । नेपालमा यो चलन छैन । खाली घर तयार भयो अब कोठा वा अन्य क्षेत्र व्यवस्थापनमा मात्रै प्रयोग गर्ने गरिन्छ । यसले गर्दा कतिपय अवस्थामा थप खर्चिलो हुन जान्छ । त्यसैले सुरुदेखि (जग हाल्नुपूर्व) देखि नै इन्टेरियर पनि लिने हो भने बल्ल सोचेजस्तो हुन्छ । थप खर्चबाट बचिन्छ पनि ।

–नेपालमा इन्टेरियर डिजाइनरको अवस्था कस्तो छ ?

वास्तवमै भन्नुपर्दा इन्टेरियरको अवस्था नेपालमा अज्ञात छ । हुन त हामीसँग नेपालमा इन्टेरियर डिजाइनर यति नै छन् भन्ने यकिन तथ्याङ्क पनि छैन । त्यसैले अवस्था ठ्याक्कै भन्न गाह्रो छ । तर पनि अहिले सञ्चालनमा आएका दुई कलेजबाट पास आउट र विदेशमा पढेर यही काम गर्दै आएकाहरूलाई हेर्दा ३५ सयभन्दा बढी नै छन् । यसमा कति रोजगार छन् र कति बेरोजगार छन् भन्ने अझै थाहा छैन । त्यसैले, हामीले सबैलाई आइडिया नेपालमा समेटेर इन्टेरियरको अवस्थालाई उजागर गर्ने प्रयत्न गरेका छौँ ।

यहाँ काम पाएकाहरू आफ्नै काममा रुमल्लिएको अवस्था छ । नपाएकाहरूले पेसा नै परिवर्तन गरेका पनि छन् । त्यसैले हामीले पेसालाई व्यवस्थित गर्न पहल गरिरहेका छौँ । साथै लामो अनुभव भएकाहरूबाट विभिन्न तालिम सञ्चालन गर्ने र नेटवर्किङमार्फत् काम दिलाउने प्रयास गर्न हामी लागिपरेका छौँ । ताकि भोलि कोही पनि इन्टेरियरले बेरोजगार बस्न नपरोस् ।

अझ भन्नुपर्दा हाम्रो पेसालाई राष्ट्रिय स्तरमा पुर्याउन र सरकारका योजनाहरूमा इन्टेरियरको स्थान सुनिश्चित गर्न आइडिया नेपालमार्फत अगाडि आएका हौँ । त्यसैले हामी नेपालमा भएका जति पनि इन्टेरियर डिजाइनर छन् उनीहरूलाई आइडियाको छातामा समेटिन आग्रह गर्छौं । भनिन्छ नि ‘एक थुके सुके, सय थुके नदी ।’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...