शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जोर्डनसँग नेपालको अग्नीपरीक्षा

सोमबार, २७ असोज २०७६, २२ : ००
सोमबार, २७ असोज २०७६

काठमाडौं – सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल अन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा मंगलबार नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । 

पाँच दिनअघि मात्र अष्ट्रृेलियासँग ५–० गोलको हार खेप्दै सिधै जोर्डन पुगेको नेपाली टोली जोर्डनलाई रोक्ने तयारीमा छ । नेपालका लागि जोर्डन बलियो प्रतिद्वन्द्वी हो । 

नेपाल र जोर्डनबीच यसअघि दुई पटक भिडन्त भएको छ । नेपालले आठ बर्षअघि जोर्डनसँग उसैको मैदानमा ९–० गोलको हार खेपेको थियो ।

त्यसैले मंगलबार जोर्डनसँग नेपालको बास्तविक अग्नीपरिक्षा हुनेछ । जोर्डनसँग खेल्दा नेपालको मुख्य ध्यान विगतको फराकिलो हारलाई भुलेर उत्कृष्ट खेल्नेमा केन्द्रित छ । 

खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक योहान कालिनले नेपालले जोर्डनलाई रोक्ने लक्ष्यका साथ खेल्ने बताए । ‘खेलाडीले विगतलाई भुलेर खेल्नेछन् । जोर्डनलाई कडा टक्कर दिन हामी तयार छौं,’ कालिनले भने ।

सन् २०१४ को विश्वकपका लागि २०११ मा खेलिएको एसियाली छनोटको पहिलो  खेलमा नेपाल जोर्डनसँग ९–० गोलले पराजित भएको थियो । दशरथ रंगशालामा लगत्यै भएको दोस्रो खेलमा भने नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो । 

फिफा बरीयतामा पनि जोर्डन नेपालभन्दा माथि छ । बरीयतामा जोर्डन ९८औं र नेपाल एक सय ६१औं स्थानमा छ । छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल यसअघि पहिलो खेलमा कुवेतसँग ७–० गोलले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा चाईनिज ताइपेईलाई २–० गोलले हराएको थियो । 

यसैगरी जोर्डनले पहिलो खेलमा चाईनेज ताईपेईलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा जोर्डनले कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

समूहमा ६ अंक बनाएको अष्ट्रेलिया शीर्ष स्थानमा छ । चार अंक बनाएको कुवेत दोस्रो र चारनै अंक बनाएको जोर्डन गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । तीन अंक बनाएको नेपाल चौथो स्थानमा छ । खाता खोल्न नसकेको चाईनिज ताईपेई पूछारमा छ । जोर्डनसँगको खेलपछि नेपालले समूहका बाँकी चार खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले कतार विश्वकप छनोटका लागि एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराएको छ । प्रत्येक समूहमा पाँच टोली छन् । सहभागी टोलीले होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । 

दोस्रो चरणको छनोट खेलबाट आठै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन् । तेस्रो चरणमा छनोट भएका टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पनि पाउनेछन् ।

नेपाली टोली

गोलरक्षक ः किरण चेम्जोङ (कप्तान), विकेश कुथु र विशाल श्रेष्ठ

रक्षक ः सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

मिडफिल्डर ः रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई

स्ट्राईकर ः विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप