केन्द्रीय संस्करण

इन्टरनेटको बढ्दो प्रयोग र गोपनीयताको सवाल

person explore access_timeअसोज २९, २०७६ chat_bubble_outline0

सूचना प्रविधिको तीव्र विकासले समाजमा धेरै कुरा सजिलो बनाइदिएको छ । हजारौँ किलोमिटर दूरीमा रहेका परिवार र साथीभाइसँग हामी घरमा बसेजस्तै गरी कुरा गर्न सक्छौँ । इन्टरनेटमा ज्ञानको भण्डार छ र अधिकांश ज्ञान जसले पनि चाहेमा सित्तैँमा प्राप्त गर्न सक्छ । विश्वका कुना कुनामा भइरहेका गतिविधि हामी मिनेट मिनेटमा थाहा पाउछौँ । चिकित्सकहरूले दुर्गम क्षेत्रका बिरामीलाई सहरको आरामदायी अस्पतालको कोठामा बसेर जाँच्न सक्छन् ।

तस्बिर खिच्न पहिलेको जस्तो क्यामेराको रिल किन्नुपर्ने झन्झट छैन । कुनै भाषा नआएर विदेशमा समस्या परेको छ भने भाषा अनुवाद गर्ने एपहरूले सजिलै समस्या समाधान गरिदिन्छन् । सित्तैँमा लाखौँ सङ्गीत, भिडियो र सिनेमा हेर्न पाइन्छ । समाचार पढ्न पत्रिका किन्नु पर्दैन । बिजुली र पानीको बिल भुक्तानी गर्न घाममा पसिना चुहाएर लाइनमा बस्नु पर्दैन । यी त केही सामान्य र दैनिक जीवनमा मानिसले प्रयोग गर्ने उदाहरण मात्र हुन् ।

त्यसबाहेक तपाईं पैसा झिक्न या राख्न बैङ्क जानु पर्दैन । कोठाको ढोकाको साँचो बिस्र्यो कि भन्ने चिन्ता नगरे हुन्छ किनकि तपाईंको हातको औँला नै तपाईंको साँचो भइसकेको छ । कतै जानु पर्यो भने बाटो भुलिएला भन्ने पनि पीर गर्नु पर्दैन । तपाईंको मोबाइलमा भएको एपले नै तपाईंलाई गन्तव्यमा पुर्याउँछ । सामान किन्न पसलमा नै जानुपर्ने आवश्यकता छैन । तपाईंलाई चाहिने हरेक सामान एक क्लिकमा तपाईंको ढोकामै आइपुग्छ ।

अझ त्योभन्दा पनि माथि हेर्ने हो भने निकट भविष्यमै तपाईंले आफ्नो गाडी पनि चलाउनुपर्ने छैन । सबै गाडीहरू स्वचालित हुनेछन् । डाक्टरहरूले औषधिको नाम सम्झनुपर्ने छैन । कुन बिरामीलाई कस्तो औषधि दिने भन्ने कम्प्युटरले नै निर्णय गर्नेछ । रोबोटहरूले निकै अनुभवी डाक्टरले भन्दा राम्रोसँग बिरामीको शल्यक्रिया गर्नेछन् । त्योभन्दा पनि बढी अनि आधुनिक अरू धेरै कुरा निकट भविष्यमा हुने निश्चित छ जुन कुरा हामीले अहिले सायद सोच्न पनि सक्दैनौँ ।

यी सबै कुरा सूचना प्रविधिको विकासले गर्दा सम्भव भएका हुन् । तर हरेक राम्रो कुराले केही न केही नराम्रो कुरो पनि उब्जाएकै हुन्छ, त्यो संसारको नियम नै हो । त्यसैले सूचना प्रविधिको विकासले पनि केही नराम्रा कुरा निम्त्याएकै छ ।

सबैले तुरुन्तै अनुभव गरिरहेको कुरो हो कि विगत २ दशकयता मान्छे सामाजिक हुन छोडेका छन्, कम्प्युटर र मोबाइलमा धेरै समय बिताउँदा विभिन्न नयाँ बिरामीहरू बढेका छन् । बच्चाहरूको आनीबानीमा नकारात्मक प्रभाव परेको छ । तर ती समस्याभन्दा पनि अहिले विकराल रूप धारण गर्दै गरेको समस्या भनेको सूचना प्रविधिको कारणले ल्याएको वैयक्तिक स्वतन्त्रता र गोपनीयताका समस्याहरू हुन् ।
हामी अहिले इन्टरनेटमा यति धेरै आश्रित भएका छौँ कि ठूला सहरमा बस्ने मानिसहरूको जीवन इन्टरनेटबिना चल्न असम्भव भइसकेको छ ।

त्यही निर्भरता आर्थिक क्षेत्रमा र अधिकांश देशका सरकारमा पनि छ । इन्टरनेटबिना अब कुनै बैङ्क पनि चल्न सक्दैनन् । अधिकांश सरकारहरूका सबै गोप्य सूचनाहरू इन्टरनेटमै हुन्छन् । कसैगरी कुनै गल्तीले गर्दा इन्टरनेटको सुरक्षामा कुनै त्रुटि भयो भने त्यसले विकराल समस्या निम्त्याउँछ । नेपालमा हालसालै भएको बैङ्क ह्याकिङ यसैको एउटा उदाहरण हो । देश देशबीचको टकरावमा कुनै तानाशाहले अन्य देशहरूका गोप्य सूचना र प्रविधिहरू हात पान सक्यो भने विश्व शान्तिमै पनि समस्या पर्न सक्छ ।

सरकारहरू बीचको टकराव र उनीहरूले गर्ने सुरक्षा त एकातिर भयो किनभने केही समस्या आयो भने सरकारले जसरी पनि समस्या समाधान गर्नैपर्छ । जनतालाई खासै ठूलो असर नपर्ला तर एउटा सामान्य नागरिकका लागि उसको व्यक्तिगत गोपनियता सायद त्योभन्दा बढी महत्त्वपूर्ण हुन्छ । तपार्इंको लापरबाहीले गर्दा तपाईंको गोप्य कुरा बाहिर गएर त्यसले समस्या उत्पन्न गर्यो भने अथवा तपाईंको पैसा चोरी भयो भने त्यसको जिम्मेवार तपाईं नै हुनुपर्छ, सरकारले चाहेर पनि केही गर्न सक्दैन ।

आजभोलि इन्टरनेटको माध्यमबाट हुने हरेक क्रियाकलापको निगरानी भइरहेको हुन्छ । अधिकांश मानिसले अवश्य पनि फेसबुक चलाउँछन्, युट्युबमा भिडियो हेर्छन्, ‘गेम’ खेल्छन् । सायद तपाईंले टुटल, फुडपण्डा, इ–सेवा आदि पनि चलाउनु हुन्छ होला । तपाईंले आफ्नो पैसा राखेको बैङ्कको एप पनि चलाउनु हुन्छ होला । ती सबै काम गर्दा तपाईंका व्यक्तिगत सूचनाहरू उनीहरूले सङ्कलन गरिरहेका हुन्छन् । अधिकांश माथिका एप चलाउँदा तपाईंले तिनमा दर्ता गर्नुपर्छ र आफ्नो व्यक्तिगत सूचना पनि दिनुपर्ने हुन्छ । ती सूचनाहरू तपाईंको नाम, लिङ्ग, वर्ष, ठेगाना, इमेल, फोन नम्बर बाहेक तपाईंको बैङ्कको खाता नम्बर पनि हुनसक्छ ।

त्यसको अलावा तपाईंले थाहा नपाउने गरी अधिकांश ती एपहरूले तपाईंले कुन ठाउँबाट ती एप चलाइरहनु भएको छ । कुन कम्प्युटर या मोबाइलबाट चलाइरहनु भएको छ भन्ने सूचना समेत सङ्कलन गरिरहेका हुन्छन् ।
तपाईंले विचार गर्नुभएको होला, युट्युबले ठ्याक्क ठ्याक्क तपाईंलाई मन पर्ने भिडियोहरू अगाडि ल्याएर राखिदिएको हुन्छ । यस्तो लाग्छ यिनीहरू हाम्रो मन बुझ्न ज्योतिषभन्दा पनि तगडा छन् । युट्युबको कुरा गर्दा हामीले कतिबेला कुन भिडियो हेर्छाैं, कति समय हेर्छाैं, हेर्दाहेर्दै बीचमा छोड्छौँ या हेर्न लागेपछि पूरै भिडियो हेर्छाैं, त्यो सबै क्रियाकलाप यसले ट्र्याक गरिरहेको हुन्छ । अनि केही समयसम्म त्यो सूचना ट्र्याक गरेपछि हामीलाई कति बेला के मन पर्छ भन्ने कुरा हामीलाई भन्दा युट्युबलाई बढी थाहा हुन्छ ।  

त्यही अनुरूप यसले हामीलाई भिडियो पस्कन्छ । फेसबुक, गुगल र अन्य सबै चर्चित एपहरूले गर्ने पनि त्यही नै हो ।
यी एपहरूले यसरी नै हामीलाई ट्र्याक गरेर हाम्रा हरेक क्रियाकलाप सबै विश्लेषण गरेर हाम्रो बारेमा हामी आफूलाई भन्दा यिनीहरूलाई बढी थाहा भइसकेको हुन्छ । हामी कहाँ छौँ, हाम्रा साथीहरू कोको हुन्, हामीलाई के मन पर्छ, हामी कतिबेला के गर्छाैं, हाम्रा क्रियाकलापको अध्ययन गरेर यिनीहरूले सजिलै पत्ता लगाउन सक्छन् । त्यसैका आधारमा उनीहरूले हामीलाई मन पर्ने विज्ञापन हामीलाई देखाइरहेका हुन्छन् ।

एकातिर ती एपहरूले हाम्रो बारेमा हरेक कुरा थाहा पाएर त्यहीअनुसार जबर्जस्ती हामीलाई विज्ञापन पठाएर आफूले पैसा आर्जन गरिरहेका हुन्छन् भने अर्काेतिर हाम्रा व्यक्तिगत विवरणलाई अन्य कम्पनीहरूसँग ठूलो रकममा बेचेर या हाम्रो विवरणलाई भविष्यको आफ्नो नयाँ उत्पादन विकास गर्न विश्लेषण गरेर त्यसको फाइदा उठाइरहेका हुन्छन् । आजभोलिको यो सूचना प्रविधिको जमानामा हाम्रो व्यक्तिगत विवरण उनीहरूको लागि निकै नै मूल्यवान हुन्छ ।

नेपालमा सरकारले अझै पूर्णरूपले निगरानी गर्न नसके पनि अधिकांश देशका सरकारहरूले पनि नागरिकहरूको हरेक क्रियाकलापमा नजर राखिरहेका हुन्छन् । अझ चीन र रुस जस्ता वाक स्वतन्त्रता कम भएका देशहरूमा त तपाईं कहाँ जानुहुन्छ, कोसँग कुरा गर्नुहुन्छ, के कुरा गर्नुहुन्छ, के खानु हुन्छ, के हेर्नुहुन्छ, हरेक कुरा निगरानी भइरहेको हुन्छ ।

यस्तो अवस्थामा आफ्नो व्यक्तिगत गोपनियताको सुरक्षाका लागि ध्यान दिनु अन्यन्त जरुरी छ । के सूचना इन्टरनेटमा राख्ने के नराख्ने जस्ता कुराप्रति निकै सजग हुनुपर्छ । फेसबुकमा पूरै परिवार विदेश घुम्न गएको फोटो राखेर घरमा चोरलाई निमन्त्रणा दिएको कुरा त हामीले धेरै पहिले नै सुनेका हौँ ।

त्यसको अतिरिक्त इन्टरनेटमा राखिएका तपाईंका र परिवारका सदस्यका तस्बिर र अन्य विवरणलाई उपयोग गरेर आपराधिक गिरोहले फाइदा उठाउन पनि सक्छन् । तपाईंले तस्बिर खिच्दा यदि ३ मिटर भन्दा कमको दूरीबाट खिच्नु भएको छ र त्यसमा तपाईंका हातका औँलाको हत्केलातिरको भाग पनि देखिएको छ भने त्यो तस्बिरबाट तपाईंको औँलाको रेखा सजिलै पढ्न सकिन्छ । आपराधिक तत्वहरूले त्यसको फाइदा उठाएर तपाईंलाई फसाउन पनि सक्छन ।

गोप्य तस्बिर र भिडियोहरू बाहिर आएर त्यसले उब्जाएको मानसिक दबाब खप्न नसकेर कतिपय मानिसले आत्महत्या गरेको पनि हामीले सुन्दै आएका छौँ । त्योभन्दा उच्च जोखिम बैङ्क खाताको विवरणमा पनि हुन्छ । बच्चाहरूले थाहा नपाएर इन्टरनेटबाट जथाभावी सामान किनेर होस् या बैङ्क खाता ह्याक भएर होस् मानिसले आफ्नो पैसा गुमाएका समाचार समय समयमा आइरहेका हुन्छन् । त्यसैले कुनै पनि एपमा बैङ्क खाताको विवरण राख्नुभन्दा पहिले दुई पटक सोच्नु उपयुक्त हुन्छ । अझ हाम्रो जस्तो उच्च जोखिममा रहेको देशमा त देशभित्रका सरकारले मान्यता दिएका एप बाहेक अन्य एपहरूबाट टाढै बस्नु नै उपयुक्त हुन्छ ।

व्यक्तिगत विवरण, तस्बिर र बैङ्क खाता विवरण राख्दा मात्रै होइन तपाईंले इन्टरनेट चलाउँदा र यसलाई आफ्ना अन्य विवरणहरू दिँदा पनि निकै सजग हुनु आवश्यक भइसकेको छ । के थाहा कुन बेला कस्तो विवरणको दुरुपयोग गरेर अपराधीहरूले तपार्इंलाई हानि गर्न सक्छन् किनभने उनीहरूका लागि तपाईंको हरेक विवरण सुनको अण्डा दिने कुखुरा जस्तै हो ।

अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेटबाट टाढा बस्न र यसको निगरानीबाट पूरै पन्छन सम्भव छैन तर यसलाई चाहिने जति मात्रै प्रयोग गर्नु अनि अर्काको फाइदाका लागि भन्दा आफ्नो फाइदाका लागि प्रयोग गर्नु र यसका विसङ्गतिबाट जोगिनु नै हाम्रो बुद्धिमानी हुनेछ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...