शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुर्दमाथि आक्रमण नरोके टर्कीको अर्थतन्त्र ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी

मङ्गलबार, २८ असोज २०७६, १६ : २२
मङ्गलबार, २८ असोज २०७६

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार टर्किस राष्ट्रपति रिसेप तयिप एर्दोगानसँग प्रत्यक्ष कुराकानी गरेर सिरियामा तत्काल युद्धविराम गर्न माग गरेका छन् ।

ट्रम्पले टर्कीले युद्धविराम नगरेमा कयैन दण्डात्मक कदम उठाइने घोषणा गरेका छन् ।

ट्रम्प र एर्दोगानबीचको कुराकानीलाई उप–राष्ट्रपति माइक पेन्सले बाहिर ल्याएका हुन् । पेन्सले यस सम्बन्धमा छलफल गर्नको लागि आफू चाँडै मध्य–पूर्व जाने पनि बताए ।

ह्वाइट हाउसमा भेला भएका पत्रकारसँग कुरा गर्ने क्रममा पेन्सले भने, ‘बाहिर चर्चा भएजस्तो अमेरिकाले सिरियाको कुर्द क्षेत्रमा आक्रमण गर्नको लागि टर्कीलाई हरियो झण्डा देखाएको छैन । ’

तर ट्रम्पको एक हप्ताअघि सिरियाको कुर्द क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्नुलाई ऐतिहासक भूलको रुपमा व्याख्या गरिदैंछ । यस कार्यको ट्रम्पकै पार्टी रिपब्लिकनका नेताहरुले पनि विरोध गरिरहेका छन् ।

अमेरिका सेनाको उपस्थितिले टर्कीलाई उसले आतङ्कवादी मान्ने कुर्दिस फौजमाथि आक्रमण गर्नबाट रोकिराखेको थियो ।

ट्रम्पको कदमलाई अमेरिकाको समेत संलग्नतामा चालिएको आईएसविरोधी अभियानमा महत्त्वपूर्ण भूमिका निभाएको आफ्नो मित्रशक्तिलाई धोका दिएको हेरिदैंछ ।

किनकि अमेरिका सेनाको फिर्ती सुरु हुना साथ टर्कीले सिरियाको उत्तरी कुर्द क्षेत्रमामाथि आक्रमण सुरु गरेको थियो । चौतर्फी आलोचनापछि अमेरिकी राष्ट्रपति कार्यालयले टर्कीको आक्रमण रोक्न प्रयास स्वरुप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ ।

त्यस्तै ह्वाइट हाउसले अमेरिका–टर्कीबीच हुन लागेको १०० अर्ब अमेरिकी डलर बराबरको व्यापार सम्झौता तत्कालै अघि नबढाउने घोषणा गरेका छन् ।

ट्रम्पले टर्कीविरुद्ध आर्थिक प्रतिबन्ध घोषणा गरे पनि कुर्द क्षेत्रमा रहेका एक हजार अमेरिकी सेनालाई भने त्यहाँबाट निकाल्ने बताएका छन् ।

सोमबार राष्ट्रपति ट्रम्पले भने, ‘टर्की उसको खतरनाक र विध्वंसात्मक बाटो अघि बढिरह्यो भने म टर्कीको अर्थतन्त्र ध्वस्त बनाउन तयार छु । ’

कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स इस्लामिक उग्रवादी संगठन आईएसलाई हराउन चालिएको अभियानको केन्द्रमा थियो । तर टर्कीले भने उक्त संगठनको आफ्नो देशमा विखण्डनवादी आन्दोलन गरिरहेको पीकेकेसँग सम्बन्धन रहेको आरोप लगाउँदै आएको छ ।

अमेरिकाको साथ छाडेपछि सिरियाली कुर्दले टर्कीविरुद्धको संघर्षमा रुसी समर्थन पाएका देशका राष्ट्रपति बसार अल–असादसँग सम्झौता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप