शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बास्केटबल हुँदै क्रिकेटमा लागेका थिए पारस

मङ्गलबार, २८ असोज २०७६, १५ : १५
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट मंगलबार दिउँसो एक्कासी राजीनामाको घोषणा गरेपछि सामजिक सञ्जाल तरंगित भएको छ । पारसको राजीनामा एक्कासी बाहिर आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तीनबर्ष अघिदेखि नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निलम्बन गरेको थियो । यही असोज १० र ११ मा काठमाडौंमा सम्पन्न क्यानको निर्वाचित साधारण सभाले चतुबहादुर  चन्दको अध्यक्षतामा क्यानको नयाँ कार्यसमिति निर्वाचन गरेको थियो । आईसीसीको निगरानीमा क्यानको निर्वाचन सम्पन्न भएपछि सोमबार मात्र दुबईमा बसेको आईसीसी बोर्ड बैठकले क्यानमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।


प्रतिबन्ध फुकुवा भएको भोलिपल्टै पासरले कप्तानबाट राजीनामा गरेका हुन् । नेपाली क्रिकेटले पछिल्लो एक दशकमा हात पारेका सबै खाले सफलतामा पारसको योगदान उल्लेख्य थियो । उनी एक सफल कप्तान मात्र नभएर विश्वभरका क्रिकेटरले रुचाएका चर्चित खेलाडी पनि हुन् ।

शारीरिक रुपले अग्ला कदका कप्तान पारस खड्का बाल्यकालमा बास्केटबल खेल्थे । पारसले बास्केट बल खेल्ने क्रममै नेपाल क्रिकेट संघ क्यानले यू–१५ क्रिकेट टोलीको छनोटका लागि टुँडिखेलमा छनोट क्याम्प राख्यो । पारसमा पनि एकाएक क्रिकेट खेल्ने भुत चढ्यो । उनी त्यही क्याम्पमा सहभागी हुन पुगे ।

त्यही यू–१५ क्याम्पबाट पारसको क्रिकेट यात्रा सुरु भएको थियो । त्यतिवेला अध्ययनका लागि अष्ट्रेलिया जाने पारसको सोचाईलाई विस्तारै क्रिकेटले भुलाइदियो । सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपमा पहिलोपटक नेपाली टोलीको जर्सी लगाएपछि पारसले आफुलाई क्रिकेटमा पछाडी फर्केर हेर्नु परेन । अर्को वर्ष पारसले यू–१९ टोलीबाट खेले । कराँचीमा भएको यू–१९ युथ एसिया कपको पहिलो खेलमै पारसले भारतविरुद्ध खेल्ने अवसर पाए ।

सन् २००४ मा बंगलादेशमा भएको एसीसी यू–१९ विश्वकप खेलेको पारस सहितको टोलीले दक्षिण अफ्रिकालाई हराएको थियो । त्यसपछि पारस सोही बर्ष सिनियर टोलीमो डेब्यु गरे । पारसले काठमाडौंमै भएको एसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत मलेसियाविरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यू गरेका थिए । उनको सिनियर टोलीको यात्रा हालसम्म जारी रह्यो ।

सन् २००५ उनी यू–१९ टिमको उपकप्तान भएको टोलीले २००६ मा श्रीलंकामा खेलेको आइसीसी यू–१९ वल्र्डकप प्लेट च्याम्पियनसिपमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा र न्युजिल्यान्डलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यू–१९ च्याम्पियनसिपबाट यू–१९ टोलीको कप्तान बने । उक्त प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

सोही बर्ष पारसले एसीसी  इमर्जिङ प्लेयर अफ द इयरको अवार्ड पनि जिते । उमेर समूहका प्रतियोगितामा बेजोड प्रदर्शन गरिरहेका पारसले सन् २००७ मा कुवेतमा भएको एसीसी टी–२० कपबाट सिनियर टोलीको उपकप्तान पद सम्हाले ।

उनले सन् २००९ मा युएईमा भएको एसिसी टी–२० ट्रफीबाट सिनियर राष्ट्रिय टोलीको कप्तान बनेका थिए । जुन अहिलेसम्म निरन्तर जारी थियो । नेपालले पारसकै कप्तानीमा सन् २०१० मा काठमाडौंमा भएको आईसीसी डिभिजन पाँचको उपाधि जित्यो । सन् २०१२ मा मलेसियामा भएको डिभिजन चारमा पनि पारसले नेपाललाई च्याम्पियन बनाए ।

पारसले सोही बर्ष नेपाललाई एसिसी इलाइट ट्रफी उपाधि पनि दिलाए । उनी त्यतिवेला प्लेयर अफ दी सिरिज समेत बनेका थिए । सोही प्रतियोगितामा उनले कुवेतविरुद्ध पहिलो शतक प्रहार गरेका हुन् । डिभिजन पाँचदेखि नेपाललाई एकदिवसीयको मान्यता दिलाउँदा सम्म पारसको भूमिका मुख्य रह्यो ।

सन् २०१३ मा भएको एसीसी टी–२० कपमा पनि उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । उनले सोहीबर्ष बर्मुडामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन तीनमा नेपाललाई च्याम्पियन बनाउँदै नेपाललाई टी–२० विश्वकपमा छनोट गराए । 

छनोट खेलमा तेस्रो बन्दै नेपालले सन् २०१४ मा बंगलादेशमा भएको आइसिसी टी–२० विश्वकप खेलेको थियो । सोही बेलादेखि नेपालले टी–२० अन्तर्राष्ट्रियको मान्यता पनि पाएको हो । टी–२० अन्तर्राष्ट्रियको मान्यता पाएसँगै नेपालले पहिलो पटक नेदरल्यान्डसँग चार खेलको क्रिकेट श्रृखंला खेल्यो । नेपाली क्रिकेटलाई एकदिवसीय हुँदै टेस्टको मान्यतामा पुर्याउने लक्ष्य राखेका पारसले हरेक सफलतालाई सबै खेलाडीको मेहनतको प्रतिफलका रुपमा व्यक्त गर्दै आएका थिए ।

पारस एकदिवसीय र टी–२० मा शतक प्रहार गर्ने एक्ला खेलाडी पनि हुन् । पारसको राजीनामासँगै उनको अनुपस्थितिमा नेपाली टोलीको कप्तान को बन्ला भन्ने कौतुहलता पनि चुलिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप